एउटा दुर्व्यसनी युवक यसरी बदलिए

बालबालिकालाई सिकाउँदै अभिराज क्षेत्री।

नेपालगञ्ज– लागु औषधविरुद्धको जनचेतनामूलक कार्यक्रम या कार्यशाला गोष्ठीहरुमा नेपालगञ्जका अभिराज क्षेत्रीलाई अगाडि सार्ने गरिन्छ। सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले गर्ने लागु औषधविरुद्धको हरेक गतिविधिमा उनको सहभागिता अनिवार्यजस्तै भएको छ।

सेना, प्रहरीको कार्यशाला या कारबाही अभियानहरु, स्कूलहरुमा लागु औषधबारेको क्लासमा ‘आइडल’ को रुपमा प्रस्तुत गराइने क्षेत्री पूर्व लागु औषध प्रयोगकर्ता हुन्।

१४ वर्ष लागु औषधको दलदलमा फसेका क्षेत्री अहिले आफू सुध्रिएर समाज सुधार्ने अभियानमा लम्केका छन्।

लागू औषधविरुद्धको बाहिरी गतिविधिका साथै आफैले साहरा हाउस (पुनर्स्थापना केन्द्र) खोलेर क्षेत्रीले लागूऔषधको कुलतमा फसेकालाई सुधार्न लागि परेका छन्।

आफू सुध्रेर समाजलाई सुधार्न लम्केका यी अभियन्तालाई भेट्न एक कल गर्नेबित्तिकै समय मिलाइयो। मुक्तिपुरमा रहेको साहरा हाउसमा बसेर चियाको सुर्कीसँगै क्षेत्रीको योजना, विगत र वर्तमान खोतल्ने प्रयास भयो।

२०७० सालमा उपचार पुनर्स्थापना केन्द्र साहरा हाउस खोलेर क्षेत्रीले कुलतमा फसेका युवालाई सत्मार्ग देखाउने प्रयास गरिरहेका छन्। यो अवधिमा साढे तीन सय जनालाई उपचार गरिसकिएको छ। बीचैमा उपचार छोड्ने प्रवृत्तिले अधिकांश भने सुध्रिएनन्। ‘हाम्रो केन्द्रमा बसेका ४० प्रतिशत सुध्रिएका छन्,’ क्षेत्रीले गौरवका साथ भने, ‘दुई वर्ष नै बसे भने शतप्रतिशत सुधार्न सक्छौं।’

साहरा हाउसले ६ महिनादेखि दुई वर्षसम्म प्रयोगकर्तालाई उपचार गर्छ।

दुर्व्यसनबिरुद्धको तालिममा सहभागी अभिराज।

कडा पहाराबीच बिहान साढे ६ बजेदेखि राति दश बजेसम्म प्रयोगकर्ताहरुलाई विविध विषयमा कक्षा दिइन्छ। लागू औषध खाना नपाएर तलतलमा फस्नेहरुलाई त्योबारे सोच्ने मौका नै हुँदैन। ‘उपचारसँगै प्रयोगकर्ताको हविगतलाई बदल्नु पर्छ,’ क्षेत्री भन्छन्, ‘लागू औषध एकप्रकारको रोग हो।’ उनले रोकथाम, न्यूनीकरणलाई प्राथमिकता दिएर शिक्षा, परामर्श, पुनस्र्थापना सहयोगसँगै उपचारमा ध्यान दिनुर्ने बताए।

लागूऔषधले समाजलाई नराम्ररी गाँजेको छ। बाँके जिल्लामै आठ हजार बढी लागूऔषध प्रयोगकर्ता रहेको क्षेत्रीको आकलन छ। लागूऔषध प्रयोग गर्ने युवतीको संख्या बढ्दो छ। दिन प्रतिदिन बढिरहेको कुलतलाई कम गर्न राज्य र गैसससँग हातहातमा मिलाएर क्षेत्री अगाडि बढिरहेका छन्।

लामो समयसम्म लागु औषधको दलदलमा फसेको, त्यसबेलाको अवस्था र सुध्रिएपछि घरपरिवार, इष्टमित्र, छरछिमेकले हेर्ने दृष्टिकोणलगायतका बारेमा बोल्न क्षेत्रीलाई अगाडि सारिन्छ। यस्तो हरेक कार्यक्रममा बोलाउने बित्तिकै क्षेत्री पुग्छन्।

खुला सीमा भएकाले बाँकेमा भारतबाट सहजै लागु औषध भित्रिने गरेको पाइन्छ। लागु औषध भित्रिन नदिन क्षेत्रीले सीमावर्ती गाउँगाउँमा गएर लागु औषधविरुद्ध जनचेतनामूलक कार्यक्रमहरु गरेका छन्।

स्कूले विद्यार्थीलाई कुलतबाट बचाउनु पर्छ भनेर उनी स्कूल–स्कूलमा कक्षा लिन पुग्छन्।

