मन्त्रिपरिषद्ले खारेज गरेको नेसनल ट्रेडिङको घाटा १ अर्ब ३६ करोड रुपैयाँ

काठमाडौं- मन्त्रिपरिषद्ले सोमबार खारेज गरेको नेसनल ट्रेडिङ लिमिटेड विगत १० वर्ष देखि घाटामा संचालित थियो।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको संस्थान प्रगति सम्बन्धी वार्षिक प्रतिवेदन अनुसार नेसनल ट्रेडिङको सञ्चित नोक्सानी करिब १ अर्ब ३६ करोड रुपैयाँ रहेको छ।

लामो समयदेखि कर्मचारीलाई तलब दिन नसकेपछि गत वर्ष नेसनल ट्रेडिङको टेकुमा रहेको ४९ रोपनी १० आना जग्गा बिक्री नेपाल आयल निगमलाई गरिएको थियो।

नेसनल ट्रेडिङका २ सय ९५ कर्मचारीलाई पीएफ (प्रोभिडेण्ट फण्ड) दिएर अवकाश दिन जग्गा बेचेको १ अर्ब ६६ करोड रुपैयाँ खर्च गरिएको थियो।

अर्थ मन्त्रालयको निजीकरण समितिले आइतबार आपूर्ति मन्त्रालयमा नेसनल ट्रेडिङलाई खारेज गर्न सिफारिस गरेको हो।

अर्थको सुझाव अनुरुप आपूर्तिमन्त्रालयले लागेको नेसनल ट्रेडिङ खारेजको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेको हो।

खारेजपश्चात् नेसनल बिगठनको प्रकृया पुरागर्न आपूर्ति सहसचिवको संयोजकत्वमा कमिटी गठन गरिएको छ।

अर्थ मन्त्रालय श्रोतले भन्यो, संस्थान खारेज नगर्दा राजनीतिक दलले पुनः कार्यकर्ता भर्तिकेन्द्र बनाउन सक्ने भएकाले सरकारले नेसनल ट्रेडिङ खारेज गर्ने गरेको निर्णय जायज छ। उनले भने, ‘पञ्चायतका समयमा, प्रजातन्त्र र गणतन्त्र आएपछि पनि नेसनल ट्रेडिङलाई व्यवस्थापन गर्नु भन्दा सरकारले ऋण लगानी गर्दै कार्यकर्ता भर्तीकेन्द्र बनाईयो।’

सरकारले हाल सम्म नेसनल ९२ करोड २० लाख रुपैयाँ ऋण लगानी गरेको उनले जानकारी दिए।

नेसनलका सरकारको १६ करोड ९३ लाख रुपैयाँ सेयर लगानी रहेको छ।

सरकारले अर्को निर्णय नगर्दा सम्म नेसनल ट्रेडिङका नाममा रहेको सम्पतीको व्यवस्थापन आपूर्ति मन्त्रालयले गर्नेछ। मन्त्रालय श्रोतका अनुसार, बजार मूल्यका आधार मान्दा नेसनल ट्रेडिङको करिब २ अर्ब रुपैयाँ बराबरको सम्पति रहेको छ।

नेसनलसँग धनगढी दुई बिघा, विराटनगरमा चार, वीरगन्जमा पाँच, दाङमा दुई, नेपालगन्जमा दुई र कञ्चनपुरमा पनि एक बिघा जग्गा छ । यस्तै भद्रकालीमा पनि २५ रोपनी १५ आना जग्गा छ ।

यस्तै नेसनलसँग विशालबजार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल ल्युव आयल, साझा भण्डार, साझा सेवा, गोरखकाली रबर उद्योग र हिमाल सिमेन्ट लगायतका कम्पनीको सेयर रहेको छ।

सोमबार एक हजार ९ सय ४० रुपैयाँमा कारोबार विशाल बजार कम्पनीको नेसनल ट्रेडिङसँग करिब ७० हजार कित्ता सेयर रहेको छ।

अर्थ मन्त्रालय निजीकरण शाखा प्रमुख डाक्टर वासुदेव शर्माका अनुसार, नेसनल बिगठन नहुँदा सम्म नेसनलको सम्पतिबाट हुने आयको हिसाबकिताब आपूर्ति मन्त्रालयले नै राख्ने राख्नेछ।

नेसनल ट्रेडिङले कस्तो व्यवसाय गर्दथ्यो?

नेसनलले देश विदेशबाट विभिन्न सामानहरु ल्याएर रिटेल र होलसेल व्यवसाय गर्दथ्यो। नेसनलको आम्दानीको प्रमुख श्रोतले त्रिभुवन विमानस्थलमा रहेको ड्युटी फ्री पसल थियो। सरकारले २०६५ पछि ड्युटी फ्री सामान आयातमा रोक लागाय पछि नेसनल घाटामा गएको थियो।

निजि क्षेत्रले सिमेन्ट, छड, मदिरा लगायतको व्यापारमा नेसनललाई उछिने पछि नेसनलको आम्दानीक श्रोत खुम्चिएको थियो।

सरकारी संस्थानले ट्रेडिङ व्यवसाय गर्न सक्दैन र सरकारले अनुदान दिएर कर्मचारीलाइ तलब भत्ता दिनु भन्दा नेसनल ट्रेडिङलाई खारेज गर्न आग्रह गर्दै आएका थियौं, अर्थका एक अधिकारीले भने, सरकारको निर्णयले सरकारी ढुकुटीको बचत भएको छ।

उनी गोरखकाली रबर उद्योग, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड पनि खारेज गर्नु पर्ने बताउँछन्।

माघ १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्