युएनएचसीआरले बनाइदियो सामुदायिक विद्यालयका भौतिक संरचना

हिमालय मावि दमकमा युएनएचसीआरले बनाइदिएको विद्यालय भवन। तस्बिर-देश सञ्‍चार

दमक- शरणार्थी सम्बन्धि संयुक्त राष्ट्र संघीय उच्चायुक्तको नेपाल प्रतिनिधिको कार्यालय दमकले झापा र मोरङका सात वटा सामुदायिक विद्यालयका लागि बनाइदिएको भौतिक संरचना सोमबार हस्तान्तरण गरेको छ।

झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ति भौतिक संरचना युएनएचसीआरको दमकस्थित कार्यालयले हस्तान्तरण गरेको हो।

विज्ञापन

युएनएचसीआर भुटानी शरणार्थीलाई सहायताका लागि स्थापना भएको भए पनि स्थानीय समुदायलाई लाभ हुने किसिमको सहयोग आफ्नो कार्यालयले गरेको युएनएचसीआर दमक कार्यालयकी प्रमुख अन्ना पेलोसीले बताइन्।

सन् २०१७ मा युएनएचसीआरले झापामा पाँच वटा र मोरङमा दुईवटा सामुदायिक विद्यालयको भौतिक संरचनाको निर्माण गरिदिएको छ। उक्त कार्यालयले झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयलाई चारकोठा भएको एक भवन र कम्प्युटर प्रयोगशालाको निर्माण गरिदिएको छ।

त्यस्तै दमककै सरस्वती आधारभूत विद्यालयका लागि चार कोठे भवनका लागि जस्ता पाता, भृकुटी आधारभूत विद्यालयमा दुईकोठे भवनका लागि जस्ता पाता, ढुकुरपानी माविमा महिला शौचालय र प्रवेश द्वार र चुलाचुली आधारभूत विद्यालयका लागि दुई भवनका लागि जस्ता पाता सहयोग गरेको छ।

मोरङका हिरक आधारभूत विद्यालय शनिश्चरेका लागि दुई कोठे भवन र सुनाखरी माविका लागि बहिरी पर्खाल र मूल प्रवेशद्वार निर्माण गरेर युएनएचसीआरले सहयोग गरेको छ।

हस्तान्तरण कार्यक्रममा बोल्दै युएनएचसीआर दमक कार्यालयकी प्रमुख पेलोसीले विगत १० बर्षयता युएनएचसीआरले ६० वटा सामुदायिक विद्यालयलाई सहयोग गरेको जानकारी दिइन्।

हिमालय माविको व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज बस्नेतले सामुदायिक विद्यालयलाई सहयोग गरेकोमा युएनएचसीआरलाई धन्यवाद दिए। उक्त भौतिक संचरना निर्माणमा लुथरन विश्व फेडेरेसन, क्यारितास नेपाल र नेपाल सरकारको सहकार्य रहेको थियो।

माघ १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्