श्रीमान् सम्झँदा रुन नसकेर ‘फेन्ट’ भइन् चन्द्रकला

चन्द्रकला उप्रेती। तस्बिर: कुमार श्रेष्ठ

नेपालगञ्ज– ‘आफट’ भन्ने संस्थाले काठमाडौंमा काउन्सिलिङ गर्दै थियो। काठमाडौंको पार्क भिलेजमा द्वन्द्वपीडित (बेपत्ता पारिएकाका श्रीमती) जम्मा भएका थिए। कार्यक्रममा श्रीमानसँगको अन्तिम वाणी र मायाको क्षण सम्झिन लगाइयो। त्यो सम्झिँदा सबै महिलाहरु डाँको छोडेर रोए। नेपालगञ्जकी चन्द्रकला उप्रेती भने रुन नसकेर ‘फेन्ट’ भइन्।

त्यो दिन उनको आँशु झरेन। उल्टै बेहोस् भइन्। अस्पताल लगियो। ९ घण्टापछि होस् आयो। त्यहाँ अघिल्लो दिन रुवाएपछि भोलिपल्ट हँसाउने कार्यक्रम रहेछ। आँशु नझरेपछि उनलाई हाँस्ने र रुने कार्यक्रममा भोलिपल्ट सहभागी गराइएन। बाहिर–बाहिरै बसिन्।

नेपालगञ्जमै नर्सिङहोम पछाडिको एक होटलमा बेपत्ता दिवस मनाउने कार्यक्रम थियो। विदेशी पाहुना पनि सहभागी थिए। चन्द्रकलालाई बोल्न लगाइयो। बोल्न नसकेर उनी ढलिन्। नजिकै रहेको नर्सिङहोममा लगेको ७ घण्टापछि होस आयो।

राज्य पक्षले श्रीमान भुपेन्द्रराज उप्रेतीलाई लगेर बेपत्ता बनाएपछि गृहिणी चन्द्रकला बाहिर निस्किँदाका शुरुवाती दिनहरु यस्ता थिए। आफ्ना पीडा भन्न त परै जाओस्, डरले रुन नसक्ने चन्द्रकला एकाएक द्वन्द्वपीडितको अगुवा भएकी छन्।

२०६१ मा एडभोकेसी फोरमकी इन्दिराको टीम नेपालगञ्ज आएको बेलामा अच्यूत प्रसाई (मामा) ले वकील सा’पलाई भेट्नु, निशुल्क वकालत गरिदिन्छन् भनेर चन्द्रकलालाई पठाएका थिए। त्यहाँ जाँदा आफूजस्ता धेरै साथी भेटिए। पछि एड्भोकेसी फोरमका क्षेत्रीय संयोजक सुशील लाखेको पहलमा द्वन्द्वपीडितहरु सम्मिलित समूह गठन भयो। त्यही समूह पछि न्यायका लागि द्वन्द्वपीडित समाजमा रुपान्तरण भयो। चन्द्रकला अहिले त्यसको अध्यक्ष छिन्।

बेपत्ता परिवारको पक्षमा लगातार वकालत गरिरहेकी चन्द्रकलालाई यतिबेला नचिन्ने सायदै होलान्। २०६२ सालमा उनी बेपत्ता परिवारको प्रतिनिधित्व गर्दै थाइल्याण्ड पनि गएकी थिइन्। सात देशका द्वन्द्वपीडित त्यहाँ जम्मा थिए। एक ९५ वर्षकी बृद्धाले २० वर्षमा छोरा पेटमा हुँदा श्रीमानलाई बेपत्ता बनाइएको र अहिलेसम्म पनि एक दिन त ऊ आउँछ भनेर आशामा बाँचेको बताएपछि चन्द्रकलालाई मेरो त भर्खरै हो, बोल्नु पर्छ, लड्नु पर्छ भन्ने लाग्यो।

