सल्‍यानमा अदुवा भण्डारण गर्ने नयाँ प्रविधि

सल्यान- कपुरकोटस्थित राष्ट्रिय अदुवाबाली अनुसन्धान केन्द्रले अदुवा भण्डारणका लागि नयाँ प्रविधिको विकास गरेको छ ।

अदुवा भण्डारणका लागि उचित तरिका अपनाउन नसक्दा २० प्रतिशत अदुवा भण्डारणमै कुहिने भएकाले नयाँ प्रविधिको विकास गरिएको हो ।

परम्परागत तरिकाबाट अदुवा भण्डार गर्दा टुसा चाँडो उम्रने, ढुसी लाग्ने तथा तौल घट्नेजस्ता समस्या निराकरणका लागि ‘काँचो इँटाको भकारी भण्डारण’को विकास गरिएको उक्त केन्द्रले जनाएको छ ।

ताजा अदुवामा ८५ प्रतिशतसम्म पानीको मात्रा हुने भएकाले अदुवा भण्डारण गर्दा सुक्ने, चाउरिने र छिट्टै टुसा आएर गुणस्तर घट्न हुँदा सुरक्षित भण्डारणका लागि यस्तो भकारीमा भण्डार गर्न कृषकलाई सिफारिस गरेको राष्ट्रिय अदुवा बाली अनुसन्धान केन्द्रका बाली वैज्ञानिक प्रमोद वाग्लेले जानकारी दिए।

‘हामीले भकारी भण्डारण प्रविधिको विकास गरेर कृषि विकास मन्त्रालय र किसानलगायतलाई जानकारी गराएका छौँ र यो प्रविधि किसानका लागि पनि प्रभावकारी भएको छ।

यस प्रविधि कोठाभित्र गरिने हुँदा घर बाहिर खाडल भण्डारणभन्दा सुरक्षित हुने र प्रत्येक वर्ष निर्माण खर्च पनि लाग्दैन वैज्ञानिक वाग्लेले भने, ‘यस प्रकारको भकारी निर्माण गर्दा गोबर र माटोको समिश्रणबाट बनेको काँचो इँटा प्रयोग गर्नुपर्छ, इँटा सुकिसकेपछि क्रमशः माटोले जोडी आवश्यकताअनुसारको भकारीको आकार निर्माण गर्नुपर्छ।

सामान्यतया एक मिटर उचाइ, एक मिटर लम्बाइ र एक मिटर चौडाइ भएको भकारीमा २५० देखि ३०० किलो अदुवा भण्डारण गर्न सकिने केन्द्रका प्राविधिक खेमराज शर्माले जानकारी दिए। भकारी निर्माण भइसकेपछि बालुवा १० सेन्टिमिटर र अदुवा २५ सेन्टिमिटरले क्रमशः राखी त्यसमाथि १० सेन्टिमिटर बालुवा राखी प्लास्टिकले छोप्नुपर्ने रेग्मीको भनाइ छ। यस प्रविधि अपनाएर मंसिरदेखि चैत, वैशाखसम्म सुरक्षित अदुवा भण्डारण गर्न सकिने पनि उनको भनाइ छ ।

बीउ प्रयोजनका लागि अदुवाको सुरक्षित भण्डारण नभएमा लामो टुसा आई बीउको गुणस्तर घट्न गई दरिलो र पुष्ट बिरुवा उम्रनमा प्रत्येक्ष असर पुग्ने वैज्ञानिकको भनाइ छ। समुद्री सतहदेखि एक हजार ४८० मिटर अग्लो स्थानमा रहेको अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोटले सञ्चालन गरेको परीक्षणको नतीजाअनुसार कोठाभित्र भकारीमा अदुवा भण्डारण गर्दा उपयुक्त हुने देखिएको हो। रासस

माघ १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्