पन्ध्र दिन भित्र विद्युत चोरी गर्न नछोडे ललितपुरमा ‘ब्ल्याक आउट’ गर्छौं: घिसिङ

काठमाडौं-  नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रणमा सहयोग नगरे ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती (ब्ल्याक आउट) गर्ने चेतावनी दिएको छ।

प्राधिकरणले ललितपुरका विभिन्न क्षेत्रमा संगठित रुपमा विद्युत चोरी भइरहेको जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वषौंदेखि संगठितरुपमा विद्युत चोरी भईरहेको क्षेत्रका उपभोक्तालाई विद्युत चोरी नगर्न १५ दिनको समय दिई आग्रह गरिएको बताएका छन्।

‘राजधानीमै उपभोक्ता संगठित रुपमा विद्युत चोरीमा संलग्न हुनु दुर्भाग्यपूर्ण हो, घिसिङले भने, १५ दिनभित्रमा चोरी नियन्त्रणमा सहयोग नगरेमा ब्ल्याक आउट गर्न बाध्य हुने छौं।’  घिसिङलले, ‘ १५ दिन भित्र चोरी नियन्त्रणमा सहयोग नभए जस्तो सुकै ठूलो दबाब आए पनि निर्णयबाटपछि नहट्ने बताएका छन्।

ललितपुरको भित्रि सहरी क्षेत्रमा पाटन फिडर अन्तर्गत लुखुसी, च्यासल, मंगलबजार, इखालखु, धालाछे, सौगल, दुपाट, पिन्छे, पिलाछे लगायतका स्थानमा संगठितरुपमा विद्युत चोरी भइरहेको प्राधिकरणको आरोप छ।

गोदावरीतर्फ विद्युत आपूर्ति हुने फिडरबाट हरिसिद्धी, गुहीटोल, ठैव, वांडेगाउ,  लुभ फिडरबाट सानागाउँ,  सिद्धिपुर,  लुभुबजार,  लाकुरी भञ्ज्याङमा अत्याधिक विद्युत चोरी हुने क्षेत्र भएको प्राधिकरणको भनाई रहेको छ।

यसैगरि, चापागाउं फिडरबाट सुनाकोठी,  ठेचो,  लेले,  चापागाउँ लगायतका क्षेत्रमा पनि संगठितरुपमा विद्युतचोरी भईरहेको प्राधिकरणले जनाएको छ।

 

प्राधिकरणले चोरीका कारण वार्षिक करिव ५० करोड रुपैयाँ आम्दानी गुमाउनु परेको जनाएको छ।

विद्युत वितरण लाइनबाट हुकिङ गर्ने,  मिटर नराख्ने,  राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारी किला हालेर घुम्न नदिने, कर्मचारीलाई मिटर रिडिङ गर्न नदिने लगायतका काम संगठितरुपमै भइरहेको प्राधिकरणको आरोप छ।

प्राधिकरणले चोरी नियन्त्रणका लागि विद्युत वितरणको नांगो तारको सट्टा माइन्सुलेटेड एबीसी केवल राख्ने , सडक वत्ति मिलाउने,  ट्रान्सफर्मर फेर्ने लगायतका काम गरिरहेको घिसिङले जानकारी दिए।

चोरी नियन्त्रणका अभियानमा सहयोगको आग्रह गर्दै ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, प्रहरी प्रमुखसँग प्राधिकरणले छलफल गरिसकेको छ।

 

घिसिङले ललितपुरलाई विद्युत चोरी मुक्त जिल्ला बनाउन र चोरी नियन्त्रणमा प्राधिकरणले चालेका कदममा पूर्णरुपमा सहयोग गर्न आग्रह गरिएको जानकारी दिए।

प्राधिकरणले उपभोक्तालाई विद्युतचोरी नगर्न र गरिएको फेला पारेमा कानुनी कारबाही गरिने चेतावनी दिंदै पोष्टर टाँस्ने, माईकिङ लगायतका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।

ललितपुरमा जस्तै भक्तपुर क्षेत्रमा पनि चोरी व्यापक रहेको र यस क्षेत्रमा पनि क्रमिकरुपमा चोरी नियन्त्रणका आक्रामक कार्यक्रमहरु संचालन गरिने घिसिङले जानकारी दिए।

 

गत असारसम्ममा प्राधिकरणको प्रणालीमा २२.९ प्रतिशत विद्युत चुहावट भएको छ। चालु आर्थिक वर्षमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको घिसिङले जानकारी दिए।

तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ ।

माघ १८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्