बेपत्ता परिवारका सदस्यलाई कुनै समस्या आइपर्दा अगाडि सर्ने चन्द्रकला नै भएकी छन्। बेपत्ता आयोगले बेपत्ता व्यक्तिको नाम मृतकमा राखेर हुलाकमार्फत घरघरमा पत्र पठायो। पत्र पाएकाहरु चन्द्रकलाको सम्पर्कमा आइपुगे। त्यसको भण्डाफोर नेपालगञ्जमा कार्यक्रम गरेर गरियो। त्यसपछि उनी काठमाडौं बेपत्ता आयोग पुगिन्। ‘शुरुवातमा सरकारले एक लाख रुपैया राहत दिंदा मृतक परिवारलाई मात्रै दिने भनेको थियो । केही बेपत्ता परिवारले एक लाख रुपैया पाउने आशामा बेपत्तालाई मृतकको फाराम भरेर पैसा बुझे,’ उप्रेतीले भनिन्, त्यसलाई नै आधार मानेर आयोगले त्यस्तो पत्र पठाएको रहेछ। म काठमाडौं गएर त्यस्तो मान्य नहुने बताएर आएँ।’

द्वन्द्वपीडितले बेपत्ता आयोगका अधिकारीहरु नेपालगञ्ज आउदा शुरुवातमा एक लाख राहतका लागि मृतकमा फाराम भरेको तर आफूहरुले लास र सास नपाएको गुनासो गरेका थिए। त्यतिबेला आयोगका अध्यक्षले नै सास र लास पाएको छैन भने त्यो शुरुवाती फारामले केही फरक पर्दैन भनेर गएका थिए।

चन्द्रकला भन्छिन्, ‘बेपत्ता आयोगले काम देखाउनका लागि अन्तिममा यस्तो पत्र पठाएको छ । यो उनीहरुको म्याद थप्ने चाल हो ।’

अगुवाको आफ्नै व्यथा
चन्द्रकलाको माइती रामेछाप हो। दोलखाका भुपेन्द्रराज उप्रेतीसँग उनको विवाह भयो। स्थानीय बैतेश्वर माविको मास्टरी छोडेर भुपेन्द्र नेपालगञ्जस्थित मामाको पसलमा आइपुगेका थिए। २०४८ सालमा नेपालगञ्ज आएका भुपेन्द्रले २०५१ सालमा श्रीमतीलाई बोलाए।

२०५० देखि भूपेन्द्रले नेपालगञ्जमा पसल शुरु गरेका थिए। गौरी विनायक ट्रेडर्स, धम्बोझीमा थियो। त्यस दिन अर्थात २०६० मंसीर २३ गते पनि भुपेन्द्र पसलमा थिए। साँझ ६ बजे दारी काट्न बाहिर (पसल नजिक) निस्किएका बेला राँझा हेडक्वाटर प्रितना मुख्यालयका नेपाली सेनाले नियन्त्रणमा लिए।

भुपेन्द्रसँगै सुनिल क्षेत्रीलाई पनि सेनाले नियन्त्रणमा लिएको थियो। धम्बोझीचोकस्थित वीरेन्द्रको शालिक रहेको घेरामुनी उनीहरुलाई तीन घण्टा राखेको थियो। त्यही घेरामा बस्दा भुपेन्द्रले जुत्तापसलमा काम गर्ने भाइलाई सेनाले आफूलाई लगेको कुरा घरमा बताइदिन भनेका थिए। सेना पछि लागेकाले उनले त्यो साँझ चन्द्रकलालाई त्यो कुरा बताउन पाएनन्।

पाँच बजेसम्म श्रीमानसँगै पसलमा बसेकी चन्द्रकला खाना पकाउन घरतिर निस्केकी थिइन्। खाना त पाक्यो। तर, खाना श्रीमान आइपुगेनन्। कुर्दाकुर्दै रात बित्यो। भोलीपल्ट बिहानै देवर हस्याङफस्याङ गर्दै घरमा आएर घटना विवरण सुनाए।

त्यसपछि आफन्तहरुकहाँ पुगिन्। आफन्तहरुले व्यापारी हो, छोडिदिन्छ भन्ने आश्वासन दिए। एक दिन सेनाकहाँ खसी पुर्‍याउने व्यापारीले श्रीमानलाई ब्यारेकमा राम्ररी राखेको बतायो। त्यसले झन् छोडिदिन्छ कि आशा पलायो। चार दिनपछि उनी राँझा ब्यारेकमा गएर कर्णेल राजेन्द्र गिरीलाई भेटिन्। कर्णेलले पक्राउ गरेको छैन, हिँड्नुस् सबै हेर्नुस् भने। उनले कुनै खबर पाएमा फोन गरिदिने आश्वासन दिएर पठाए।

