‘म मेरी श्रीमतीको भर्जिनिटी टेस्ट हुन दिन्न, किनकी…’

विवेक तमाइचिकर

नवविवाहिता महिलाको भर्जिनिटी टेस्ट (कुमारित्व परीक्षण) ।

हुन सक्छ यो कुरा केही व्यक्तिलाई विश्वास गर्न मुश्किल, केहीलाई भने सामान्य वा यसमा केही गल्ति भए जस्तो नलाग्न पनि सक्छ । केही यसलाई अनिवार्य पनि मान्छन् होला ।

तर भारतको महाराष्ट्रमा आदिवासी समुदाय कंजरभाटमा नवविवाहिताको भर्जिनिटी टेस्ट बन्द गराउनका लागि अभियान सुरु भएको छ ।
यो अभियानको सुरुवात २५ वर्षका युवा विवेक तमाइचिकरले गरेका हुन् ।

भर्जिनिटी टेस्ट र पीडा

२२ वर्षकी अनिता (नाम परिवर्तन) को तीन वर्ष पहिले बिहे भएको थियो । विवाहपछि भएको भर्जिनिटी टेस्ट सम्झिँदा अहिले पनि उनको आँखामा आँसु छचल्किन्छ, मनभरि पीडा ।

महाराष्ट्रका कंजरभाट समुदायका अरु महिलाले जस्तै विवाहपछि अनितालाई पनि भर्जिनिटी टेस्टबाट आफूलाई साबित गर्नु परेको थियो कि उनी ‘पवित्र’ छिन् ।

यो समुदायमा भर्जिनिटी टेस्टलाई विवाहको रीति रिवाजकै अंश मान्ने गरिन्छ । यो व्यवस्थाको पक्षमा समुदायका मानिस मात्रै नभएर स्थानीय पञ्चायत पनि छ ।

कसरी गरिन्छ भर्जिनिटी टेस्ट ?

बिहे गरेर आएका जोडीलाई सेतो गम्छा वा तन्ना दिइन्छ । त्यसपछि जोडीलाई होटलको कोठामा पठाइन्छ ।

यदी होटलको कोठाको भाडा नवविवाहित जोडीका परिवारले तिर्न नसक्ने भए स्थानीय पञ्चायतले तिर्ने व्यवस्था मिलाउँछ ।

होटलको कोठामा नवविवाहित जोडी तथा बाहिर परिवारका सदस्य खडा हुन्छन् । विवाह त्यसबेला मात्रै पूरा भएको मानिन्छ, जब भर्जिनिटी टेस्ट पूरा हुन्छ ।

कोठामा यौन सम्बन्धको क्रममा नवविवाहिताको यौनआंगबाट रगत आयो र परिवारका सदस्यले दिएको सेतो गम्झा वा तन्ना रातो भएमा भर्जिनिटी टेस्टमा युवती सफल भएको मानिन्छ र विवाह पूरा हुन्छ ।

तर रगत आएन भने नवविवाहिता त्यसको परिणाम भोग्न तयार हुनु पर्छ । यो टेस्टमा पास नभएमा नवविवाहित युवकलाई श्रीमतीलाई छोड्न पाउने अधिकार हुन्छ, किनकी नवविवाहिताले आफ्नो पवित्रता साबित गर्न सकिनन् । रगत नआएमा यसका लागि नवविवाहिताको बेइज्जत गरिन्छ र पिटिन्छ पनि ।

जानकार के भन्छन् ?

पहिलोपटक यौन सम्बन्ध हुँदा महिलाको यौनआंगबाट रगत आउँछ भन्ने ग्यारेन्टी नरहेको धेरै जानकार बताउँछन् ।

स्त्रीरोग विशेषज्ञ डा. सोनिया नाइकले भनिन् ‘पहिलोपटक यौन सम्बन्धका बेला रतग आउनै पर्छ, यो जरुरी छैन । भर्जिन युवतीबाट रतग आउँछ नै भन्ने पनि छैन । यो सबै मिथक मात्रै हो ।’

अनिताले आफ्ना श्रीमानसँग विवाह पहिले नै यौन सम्बन्ध कायम गरेकी थिइन् । यस्तोमा उनलाई भर्जिनिटी टेस्टमा असफल हुने डर थियो । उनले भनिन्, ‘बिहेपछि जे भयो, म त्यसका लागि तयार थिइन ।’

उनी भन्छिन्, ‘मलाई लागेको थियो कि मेरो श्रीमान पञ्चायतको अघि मेरा पक्षमा उभिने छ । तर पञ्चायतका सदस्यले सोधे कि म पवित्र छु या छैन, तब उसले दाग नै नलागेको सेतो तन्ना तर्फ देखायो ।’

