खेलाडीलाई हिर्काएर रेड कार्ड देखाउने रेफ्रीमाथि ६ महिनाको प्रतिबन्ध

खेलाडीलाई किक हिर्काउने (खुट्टाले हान्ने) अनि रेड कार्ड देखाउने रेफ्रमाथि ६ महिनाको प्रतिबन्ध लागेको छ ।
गएको पुस ३० गते राति फ्रेन्च लिग वान अन्तर्गतको पेरिस सेन्ट जर्मेन (पिएसजी) र नान्टेसबिचको खेलमा नान्टेसका खेलाडीलाई खुट्टाले हानेर रातो कार्ड देखाउने रेफ्री टोनी चाप्रोनमाथि ६ महिनाको प्रतिबन्ध लागेको हो । तर यो प्रतिबन्ध मध्ये आधा चाहिँ निलम्बित भएको छ ।
खेलको इन्जुरी समयका नान्टेसका डिफेन्डर डिएगो कार्लोस र रेफ्री टोनी चाप्रोन ठोक्किएका थिए । कार्लोससँग ठोक्किएका रेफ्री चाप्रोन मैदानमा लडे ।
उनले उठ्दै गर्दा नान्टेसका डिफेन्डर कार्लोसलाई खुट्टाले हाने अनि खेलमा पहिले नै एउटा पहेँलो कार्ड पाएका कार्लोसलाई दोस्रो पहेँलो कार्ड देखाए ।
त्यसपछि गोजीबाट रातोकार्ड निकालेर कार्लोसलाई देखाएपछि उनी मैदानबाट बाहिरिन बाध्य भए । यो खेलमा पिएसजीले नान्टेसलाई १–० ले हराएको थियो ।
खेल लगतै निलम्बित भएका रेफ्री चाप्रोनलाई फ्रेन्च लिगको अनुशासन कमिटिले कारवाही गर्ने निर्णय गरेको हो । चाप्रोनले सन् २००४ देखि शीर्ष लिगका खेलमा रेफ्रीको रुपमा काम गर्दै आएका छन् ।