दुई जना विद्यार्थीलाई पढाउन एक जना शिक्षक

हनुमान आधारभूत विद्यालय, जमुनाहा। तस्बिर: कुमार श्रेष्ठ

नेपालगञ्ज- तीन जना विद्यार्थी। त्यसमा पनि एकजना स्कूल आउन छोडेको धेरै भइसक्यो। बचे दुई जना। शिक्षक आउँछन्, दुई जनालाई पढाएर जान्छन्।

२०२८ सालमा स्थापना भएको नेपालगञ्ज–१५, जमुनाहाको हनुमान आधारभूत विद्यालयको कक्षा ८ को दृश्य हो, यो। कक्षामा दुई छात्रा र एक छात्र छन्। छात्र अन्नु साहु स्कूल आउन छोडेको तीन महिनाभन्दा बढी भइसक्यो।

आठसम्म रहेको यो विद्यालयमा यो सालमात्रै विद्यार्थी कम भएको भने होइन। गतवर्ष पनि आठ कक्षामा चार जना थिए।

आठमा कम भएपनि सातमा त धेरै होलान् भन्ने लाग्न सक्छ। त्यो अवस्था पनि छैन। सातमा ६ जना छन्। छात्रा र छात्र तीन/तीन जना।

कक्षामा ६ जना नै उपस्थित भएको दिन भेट्टाउन मुश्किल पर्छ। प्रधानाध्यापक रमेश श्रीवास्तव भन्छन्, ‘कहिले को आउँछ, कहिले को आउँदैन। भएका विद्यार्थी पनि सबै नियमित आउँदैनन्।’

यो स्कूलमा कक्षा ६ मा १०, पाँचमा १५, चारमा २१, तीनमा ३०, दुईमा ४१ र एकमा ३९ जना विद्यार्थी छन्। जम्मा १ सय ६५ जना। अधिकारीहरुले यो संख्या पनि स्कूलले धेरै देखाएको टिप्पणी गरेका छन्।

२०७१ मा यो स्कूलमा जम्मा ३७ जना विद्यार्थी थिए। १२ जना दरबन्दीका शिक्षक रहेर केही वर्ष यो स्कूलमा नौ कक्षा पनि सञ्चालन भएको प्रधानाध्यापक श्रीवास्तवले जानकारी दिए। विद्यार्थी नै कम भएपछि फेरि आठ कक्षासम्ममा झारिएको छ। दरबन्दीका शिक्षक अहिले आठ जना छन्। चार जना प्रावि र चार जना निमाविका।

दरबन्दीका शिक्षक छन्। विद्यार्थी छैनन्। ‘दुई जनालाई पढाउन पनि उत्साह लाग्दैन,’ प्रअ श्रीवास्तव नै बताउँछन्। निजी विद्यालयमा विद्यार्थीको चाप बढेर सेक्सनमा कक्षा सञ्चालन भइरहेका बेला सुविधा सम्पन्न सरकारी स्कूलमा विद्यार्थी नपाउने अवस्था आएको छ।

हनुमान आधारभूत विद्यालयमा जमुनाहा, टंकपसरी र पिप्रहवा गाउँका बालबालिका पढ्न आउँछन्। यी गाउँहरु दशगजासँग जोडिएका छन्। यही वडामा अर्को एउटा नेपाल राष्ट्रिय आधारभूत विद्यालय छ। त्यहाँ पनि विद्यार्थीको संख्या न्यून छ। गाउँमा केही मदरसामा पनिरहेका छन्।

हनुमानका प्रअ श्रीवास्तव विद्यार्थी कम हुनुमा चेतनाको कमी, गरिवी, खुल्ला सीमा, भाषा समस्या छन्। खुल्ला सीमाका कारण अलिकति ठूलो हुने बित्तिकै बालकहरु भारतबाट सामान ओसार्न शुरु गर्छन् र स्कूल आउन छोड्छन्। उनीहरुको स्कूल नाम त लेखिएको हुन्छ। तर, पढ्न आउँदैनन्। यसलाई ‘ड्रपआउट’ भन्न सकिन्छ।

केही भने स्कूलले दिने सुविधा लिनमात्रै आउँछन्। ‘छोराछोरी पढाउनु पर्छ भन्ने चेतना भएका अभिभावकले निजी विद्यालय या सीमापारी भारतीय स्कूलमा पढाउन पठाउँछन्, प्रअ श्रीवास्तव भन्छन्, यति विद्यार्थी पनि मुश्किलले टिकाएका छौं।’

नेपालगञ्ज उपमहानगरपालिका भित्रका सरकारी धेरै स्कूलको अवस्था यस्तै छ। धेरै स्कूलमा विद्यार्थीको संख्या न्यून छ। नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरख थापाले सुविधा सम्पन्न भएर पनि सरकारी स्कूलमा विद्यार्थी धेरै कम रहेको बताए।

निजी विद्यालयप्रतिको अभिभावकको आकर्षणले पनि सरकारी विद्यालयमा विद्यार्थी घट्दै गएको छ। सरकारी विद्यालयमा पढाउने शिक्षक स्वयंले आफ्ना बच्चा निजीमा पढाइरहेका छन्।

लोकसेवा पास गरेर आएको शिक्षकले कक्षामा दुई जना विद्यार्थी पढाउनु परेको छ। हनुमान स्कूलका एक शिक्षक भन्दै थिए, ‘योग्यता प्रमाणित गरेर आएका शिक्षकले केही विद्यार्थीलाई पढाएर बस्नु परेको छ।’

सरकारी विद्यालयमा विद्यार्थी घट्दै गएपछि अब ‘मर्ज’ गर्नुपर्छ भन्ने आवाज पनि उठेको छ। विद्यालय मर्ज भएपछि ‘राजनीति’ गर्न पाइन्न भनेर झस्किनेहरु पनि छन्।

नगरपालिकाको एउटा हनुमान स्कूलमा पुगेर मर्जको कुरा गर्दा ‘आपत’ नै परेको स्रोतले बतायो। रजिष्टरमा विद्यार्थी संख्या धेरै देखाएर सुविधा खोज्नेहरुको बाँकेमा कमी छैन।

माघ १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्