प्रदेश २ मा सभासद्लाई कफी रंगको कोट र बण्डी, मर्यादापालकलाई सफारी सुट

प्रदेश नं. २ मा प्रदेश प्रमुख कार्यालयले विहीबार बेलाएको सर्वदलीय बैठक। तस्बिर: देशसञ्चार

जनकपुरधाम- प्रदेश नम्बर २ को पहिलो प्रदेशसभा बैठक सञ्चालनका लागि कार्यसूची तयार गरिएको छ।

प्रदेश नं. २ मा माघ २१ गते घोषित पहिलो बैठकको तयारी स्वरूप प्रदेश प्रमुख कार्यालयले विहीबार बेलाएको सर्वदलीय बैठकबाट पहिलो संसद अधिवेशनलाई सुव्यवस्थित, मर्यादित तथा ऐतिहासिक बनाउने निर्णय गरिएको छ।

बैठकमा उपस्थित विभिन्न राजनीतिक दलको प्रदेशसभा सदस्यहरुको सुझाव अनुसार प्रदेशसभा सदस्यको लागी कफी रंगको कोट र बण्डी अनिवार्य गरिएको पौडेलले बताएका छन्  यस्तै, मर्यादापालकको सम्बन्धमा तत्काल सफारी सुट पोशाकको रुपमा राखिएको छ।

सर्वदलीय बैठकमा प्रदेशसभा सदस्य, सभामुख, कर्मचारी, मर्यादापालकको पोशाक, प्रदेशसभा सदस्यहरुको सीट निर्धारण, सभाको अन्तरिम कार्यविधि, कार्यव्यवस्था परामर्श समिति सहितको विषयमा छलफल भएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाको प्राङ्गणमा रहेको अधिकृत संगमको सभाकक्षमा सम्पन्न बैठकमा आगामी माघ २० गते ३ बजे बस्ने सर्वदलीय बैठकबाट दलका नेता छनोट गर्ने, २१ जना मर्यादापालक छनोट गर्ने, नेपाली भाषा बाहेक अन्य मातृभाषामा आफ्नो भनाइ राख्न पाउने निर्णय गरिएको हो।

प्रदेशसभाको पहिलो बैठक सुव्यवस्थित, मर्यादित र संसदीय मूल्य मान्यता अनुसार सञ्चालन गर्ने विषयमा सर्वदलीय बैठकमा वृहत्त छलफल भएको संघीय संसद सचिवालयका सहसचिव वंशीराज पौडेलले बताए।

यता, बैठकको एजेन्डा तय गर्न लागि ११ सदस्यीय परामर्श समिति गठन गर्ने प्रक्रिया समेत सुरु भइसकेको छ। पहिलो बैठकको १५ दिनभित्र सभामुख चयन गर्ने संवैधानिक व्यवस्था रह्ने अनुसार प्रक्रिया अगाडि बढ्ने छ।

माघ १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू