राजधानीमा तीन दिने ऊर्जा सम्‍मेलन सुरु, उर्जाको विकासमा भारत सधै सहयोगी हुने प्रतिबद्धता

काठमाडौं- दश वर्षमा ४० हजार मेघावाट विद्युत उत्पादन गर्न लगानी जुटाउने उद्देश्यका साथ काठमाडौंमा तीन दिने नेपाल उर्जा लगानी सम्मेलन सुरु भएको छ।

उर्जासँग सम्बन्धित संस्थाहरुको छाता संगठन उर्जा विकास परिषदले सम्मेलन आयोजना गरेको हो। शनिबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गरेकी हुन्।

सम्मेलनमा नेपाल भारत, चीन, बंगलादेश लगायतका देशबाट उर्जा क्षेत्र संग सम्बद्ध संघ संस्थाको सहभागीता रहेको छ। राष्ट्रपति भण्डारीले उर्जा क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै सरकारका तर्फबाट सहयोगको प्रतिबद्धता व्यक्त गरिन्। विश्वमा उर्जाको खपत बढिरहेको नेपालमा उत्पादन हुने उर्जा भारत, बंगलादेश लगायतका देशहरुमा निर्यात हुने सम्भावना भएको उनले बताइन्।

यस्तै कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जीभ पूरीले नेपालमा उर्जाको विकासको लागी भारत सरकारले सक्दो सहयोग गर्ने बताए।

उनले भने, ‘नेपाल भारतमा उर्जा आदानप्रदान गर्न प्रसारण लाईनमा सुधार हुनुपर्छ। त्यसका लागि भारत सरकार सकारात्मक छ।’ नेपालमा उर्जाको सम्भावना हुँदा हुँदै पनि सरोकारवाला छलफलमै सीमित भएकाले उत्पादन हुन नसक्नु दु:खद भएको उनको भनाई थियो।

यस्तै उर्जा विकास परिषदका अध्यक्ष सुजित आचार्यले १० वर्षमा ४० हजार मेघावाट विद्युत उत्पादन गर्दै निर्यात गर्न सकिए १० वर्षमै नेपालको प्रतिव्यक्ति आय ५ हजार डलर पुग्‍ने दाबी गरे। उनले भन,’ १० वर्षमा ४० हजार मेघावाट विद्युत उत्पादन गरी निर्यात गर्न सकियो भने नेपालको प्रतिव्यक्ति आय ५ हजार डलर पुग्‍छ। यसमा कुनै शंकै छैन।’

उनले भारत र बंगलादेशमा ठूलो परिणाममा उर्जाको माग रहेको भन्दै लगानीकर्तालाई नेपालको उर्जा क्षेत्रमा लगानी गर्न समेत आग्रह गरे। उनले ४० हजार मेघावाट क्षमताका आयोजना निर्माण गर्न करिब ८० अर्ब अमेरिकी डलर लगानी आवश्यक पर्ने भन्दै इपीसी मोडलबाट आयोजना निर्माण सम्भव रहेको बताए। सम्मेलनमा विभिन्‍न सेसनमा अन्तरक्रिया र छलफल कार्यक्रमहरु हुने आयोजकले जनाएको छ।

सम्मेलनमा आइतबार बेलुका पूर्व प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने ऊर्जा विज्ञहरुले उर्जामाथि बहस र छलफलका लागि कार्यपत्र प्रस्तुत गर्नेछन्। सम्मेलनको समापन सोमबार हुने आयोजकले जानकारी दिएको छ। सम्मेलनमा सरकारी अधिकारी, लगानीकर्ता, विज्ञकाबीच हुने सामूहिक छलफल लगानीको श्रोत पहिचान गर्न उपयुक्त माध्‍यम बन्‍ने आयोजकको दाबी छ।

माघ १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्