तालिममा सहभागी अभिराज।

बाँके प्रहरीले लागु औषधविरुद्ध ‘सिधा कारबाही’ अभियान चलाइरहँदा क्षेत्रीको त्यसमा पनि सहभागिता हुने गरेको छ। यो अभियानमा घरघरमा गएर चेतना जगाउने, स्कूलहरुमा गएर कक्षा लिनेदेखि लागु औषध प्रयोगकर्ता या लागु औषध भेटिएमा कारबाही गर्ने रहेको छ।

सिधा कारवाहीमा आपूर्ति नियन्त्रण, सुधारात्मक कुरा र पकेट क्षेत्रमा अनुगमन र जाँच गर्ने कार्यक्रम छन्।

लागूऔषध प्रयोगकर्ता हुँदा विगतमा आफूले भोगेको पीडा अरुले भोग्न नपरोस् भनेर लागि परेका क्षेत्रीलाई राज्यले लागु औषधको बिगबिगी हुँदा पनि रोकथामका कुनै साँझा एजेन्डा नबनाउदा मन पोल्ने गरेको छ।

नेपालमा अहिले कडाखालका लागु औषध प्रयोगकर्ता २ लाखभन्दा बढी छन्। यस्तो बिगबिगी हुँदा पनि राज्यले महत्व दिएर रोकथामका साँझा उपाय अवलम्बन गरेको छैन, क्षेत्रीलाई लागेको छ।

कुलतका दिन
बाबु–आमा नै जागिरेका छोरा अभिराज नेपालगञ्जको महेन्द्र नमूना उच्च माविमा पढे। उनको पढाइ राम्रै थियो।

‘यो केटाले एसएलसीमा स्कूलको नाम राख्छ’ भन्थे शिक्षकहरु।

तालिममा सहभागी अभिराज।

एसएलसी दिने बेलामा पछि भेट होला, नहोला साथीहरुबीचमा रमाइलो गर्न पिकनिक जाने कुरा भयो। कोहलपुरको चटारमा पिकनिक गए।

त्यहाँ साथीहरुले नाचगान गर्दै चुरोट र मदिरा खाए। अभिराजलाई पनि खाना दिइयो। साथीभाइको कुरा टार्न नसकेर उनले पनि खाए।

कुलतको शुरुवात भयो।

एसएलसी सिद्धियो। +२ त्यहीँ पढ्न शुरु गरे। यही बीचमा क्षेत्रीको मायाप्रेम बस्यो। एसएलसीमा ब्याक लागेकी किशोरीलाई क्षेत्रीले अधिक मन पराए। दशैंमा किशोरी घरमा गइन्। लामो समयसम्म नआएपछि क्षेत्रीलाई छट्पटी भयो। कसैले काठमाडौं छ भनेपनि उनी त्यहाँ पनि पुगे। काठमाडौंमा एसएलसी दिएका साथी भेट भए।

ऊ त्यहाँ कडाखालको लागु औषध प्रयोगकर्ता भइसकेको रहेछ। प्रेमिका खोज्न हिँडेको क्षेत्री टेन्सनमा थिए। साथीसँगै मनोदीपक औषधी ट्याब्लेट खाए।

त्यसपछि नेपालगञ्ज फर्किए। किशोरीसँग भेट भयो। उसले आफ्नो विवाह हुन थालेको र मगनी भइसकेको बताइन्। त्यसपछि क्षेत्रीमा अझ पीडा र निराशा थपियो।

उसले दिनमा दुई पटक मनोदीपक ट्याब्लेट खान थाल्यो। ‘प्रोक्सीवान र डेल्टस’ नामका ट्याब्लेट मिलाएर क्षेत्रीले प्रयोग गर्थे। एकपटकमा चार वटा प्रोक्सीवान र दुई वटा ट्याब्लेट डेल्टस खान्थे। एकपटक खाना १२ घण्टा झ्वाम पार्थ्यो।

निराशा बढ्दै गएपछि दिनमा तीनपटक खाना थालियो। दुई वर्षसम्म यही ट्याब्लेट प्रयोग गरिए। दिदीको बिहेको कुरा चलेको थियो।

सीमावर्ती रुपैडिहा बजारमा सामान किन्न गएको थिए, क्षेत्री। त्यहाँ त्यही काठमाडौंमा भेटिएका साथी भेट भयो। त्यहाँ ऊ कोरेक्स खान गएको रहेछ। त्यही साथीको लहीलहीमा उनले कोरेक्स खाना शुरु गरे।

कोरेक्स खाना शुरु गरेपछि म दिनको तीनपटक रुपैडिहा जान थाले, क्षेत्रीले भने। आनीबानी बदलिँदै गएपछि घरपरिवारले शंका गर्न थालिसकेका थिए। घरमा नबस्ने, राती पनि साथीसँगै हिड्ने हुन थाल्यो।

कोरेक्सले डोज नपुग्ने अवस्था आयो। त्यसपछि ब्राउनसुगर शुरु भयो। ब्राउनसुगर नपाउदा सुई लगाउन थाले। उनी नसाको गुलाम भए।

रुपैडिहामा नपाउदा नानपारा र बहराइच पुगेर ब्राउनसुगर ल्याउन थाले। यो अवधिमा घरमा पैसा र गहना चोर्ने क्रम द्रूतगतिमा अघि बढ्यो।

पैसा नहुँदा क्षेत्री ब्लड बैंकमा रगत बेच्न पुगे। त्यहाँ दुई/चार जना बसिरहने भएकाले ब्लड बैंकमा पुगेर पनि भन्न सकेनन् र फर्किए।

लागूऔषध नभई नहुने भएपछि क्षेत्रीले घरको लत्ताकपडा, भाँडाकुडा, पैसा, सुन चोर्न थाले। अब त घरमा जाँदा पनि ‘ऊ चोर आयो, भनेर घरका मानिसहरु पछि पछि हिँड्न थाले’। भेट्टाएसम्म छिमेकीको पनि सामान चोर्न थाले। कति पटक त स्कुलको पोशाक, किताब बेचेर लागु औषध सेवन गरे।

अति भयो भनेर घरका मानिसले काठमाडौं पढ्न पठाए। त्यहाँ पनि अवस्था उस्तै भयो। चार वर्षपछि फेरि नेपालगञ्ज आए। नेपालगञ्ज आएपछि दुई पटक सुधार गृहमा राखियो। उनी भागेर हिँडे।

दुर्घटनापछि सुधार
२०६३ सालमा क्षेत्री दुर्घटनामा परे। नसाको तालमा चलाइएको मोटरसाइकल धम्बोझीचोकमा ट्यांकरसँग ठोक्कियो।

गम्भीर घाइते भएका क्षेत्रीलाई तीन महिना नर्सिङहोम नेपालगञ्ज र एक महिना भारतको लखनऊमा उपचार गरियो। दुर्घटनाले उनको एउटा खुट्टा लग्यो। नसा खाने भनेर घृणा गर्ने अभिभावक, आफन्त, साथीभाइ, छिमेकी सबैले अस्पतालमा धेरै स्नेह व्यवहार देखाए। सबैतिरबाट माया पाएपछि क्षेत्रीमा कुलत छोड्ने हौसला बढ्यो।

एक दिन अस्पतालबाट घरमा आएको केही समयमा फेरि काठमाडौंमा भेट भएको साथी आएर तिमीलाई ‘बोर’ लागेको होला, हिँड घुम्न जाम भनेर रुपैडिहा लगेर माल खुवायो। त्यही बेला प्रहरीले पक्राउ गरेर सुधार गृह पठायो।

क्षेत्री भन्छन्, ‘मैले यो बीचमा धेरै उधुम मच्चाएको थिएँ। त्यसबावजुद सबैले स्नेह देखाए। त्यसपछि म सुध्रिन थाले। २०५३ देखि ०६७ सालसम्म लागु औषधमा झुलेका क्षेत्री सुधारको दिशामा अघि बढे। कुलतमा लागेका साथीभाइको घुलमिल कम गर्दै गए। सुध्रिन थाल्ने बित्तिकै घरपरिवार र आफन्तीको माया बढ्यो।

‘मैले त अभिभावकलाई कति दुःख दिएको रहेछु भन्ने लाग्न थाल्यो, क्षेत्री भन्छन्, आत्मग्लानी फिल हुन थाल्यो।’

म धेरै बिग्रिएको थिएँ। सुध्रिएपछि केही गरौं भन्ने लाग्यो र आफूजस्तै कुलतमा फसेकालाई सत्मार्गमा ल्याउने अभियान थालेँ, क्षेत्री भन्छन्। अहिले क्षेत्रीको हाइहाइ छ। घरमा जाँदा चोर आयो भनेर पछि पछि लाग्ने अभिभावकहरु गौरवका साथ मेरो छोरा भनेर ठाउँठाउँमा भन्दै हिँडेका छन्।

घरदेखि टोलसम्म चोर्ने क्षेत्रीलाई सुध्रेपछि अहिले कहि कतै केही भइहाल्यो भने मिलाइदिन सम्झिन्छन्। श्रीमती र दुई नानी खुशी छन्।

साथीभाइको संगतले धेरै प्रभाव पार्छ। गलत लाइनमा लागेका साथीसँग जोगिनु पर्छ। अभिभावकले पनि आफ्ना सन्तान कहाँ जान्छ, कोसँग भेट्छ, के गर्छ, पढाईमा कत्तिको ध्यान दिन्छलगायत विषयमा सोधीखोजी गर्नुपर्ने क्षेत्रीको सल्लाह छ।

तस्बिरहरु: कुमार श्रेष्ठ

माघ १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्