पञ्चायतले लगायो आरोप

अनिता भन्छिन्, ‘श्रीमानले सही कुरामा साथ नदिएकोमा म अचम्मित थिएँ, मैले उसकै आग्रहमा विवाह पूर्व ६ महिनादेखि उससँग यौनसम्बन्ध कायम गर्दै आएकी थिएँ । पञ्चायतले मलाई झुठ भने । लोग्नेले छोडे । त्यसपछि म एक्लै भएँ । म कति दिन रोएँ ।’

अनिताका लोग्नेले उनलाई छोडेका थिए । तर केही सामाजिक कार्यकर्ता र प्रहरीको प्रयासमा उ अनितासँग बस्न राजी भयो ।

बिहे लगतै भएको घटनापछि लोग्नेसँग बस्ने निर्णय लिन निकै कठिन भएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘लोग्नेले मलाई दिनहुँ कुट्न थाले । उसले मेरो जिन्दगी नर्क जस्तै बनायो ।’

अनिता भन्छिन्, ‘म गर्भवति भएपछि पनि अवस्था फेरिएन । लोग्नेले जहिले पनि यो कसको बच्चा हो भनेर सोथ्यो । यस्तो प्रश्न गर्नेमा पञ्चायका मानिस पनि थिए ।’

बच्चा जन्मिएको दुई महिनापछि अनितालाई घरबाट निकालियो । अहिले उनी आमाबुवासँगै माइतमा बस्दै आएकी छन् । अहिले उनका बहिनीको विवाह गर्न कठिन भइरहेको छ ।

भर्जिनिटी टेस्ट विरुद्धको अभियान सफल होला त?

यो अभियान सुरु गर्ने विवेक तमाइचिकर १२ वर्षको हुँदा यस्तै एक विवाहमा सामिल भएका थिए । जहाँ भर्जिनिटी टेस्टमा असफल भएकी नवविवाहितालाई जुत्ता तथा चप्पलले कुटिएको थियो ।

उनी भन्छन्, ‘यो सबै देखेर पनि मलाई के भइरहेको छ भन्ने थाहा भएन । जब म केही ठूलो भएँ, त्यसपछि मात्रै थाहा पाएँ ।’

यो वर्षको अन्त्यमा विवेकको विवाह हुँदैछ । उनले पञ्चायतका सदस्यालाई भनिसकेका छन् कि आफ्नो बिहेमा कुनै खालको परीक्षण हुने छैन ।

उनी आफूले मात्रै नभएर समुदायका अरु व्यक्तिले पनि यस्तो कदम उठाउन् भन्ने चाहन्छन् । यो गलत रीतिका बारेमा कोही चुप नबसुन् ।

वाट्स ऐप ग्रुपबाट विरोध

विवेकले वाट्स ऐप ग्रुप ‘स्टप द भी रिचुअल’ सुरु गरे ।

यो ग्रुपमा ६० सदस्य छन्, जसमा आधा केटी छन् । यो ग्रुपका सदस्य मिलेर भर्जिनिटी टेस्ट परम्परा बन्द गर्ने प्रयासमा लागेका छन् ।

वाट्स ऐप ग्रुप ‘स्टप द भी रिचुअल’

विवेक भन्छन्, ‘यो परम्परा व्यक्तिको व्यक्तिगत गोपनियता विरुद्ध छ । यो जसरी गरिन्छ, त्यो निकै क्रुर छ । विवाह पूरा गर्नका लागि नवविवाहितालाई तयार गर्ने भन्दै पोर्नोग्राफिक भिडियो देखाइन्छ र कोठामा पठाइन्छ । यस्तै रक्सी पनि खुवाउने गरिन्छ । भोलिपल्ट बिहान निकै अभद्र तरिकाले के तिम्री श्रीमती पवित्र छ ? भनेर सोधिन्छ ।’

यो ग्रुपमाथि केही समयअघि एक विवाहको क्रममा आक्रमण पनि भएको थियो । धेरैपटक पञ्चायतका सदस्यले धम्की पनि दिएका छन् ।

समुदायलाई बदनाम गर्न खोजेको आरोप उनीहरुमाथि लगाउने गरिएको छ । पुणेमा भएको विवाहमा यो ग्रुपमाथि आक्रमण भएपछि भारतभर यस विषयमा चर्चा भइरहेको छ ।

अब चाहिँ केही हुन्छ कि, वा यो कुरीति परिवर्तन हुन्छ कि भन्ने आश विवेकलाई छ ।

– स्रोत : बिबिसी हिन्दी

माघ १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्