सांसद र व्यवसायी धम्काएर करोड माग्ने पक्राउ

कास्की- प्रदेश सभा क्षेत्र २ (ख)का सांसद एवम व्यावसायी विन्दुकुमार थापा लगायत अन्य व्यावसायीलाई धम्काएर फिरौती माग्ने गर्ने ४ जनालाई कास्की प्रहरीले विहिबार सार्वजनिक गरेको छ।
फिरौतीको मुख्य योजनाकार नलबहादुर गुरुङ (शंकर) सहित अन्य तीनजनालाई कास्की प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा स्याङजा टक्सारका शंकर सहित स्याङजा फेदीखोला घर भई पोखराको जरेबर बस्दै आएका अमृत खड्का, पर्वत कुश्मा घर भई पोखरा ६ जरेबरमै बस्ने रामु सुवेदी र स्याङजा फेदीखोलाका शिव कार्की छन्।
उनीहरुले सांसद विन्दुकुमार थापा सँग २ करोड रुपैया रकम माग गरेका थिए । घर जग्गा व्या वसायी कालु गुरुङ सँग १० करोड रुपैया माग्दै धम्क्याउँदै आएका थिए। थापाले पुस १५ देखि निरन्तर धम्की दिएका र दिनमा ५ पटकसम्म फोन गर्ने गरेको थापाले बताए । थापाले १ महिना अघि नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।
उनीहरुले सांसद थापा, घर जग्गा ब्यवसायी कालु गुरुङ, बोधराज गिरी र मनकामना केवुलकारका संचालक राजेशबाबु श्रेष्ठलाई मोटो रकम माग गर्दै धम्काएका कहिले नेपाल त कहिले भारतीय नम्बरको मोवाइलबाट धम्याउँदै आएका थिए । १ महिना देखिनै विशेष अनुसन्धानमा खटिरहेको प्रहरीको विशेष टोलीले बुधबार सो गिरोहलाई पक्रन सफल भएको हो।
‘उनीहरु यस बाहेक अरु घटनामा संलग्न भए नभएको पनि अनुसन्धान भैरहेको कास्की प्रहरी प्रमुख अशोक सिंहले बताए। फरार मनोज पुनको नाम लिएर उनीहरुले फिरौती मागेका अनुसन्धानको क्रममा खुलेको छ। उनीहरुलाई अपहरण तथा शरिर बन्धक उद्योग मुद्दामा बुधबार नै जिल्ला अदालतबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको कास्कीका प्रहरी प्रमुख अशोक सिंहले बताए।