१७ दिनपछि सुनिल छुटेर आए। उसले तीन रात सँगै राखेपछि भुपेन्द्रलाई अलग गरेको जानकारी दिए। ब्यारेकमा यातना पाएको कुरा पनि बतायो। ‘छिटो आफन्तहरु लगाएर राज्य दबाब दिनुस्, नत्र गाह्रो छ फर्किन’ पनि भन्यो। व्यापारी हो, छोडिहाल्छ भन्ने मानसिकता त्यसपछि खल्बलियो। यताउता दौडधुप भयो। राष्ट्रिय मानवअधिकार आयोग र आइसीआरसी धाउने काम भयो। काम लागेन।

यत्तिका वर्ष हुँदासम्म न लास, न त सास नै हात पर्‍यो।

११ र ८ वर्षका छोरा र ९ वर्षकी छोरीको सम्पूर्ण भार चन्द्रकलामा आइलाग्यो। एक दिन साथी संस्थाकी माया नाम गरेकी कर्मचारीले द्वन्द्वपीडितलाई स्वरोजगारका तालिम दिन थालेका छौं, आउ भनेर खबर गरिन्। ‘मेरो श्रीमान खोजिदेउ’ भनेर चन्द्रकलाले जवाफ फर्काइदिइन्।

मायाले हुन्छ हामी सहयोग गर्छौ भनेर तालिममा चन्द्रकलालाई सहभागी गराइन्।

चन्द्रकलाले चाउमिन तालिम लिइन्। पछि ड्राइभिङ सिकिन्। चाउमिन तालिम लिएपछि घरेलु कार्यालयले मेसिन उपलब्ध गराइदियो। चन्द्रकलासँग ५० रुपैयाँ गोजीमा थियो। त्यहीले एककिलो मैदा, बेसार गरेर ३० रुपैयाको ल्याइन्।

सिन्के चाउमिन बनाएर तालिममा सहभागी तथा चिनेजानेका व्यक्तिकहाँ पठाइन्। ‘३० रुपैयाको चाउमिनले सय रुपैया नाफा गरायो, चन्द्रकलाले भनिन्। त्यसपछि उनको उत्पादन बढ्यो। साना भएपनि छोराले साथ दिए। ११ वर्षको छोराले साइकलमा ३० किलो पिठो, चामल ओसार्न थाल्यो। घरबाटै चाउमिन, आलु चिप, अचार, नमकिन बनाएर मात्रै होइन, चिनी, सावुन, चामल बेच्न थालियो।

२०६४ फेरि प्राकृतिक बज्रपात आइलाग्यो। नेपालगञ्जमा ठूलो बाढी आयो। घरमा भएका सबै सामान बगाइदियो।

त्यसपछि उनको चाउमिनलगायतका सबै कारोबार बन्द भयो। ज्योतीकुञ्ज बचत तथा ऋण सहकारीमा लागिन्। बचतकर्ताको काम गरिन्। त्यहाँ एक हजार जम्मा गर्दा ३० रुपैया पाइन्थ्यो।

चन्द्रकलाको निरन्तरको संघर्षसँगै छोराछोरी पढ्दै गए। छोराले स्नातक पास गरेका छन् भने छोरी नर्स भएकी छन्। ‘राज्यले द्वन्द्वपीडितका छोराछोरीलाई चाहेको विषय पढ्न निशुल्क गरिदिएको भए मेरो छोरा डाक्टर हुन्थ्यो,’ चन्द्रकला भन्छिन्, ‘राज्यले निर्ब्याजी पैसा मात्रै दिएपनि धेरै हुने थियो।’

आफन्तीको लाल्छना
श्रीमानलाई बेपत्ता पारिएपछि चन्द्रकला दैनिक यताउता भौँतारिन थालिन्। कसैले सहयोग गरिदिन्छ कि भन्ने सोचाइमात्रै आउँथ्यो। बजारमा हिँड्दा उनलाई अरुको होस नै हुँदैनथ्यो। भन्नेले ‘दिमाग फुस्केको’ सम्म भन्न भ्याए।

कति आफन्तले अब यो ‘पोइला जान्छे’, बच्चाहरुको बिचल्ली हुने भयो भने। सहयोग गर्नेहरुसँग हिँड्दा कुरा काट्न थाले।

