भिएआरको ऐतिहासिक प्रयोग, लिभरपुल हार्‍यो

भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) प्रविधिको बढी प्रयोग भएको खेलमा वेष्ट ब्रोमले लिभरपुलाई पराजित गरेको छ । एफए कप फुटबल अन्तर्गत शनिबार राति भएको चौथो चरणको खेलमा भ्रमण टोली वेष्ट ब्रोमले घरेलु टोली लिभरपुललाई ३–२ ले हराएको हो ।

वेष्ट ब्रोमका लागि जे रोड्रिग्वेजले दुई गोल गरे भने लिभरपुलका मातिपले आत्मघाती गोल गरे । लिभरपुलका लागि रोबर्टो फिमिनो र मोहम्मद सालहले गोल गरे । यो खेलमा रेफ्री क्रेग पावसनले वेष्ट ब्रोमको एउटा गोललाई मान्यता दिएनन्, लिभरपुललाई पेनाल्टी दिए र वेष्ट ब्रोमलाई तेस्रो गोलको मान्यता दिन समय लगाए ।

यो सबै भिएआरको सहयोग लिएर भएका निर्णय हुन् । फिरमिनोले पाँचौँ मिनेटमा नै गोल गर्दै लिभरपुललाई सुरुवात अग्रता दिलाए । तर रोड्रिग्वेजले ७ र ११ औँ मिनेटमा गोल गर्दै वेष्ट ब्रोमलाई २–१ को अवस्थामा लगे । पहिलो हाफको इन्जुरी समयमा मातिपले आत्मघाती गोल गरेपछि वेष्ट ब्रोमको अग्रता ३–१ मा पुग्यो ।

तर यो गोलको मान्यताका लागि रेफ्रीले भिएआरको सहायता लिएका थिए । पहिलो हाफमा रेफ्री पावसनले वेष्ट ब्रोमले गरेको एउटा गोललाई मान्यता दिएनन् र लिभरपुललाई पेनाल्टीको अवसर दिए । फिरमिनोले पेनाल्टी प्रहार गरे । गोल भएन नभएको हेर्न रेफ्रीले भिएआरको प्रयोग गरे ।

इंग्लिस फुटबलमा पेनाल्टी प्रहारका लागि भिएआरको सहायता लिइएको यो पहिलो पटक हो । भिएआरबाट गोल नभएको देखियो । ७८ औँ मिनेटमा सालहले गोल गरे पनि लिभरपुललाई हारबाट जोगाउन सकेनन् । हारसँगै लिभरपुल एफए कपको चौथो चरणबाटै बाहिरिएको छ ।

यस्तै लिग अन्तर्गत राति नै भएको खेलमा लेस्टर सिटीले पिटरबोरोउघलाई ५–१ ले हराएको छ । यस्तै टोटनह्यामले न्युपोर्टसँग १–१ को बराबरी खेलेको छ भने विगानले वेष्ट ह्यामलाई २–०, ब्राइटनले मिडल्सबर्गलाई १–०, हल सिटीले नोटिङहम फरेस्टलाई २–१ तथा साउह्याम्पटनले वाट्फोर्डलाई १–० ले हराएको छ ।

माघ १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्