पृथ्वीनारायण क्याम्पसका विद्यार्थी आमरण अनसनमा, करोडौको भवन अलपत्र

कास्की- पृथ्वीनारायण क्याम्पसको आर्थिक पारदर्शिताको माग गर्दै क्याम्पसका दुई विद्यार्थि आमरण अनशनमा बसेका छन्। क्याम्पस परिसरमा निर्मित स्वर्ण जयन्ती भवनमा भएको अनियमितता छानबीन लगायतका केही माग सहित नयाँ शक्ति विद्यार्थी युनियनका दुई विद्यार्थी आमरण अनसन बसेका हुन्। अनसन बस्नेमा विज्ञान संकाय तेश्रो वर्षका विद्यार्थी नरेन्द्र बसेल र कानुन संकाय चौथो वर्षका विद्यार्थी कृष्ण अधिकारी छन्।

उनीहरुको मागमा स्वर्ण जयन्ती स्मृति भवनमा भएको आर्थिक अनियमितता छानविन गरी दोषीलाई कार्बाही गर्ने, क्याम्पसको बार्षिक आय व्‍ययको प्रतिवेदनलाई सार्वजनिक गर्नुपर्ने, क्याम्पसमा राजनीतिक भागबण्डाको अन्त्य गरी क्षमताको आधारमा नियुक्त गर्नुपर्ने र क्याम्पसमा हुने कार्यमा भैरहेको ढिलासुस्ती अन्त्य गर्दै डिजिटल सिस्टमबाट जानु पर्ने र अन्तमा क्याम्पसलाई निजीकरण गर्ने गुरु योजना सहित ल्याइएको एउटै क्याम्पसमा दुई शिक्षा प्रणाली अन्त्य गर्दै समान रुपमा नियमित कार्यक्रमका रुपमा सञ्चालन गर्नु पर्ने उनीहरुको माग छ।

‘भवन निर्माणमा आर्थिक अनियमितता भएको छ । झण्डै ३ करोडको भवन अहिले खण्डहरमा परिणत हुँदैछ। गाजाँ र चुरोट खाने अखडाको रुपमा विकसित हुँदै जानु दुर्भाग्य हो ‘ अनशनकारी बसेलले भने ‘यो हाम्रो रहर होइन बाध्यता हो, क्याम्पसमा वर्षौ देखिको आर्थिक अनियमितताको भण्डाफोर गरेर दोषीलाइ कार्बाही हाम्रो पहिलो माग हो।’

पटक पटक आफुहरुले क्याम्पस प्रशासनमा आफ्ना मागहरु राखे पनि सुनुवाई नभए पछि अन्तिम विकल्पको रुपमा आमरण अनसन बसेको अर्का अनसकारी अधिकारीले बताए। हजारौ विद्यार्थीको भविष्य यस क्याम्पससँग जोडिएको छ। अधिकारीले भने ,’अभिभावकको रगत र पसिनाको मुल्य यस क्याम्पसमा परेको छ अब त्यसको एक एक हिसाब किताब पारदर्शि रुपमा सबैले थाहा पाउन जरुरी छ।’

क्याम्पस हाता भित्र ६ सय जना अट्ने स्वर्ण जयन्ती सभा हल र अर्को अनुसन्धान भवन बनाउने २०६६ भाद्र १० गते २ करोड ४८ लाख ८६३ रुपैया भ्याट बाहेक इन्द्रेणी फेवा गौचन जेभीका अर्जुन बहादुर क्षेत्रीसँग सम्झौता भएको थियो । यद्यपि भवन बनाउँदै गए पछि ठेकेदारले झण्डै ८९ लाख थप रकम लागेको भनेर विल पेश गरेपछि सो विषयमा क्याम्पस प्रशासन र ठेकेदार बीच असमझदारी बढ्दै गएर काम रोकिएको थियो।

अहिले सम्म ठेकेदारले २ करोड ६५ लाख रकम लगिसकेका छन् । २०६८ असार ३१ मा भवन सम्पन्न गर्ने सम्झौता भएको थियो । तर आज २०७४ सालको अन्तिम तिर आइपुग्दा पनि भवन सम्पन्न गरेर ठेकेदारले क्याम्पसलाई हस्तान्तरण नगरेपछि भवन अलपत्र अवस्थामा पुगेको हो । भवनको वरीपरि झाडी मौलाइरहेको छ भने भवनका सिसाहरु फुटेका छन् । काठका ढोकाहरु कुहिएका छन् । भवन भित्र चुरोट र वियरका बोत्तलहरु छरपस्ट देखिन्छन् ।

भवनको विषयमा अख्तिायारमा समेत मुद्दा परेको थियो । अख्तियारले क्याम्पसको आन्तरिक विषयभन्दै मुद्दा फिर्ता गरिदिएपछि यो मुद्दा अहिले उच्च अदालतमा मेलमिलापमा पुगेको छ ।
क्याम्पसका निमित्त क्याम्पस प्रमुख बसन्त पराजुलीले सम्झौता अनुसार ठेकेदारले काम नगरेको र थप रकम दिन नसके पछि काम रोकिएको बताए ।

उनले भने ‘सम्झौता अनुसार काम भएन के को आधारमा हामीले थप रकम दिने ?’ निर्माण समितिलाई १०÷ १५ प्रतिशत भन्दा बढि रकम दिने अधिकार छैन ।’ पराजुलीले अहिले क्याम्पस प्रमुख डा. चन्द्र बहादुर थापा यस विषयलाई टुंगोमा पुर्याउन केन्द्रिय कार्यालय पुगेको बताए । उनले भने ‘केहि दिन भित्रै यसको समाधानको पहलमा क्याम्पस प्रशासन पुग्नेछ ।’ भवन क्याम्पसकोलागि अति आबश्यक रहेको छ पराजुली भने ‘यो विषय र विद्यार्थीले राखेका अन्य मागहरुमा कसरी र कुन प्रक्रियाबाट हुन्छ , हामीले छिटो भन्दा छिटो समाधानकोलागि कसरत गरिरहेका छौ ।’

निमार्ण कम्पनिका ठेकेदार अर्जुन बहादुर क्षेत्री आफुले अहिले उच्च अदालतमा पुगेको विषयमा बोल्न नचाहेको जानकारी दिए । उनले भने ‘ म थप रकम नपाए सम्म काम गर्न सक्दिन ,म सँग सम्पूर्ण प्रमाण छ समय आएपछि देखाउने छु अहिले म केहि बोल्दिन।’

आइतबार १० बजेबाट अनशनमा बसेका विद्यार्थीको मागलाई समर्थन गर्दै अहिले सम्म ८ सय विद्यार्थीले हस्ताक्षर गरिसकेका छन् । प्रदेश नं ४ कै ठूलो क्याम्पसमा अहिले झण्डै १२ हजार विद्यार्थी विभिन्न संकायमा भर्ना भएका छन् भने ३ हजार देखि ३५ सय विद्यार्थि नियमित अध्ययनमा आउने गरेका छन् ।

माघ १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्