चार लेन सडकमा डिभाइडर हटाइँदै

नेपालगञ्‍ज-नेपालगञ्‍ज माघ १५ गते–नेपालगञ्जको सुर्खेत रोडमा राखिएका डिभाइडरहरु हटाउन सुरु गरिएको छ। चार लेन सडक बनेपछि डिभाइडर राखिएको थियो।

डिभाइडर भित्र सामान, ठेला तथा सवारी साधन पार्किङ गर्न थालिएको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले डिभाइडर हटाउन थालेको हो।

डिभाइडर हटाउन नगरपालिकाले सर्वदलीय बैठकबाट निर्णय गराइसकेको छ। राँझाचोकदेखि गणेशमानचोकसम्मका तीन सय २५ वटा डिभाइडर उठाउन सुरु गरिएको सूचना अधिकृत शरद पौडेलले जानकारी दिए।

अत्यन्तै गह्रुंगो रहेका डिभाइडरलाई रातिमा उठाइएको छ। ‘धेरै गह्रुंगा छन् । दिउँसोमा भीडभाडमा दुर्घटना हुन सक्ने भएकाले रातीमा उठाउन थालेका छौं, सूचना अधिकृत पौडेलले बताए।

केही डिभाइडर ग्रिनबेल्टसँगै जोडेर क्रसिङ क्षेत्रमा राख्‍ने तयारी भएको छ। क्रसिङ क्षेत्र धेरै भएकाले यात्रुहरुले जथाभावी बाटो कोटेर थप असुरक्षा बढाएकाले त्यस्ता ठाउँमा डिभाइडर राख्‍न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख होमबहादुर थापाले जानकारी दिए।

यो सडक खण्डमा विभिन्न ठाउँमा पार्किङ क्षेत्र तोक्ने तयारी भएको छ। ४७ ठाउँमा पार्किङ स्थल बनाउन अनुगमन भइसकेको छ। ट्राफिक व्यवस्थापनका लागि नगरपालिकाले रणनैतिक हिसावले काम अगाडि बढाएको मेयर डा. धवल शमशेर राणाले बताए ।

माघ १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्