मेडिकल कलेजको ज्यादतीविरुद्ध विद्यार्थी सडकमा (फोटो फिचर )

कलेजको ज्‍यादतीविरुद्ध सडकमा उत्रिका विद्यार्थीहरु। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

काठमाडौं- निजी मेडिकल कलेजहरुले निर्धारित शुल्क भन्दा बढी रकम असुलेको भन्दै त्यसको विरोधमा विद्यार्थी सडकमा ओर्लिएका छन्।

सरकारले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरुको एमबीबीएस तहमा उपत्यकाभित्र ३८ लाख ५० हजार र बाहिर ४२ लाख ४५ हजार रुपैयाँ निर्धारण गरेपनि कलेजहरुले १६ लाख रुपैयाँ बढी सम्म आफुहरुसँग असुलेको विद्यार्थीको दावी छ।

विज्ञापन

ललितपुरस्थित किष्ट मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज, भैरहवाको युनिभर्सल लगायत कलेजहरुले बढी शुल्क असुलेको विद्यार्थीको आरोप छ।

कलेजहरुले मनोमानीरुपमा लाखौं रुपैयाँ बढी रकम असुलेर विद्यार्थीको शोषण गरेको र उनीहरुलाई हतोत्साहित बनाएको भन्दै सोमबार राजधानीका सडकमा सयौं विद्यार्थी ओर्लिए ।

आइओएम महाराजगञ्ज क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा माइतीघरदेखि संघीय संसद भवन नजिक बानेश्वरसम्म प्रदर्शन समेत गरेका थिए।

त्यसक्रममा विद्यार्थीले गरिबका छोराछोरी माथि कलेजहरुबाट ज्यादती बढेको भन्दै प्ले कार्ड पर्दशन गर्दै नारा लगाएका थिए।

महाराजगञ्ज चिकित्सा क्याम्पस, स्ववियु सभापति डा. मिलन गैरेले निजी मेडिकल कलेजहरुको चर्को शुल्कले जेहेन्दार विद्यार्थी विदेस पलायन हुनु पर्ने अवस्था आएको बताए।

निजी मेडिकल कलेजले इन्र्टनशीप शुल्क, बार्षिक शुल्क, फिल्ड भिजिट लगायत शीर्षकमा पनि चर्को शुल्क असुल्न थालेपछि विद्यार्थी सडकमा उत्रिएका हुन।

विद्यार्थीले लामो समयदेखि सरकारद्धारा निर्धारित शुल्क मात्रै लिन सम्बन्धित मेडिकल कलेजलाई निर्देशन दिन महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डीन कार्यालयलाई ध्यानाकार्षण गराएका थिए।

कलेजको ज्‍यादतीविरुद्ध सडकमा उत्रिका विद्यार्थीहरु। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

तस्बिरहरु- सुलभ श्रेष्ठ/देश सञ्‍चार

माघ १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्