स्वयम्भूबाट नमोबुद्धसम्म साइकल यात्रा गरिने

काठमाडौं – चारुमती बुद्धिष्ट मिसन नेपालले यही माघ २० गते काठमाडौंको स्वयम्भूबाट काभ्रेको नमो बुद्धसम्म साइकल यात्रा गर्ने भएको छ ।

उक्त मिसनले स्वयम्भूबाट नमोबुद्धसम्म बुद्ध पथ (सर्किट) निर्माण गर्न सम्बन्धित पक्षलाई दबाब दिने उद्देश्यले यात्रा गर्न लागेको हो ।

बुद्ध जन्मेको देश नेपालमा बौद्ध सम्पदा, शिक्षा र साहित्यको प्रवर्द्धन हुन नसकेको अवस्थामा उक्त यात्राले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

कीर्तिमानी धावक वैकुण्ठ मानन्धर र विश्व साइकल यात्री पुस्कर शाहले यस किसिमको यात्राले बुद्धको शान्ति र अहिंसाका सन्देशलाई विश्वमा फैलाउन सहयोग पुग्ने बताए ।

कार्यक्रम संयोजक विश्व उलकले प्राचीन इतिहास बोकेको नमोबुद्ध क्षेत्रको प्रचारप्रसार हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

वर्ल्ड साइकल टुर क्याम्पेन नेपालको सहयोगमा हुने उक्त यात्रामा २०० जना सहभागी हुनेछन् ।

भौगोलिक तथा पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण रहेको नमोबुद्ध क्षेत्रमा धार्मिक पर्यटक आकर्षित गर्न बुद्ध पथ निर्माणका लागि सो यात्रा महत्वपूर्ण हुने बताइएको छ । रासस

माघ १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्