पोहोर घाटामा गएको मेलाले यस वर्ष नाफा कमायो

नेपालगञ्ज – बाँकेको खजुरामा सञ्चालन भएको मुसमेटवा बाबा मेला तथा खजुरा महोत्सवमा २१ हजार कमाइ भएको छ।

माघ ३ देखि ९ गतेसम्म सञ्चालन भएको महोत्सवको सोमबार आम्दानी–खर्च सार्वजनिक गरिएको हो। आयोजक आधुनिक युवा सञ्जाल खजुराले पत्रकार तथा सर्वपक्षीय भेला गरी आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको हो।

विज्ञापन

सञ्जालका अध्यक्ष तिलकवीर सुनारका अनुसार महोत्सवबाट २० लाख १९ हजार ५ सय ५९ रुपैयाँ आम्दानी भएकोमा १९ लाख ९८ हजार पाँच सय रुपैया खर्च भएको छ। महोत्सवबाट २१ हजार रुपैयाँ बचत भएको छ।

महोत्सवबाट बचत भएको २१ हजार रुपैया मुसबेटवा बाबाको मजार निर्माणका लागि मजारका बाबा खानक साईलाई हस्तान्तरण गरिएको छ। गतवर्ष महोत्सव घाटामा गएको थियो।

खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, खजुरा रेडक्रसका सभापति जीवनाथ सापकोटा, समाजसेवी बेदनिधी प्याकुरेल, भुपु सैनिक विकास समितिका अध्यक्ष दीपबहादुर थापा, काँग्रेसका शेरबहादुर गुरुङ, राप्रपाका सजल थापा, युवा समाजसेवी निरज भट्टलगायतको त्यहाँ उपस्थिति थियो।

यसैबीच, नेपालगञ्जमा सञ्चालन भइरहेको प्रादेशिक महोत्सवको रौनक बढ्दै गएको छ। महोत्सवमा दर्शकको भीड बढ्दै गएको नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बताए।

माघ १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्