प्रश्न ‘लिक’ भएको पुष्टी, तर पत्ता लागेनन नाइके

काठमाडौं– आईइएलटिएस प्रश्नपत्र ‘लिक’ प्रकरणमा पक्राउ परेका तीनै जना एक एक लाख रुपैयाँ धरौटीमा छुटेका छन्। योजनाकारमध्येका एक कन्सल्टेन्सी सन्चालक सुरज लामासहित तीन जनासँग काठमाडौं जिल्ला अदालतले एक एक लाख रुपैयाँ धरौटी मागेको थियो।

काठमाडौं प्रहरी परिसरले ठगी मुद्धामा अनुसन्धान गरी रायसहित प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो। परिसरले आईइएलटिएस परीक्षा हुनु अघिल्लो दिन गत जनवरी ५ तारिखमा सातजनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमध्ये सुरजको मोबाईलको ह्वाट्सएपमा प्रश्न र उत्तरसहितको पत्र भेटिएको थियो।

पक्राउ परेकामध्ये चार जना परीक्षार्थी थिए जसले परीक्षा अघि नै प्रश्न र उत्तर पाउने आशमा सुरजसहितको गिरोहलाई पैसा बुझाएका थिए। प्रहरीले पैसा बुझाउने परीक्षार्थीलाई पिडित बनाएर ठगी मुद्धा दर्ता गरेको थियो।

प्रहरीका अनुसार बरामद भएको प्रश्न र उत्तर जनवरी ६ मा लिईएको आईइएलटीएस परीक्षामा सोधिएको प्रश्नसँग लगभग मिलेको थियो।

‘लिखिततर्फ सोधिएका दुवै प्रश्न मिले। लिसनिङतर्फ सोधिएका ४० प्रश्नमध्ये ३८ वटाको उत्तर मिलेको छ।’, काठमाडौं प्रहरी परिसर स्रोतले भन्यो। सुरुमा प्रश्नपत्र उपलब्ध गराउन आनाकानी गरेको आईएलटिएस परीक्षा सन्चालक ब्रिटिस काउन्सिल र आईडीपीले प्रहरीको कडा पत्रपछि प्रश्नपत्र र त्यसको उत्तर उपलब्ध गराएको थियो।

पक्राउ परेकामध्ये सुरजले आफूलाई हनी सिंह नाम गरेका भारतीयले उक्त प्रश्न र उत्तर ह्वाट्सएपमा उपलब्ध गराएको बताएका थिए। तर प्रहरी ती व्यक्तिलाई पक्राउ गर्न सकेन। स्रोतका अनुसार परिसरले ब्रिटिस काउन्सिल र आईडीपी दुवैका प्रतिनिधिलाई बोलाएर यस विषयमा छलफल गरेपनि प्रश्न र उत्तर उपलब्ध गराउने ती व्यक्तिबारे प्रहरीले कुनै भेउ पाउन सकेन। अनुसन्धानमा खटिएका एक प्रहरी भन्छन्- सुरजले अाफूलाई प्राप्त उक्त प्रश्न र उत्तर हनी सि‌ह नाम गरेका भारतियले ह्ववाट्सएपमा पठाएकाे बताएपनि ती व्यक्तिबारे थप अरु केही थाहा नपाएकाे लगातार दाबी गरिरहे।

यति गम्भीर विषयमा ती व्यक्तिबारे प्रहरी र परीक्षा सन्चालक दुवै गम्भीर नभएको स्रोत बताउँछ। ‘प्रश्नपत्र लिक भएको पुष्टी भईसक्दा पनि मुद्धा ठगीमा लगेर अनुसन्धानलाई निकै सामान्य बनाउने काम भएको छ’, परिसरकै एक प्रहरी अधिकृत भन्छन्। पक्राउ परेको दुई साता पनि नबित्दै प्रहरीले सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो।

प्रहरीले जनवरी ६ मा सन्चालन गरिएको आईइएलटिस परिक्षा रद्ध गर्न ब्रिटिस काउन्सिल र आईडिपी दुवैलाई निर्देशन दिई सकेको छ। तर यस विषयमा दुवै पक्ष गम्भीर नभएको स्रोतको भनाई छ। त्यसबाहेक प्रहरीले आफूलाई प्राप्त प्रमाण लिएर भारतमा गएर उजुरी गर्न र हनी सिंहलाई पक्राउ गर्न पनि परिक्षा सन्चालकलाई सुझाव दिएको छ। ‘यो त परिक्षाको विश्वशनियताको विषय हो। यसमा परीक्षा सन्चालक गम्भीर हुनुपर्छ’, महानगरिय प्रहरी कार्यलय रानीपोखरीका एक प्रहरी अधिकृत भन्छन्।

माघ १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्