चन्द्रकलाले यी सबै कुरालाई वास्ता गरिनन्। अहिले अवस्था फेरिएको छ। कार्यक्रमहरुमा जाँदा त्यस्तो भन्ने कसैको आँट छैन।

शान्ति मन्त्रालयले पछिल्लो राहत दिने बेलामा फेरि स्थानीय निकाय सिफारिस पत्र ल्याउन भन्यो। त्यसमा ‘श्रीमानको सतित्वमा रहेको’ एउटा बुँदा थियो। यो देखेपछि चन्द्रकला पाँच जना महिलालाई लिएर प्रमुख जिल्ला अधिकारीकहाँ पुगिन्। ‘दोस्रो विवाह गरेकै भएपनि उसले राहत पाउनु पर्छ,’ चन्द्रकलाले तत्कालीन प्रमुख जिल्ला अधिकारी बेदप्रसाद लेखकलाई भनिन्, ‘यस्तो सिफारिस ल्याउदैनौ।’

प्रजिअले शान्ति समितिका सचिवलाई बोलाएर मिलाइदिन निर्देशन दिए।

उनलाई आफन्तीले श्रीमानको काजक्रिया गर्न पनि दबाब दिए। उनले मानिनन्। ‘काजक्रिया गरेपछि श्रीमान टुप्लुक्क आइपुगे भने के हुन्छ?’ चन्द्रकलाको प्रश्न रहने गरेको छ।

श्रीमानको सम्झनामा धम्बोझीचोकमा दीप प्रज्ज्वलन गर्दै चन्द्रकला उप्रेती। तस्बिर: कुमार श्रेष्ठ

एनजिओको ‘प्रयोग’
नेपालमा सशस्त्र द्वन्द्व चल्दा र त्यसको केही वर्षपछिसम्म ‘द्वन्द्व’ सम्बन्धमा काम गर्ने एनजिओहरु छ्याप्छ्याप्ती खुले। गल्लीगल्लीमा यस्ता एनजिओ खोलिए।

द्वन्द्वपीडितका अगुवा चन्द्रकलालाई एनजिओहरुमा गएर भाषण गर्न भ्याइनभ्याई थियो। उनले एकै दिन पाँच वटासम्म कार्यक्रममा सहभागी जनाइन्। एनजिओ सञ्चालकहरुले ‘मिठो बोलेर’ बोलाउने गर्दथे।

पछिल्ला केही वर्षदेखि एनजिओहरु टाढिएका छन्। द्वन्द्वको चार्म हराएपछि एनजिओले कार्यक्रम कटौती गरेका छन्। कार्यक्रम नै नरहेपछि द्वन्द्वपीडितले मञ्च पाउने कुरा पनि भएन। मिठो बोलेर कार्यक्रममा आउनै पर्छ भनेर फकाउनेहरु कार्यक्रम कटौती हुने बित्तिकै रुखो भएका छन्। आफूहरुलाई एनजिओले आफ्नो पसल फस्टाउन प्रयोग गरेको द्वन्द्वपीडितलाई लाग्न थालेको छ।

भुपेन्द्रचोक नामाकरण माग
भुपेन्द्रराज उप्रेतीलाई सेनाले ब्यारेकमा लैजानु अघि धम्बोझीचोकस्थित शालिक रहेको ठाउँमा तीन घण्टा राखेको छ।

त्यही चोकमा चन्द्रकलाले हरेक वर्षको मंसीर २३ गते दिपावली गर्छिन्। ‘तपाईलाई के भयो भने न्याय हुन्छ ?’ भनेर कसैले सोध्यो भने चन्द्रकलाको पहिलो माग धम्बोझीचोकलाई भुपेन्द्रचोक बनाउनु रहेको छ। ‘मेरो श्रीमानलाई तीन घण्टा त्यहीँ राखिएको थियो, उहाँको आत्मा त्यहीँ छ,’ चन्द्रकलाले भनिन्।

राजा वीरेन्द्रको शालिक रहेको उक्त चोक अहिले खाली छ। २०६२/०६३ को आन्दोलन ताका राजाको शालिक फोडिएको थियो। राजावादीले गतवर्ष फेरि झुक्याएर राखेपनि २४ घण्टामै प्रहरीले हटाएको थियो।

माघ १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्