विराटनगरमा दुइ दिने ‘वर्डप्रेस मिट अप’

मोरङ-प्रदेश सभासदस्य शेरधन राईले प्रदेश नम्बर एकलाई सूचना तथा प्रविधिमैत्री बनाउने कार्य पहिलो प्राथमिकतामा रहने बताएका छन्। विराटनगरमा शनिबारदेखि सुरु भएको वर्डप्रेस विराटनगर मिट अप–२०१८ को उद्घाटन गर्दै पूर्वसूचना तथा सञ्चारमन्त्री राईले सूचनासँगै प्रविधिको विकासमा जोड दिन आफू तयार रहेको बताए।

उनले भने, ‘सूचना प्रविधिको माध्‍यमलाई प्रदेश एकमा सशक्त रुपमा अगाडी बढाउनु जरुरी छ। किनकी यसले यहाँ प्रविधिमा धेरै सम्भावना छ।’ दुई दिने उक्त कार्यक्रमको पहिलो दिन राईले, प्रदेश नम्बर एकमा यसको राम्रो संभावना रहेको उल्लेख गरे।

वर्डप्रेस विराटनगरद्धारा आयोजित कार्यक्रममा मोरङ, सुनसरी तथा झापाका करिब २ सय ३६ जनाले प्रत्यक्ष रुपमा सहभागिता जनाएकाछन्। त्यसैगरि, अनलाईनबाटपनि कार्यक्रममा सहभागिता जनाउनेको संख्या उत्तिकै रहेको राष्ट्रिय सूचना सञ्चार तथा प्रविधि आयोजनाका सदस्य निर्मल तामाङले जानकारी दिए।

तामाङका अनुसार, पछिल्लोसमय वेभपेज बनाउने, ब्लगिङ गर्ने प्रचलन बढ्दै गएकोछ। यससँगै त्यसलाई अझ व्‍यवस्थित, सुरक्षित र मर्यादित बनाउन वर्डप्रेस मिटअप निकै फलदायी रहने उनको भनाइछ। न्यून बजेटमा आयोजित कार्यक्रमबारे उनी भन्छन्, ‘हाम्रो चाहना भनेकै यहाँका प्रविधिमैत्री ट्यालेन्टहरुलाई कार्यक्रमबाट थप उर्जा मिलोस्।’

पाँच वर्षअघि पनि यस कार्यक्रमले विराटनगरमा स्थान पाएको बताउने तामाङले भने, यहाँको हालको उपस्थितिले प्रदेश नम्बर एकलाई प्रविधिमैत्री बनाउन सकिने आधारहरु देखाएको छ।

कार्यक्रममा युवा, विद्यार्थी, प्रविधिसँग जोडिएका उद्योगी तथा व्यवसायीको उपस्थिती रहेकोछ।आइतबार सम्पन्न हुने कार्यक्रममा १९ वर्षिया प्रिथुसिंह ठकुरी, याम बहादुर क्षेत्री, अर्जुनसिंह ठकुरी लगायत ९ जना प्रशिक्षकले वर्डप्रेसमार्फत भविष्य, अवसर तथा आयश्रोतमा कसरी जोडिन सकिन्छ भन्नेबारे प्रशिक्षणले दिइरहेका छन्।

माघ १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्