फिडेल क्यास्ट्रोका छोराले गरे आत्महत्या

क्युवाका नेता फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन् । क्युवा क्रान्तिका सर्वोच्च नेता क्यास्ट्रोका ६८ वर्षका छोरा फिडेल एन्जल क्यास्ट्रो डिएज–बालार्टको राजधानी हवानामा निधन भएको क्युवाको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
डिएज–बालार्टले आत्महत्या गरेको क्युवाका अधिकारीले पुष्टि गरेका छन् । उनी स्थानीय समय अनुसार बिहीबार बिहान मृत भेटिएका हुन् । उनी लामो समयदेखि डिप्रेशनमा रहेको उल्लेख गरिएको छ ।
क्युवाका पूर्व राष्ट्रपति क्यास्ट्रोका जेठा छोरा डिएज–बालार्ट, जसलाई फिडेलिटोको नामले चिन्ने गरिएको थियो । क्युवा क्रान्तिका सर्वोच्च नेता तथा पूर्व राष्ट्रपति क्यास्ट्रोको सन् २०१६ को नोभेम्बरमा निधन भएको थियो ।
फिडेलिटोले न्युक्लियर भौतिकशास्त्रीको रुपमा काम गर्दै आएका थिए ।
क्युवाको सरकारी पत्रिका ग्रान्माले फिडेलिटोको निधनको पुष्टि गर्दै भनेको छ, ‘डाक्टरहरुले गएको केही महिनादेखि गम्भीर डिप्रेशनको उपचार गरिरहेका फिडेलिटोको निधन भएको छ, उनले आत्महत्या गरेका हुन् ।’