धनगढीमा डेरा खोज्दै प्रदेश सांसद

प्रदेश सात शपथग्रहणको फाइल तस्बिर।

धनगढी- ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढीमा प्रदेश सांसदहरुले डेरा खोज्न सुरु गरेका छन्। धनगढी भन्दा बाहिर घर भएका प्रदेश सांसदहरु धनगढी राजधानी भएसँगै डेरा खोज्न थालेका हुन्। उनीहरु नजिकका आफन्त तथा साथीभाइलाई डेरा खोजिदिन आग्रह गरिरहेका छन्।

‘राजधानी धनगढी नै भएको र प्रदेश संसदको बैठक पनि यहीँ नै बस्ने भएपछि धनगढीमा डेरा नखोेजी भएन,’ दार्चुलाका प्रदेश सभा सदस्य गेल्वुसिँह बोहराले भने। उनले दार्चुलामै बसेर प्रदेश संसदको नियमित बैठकमा उपस्थीत हुन कठिन हुने भएकोले धनगढीमा डेरा खोजीरहेको बताए।

९ जिल्लाका ५३ जना प्रदेश सभा सदस्यमध्ये अधिकांश सांसद धनगढीमा डेराका लागि दौडधुप गरिरहेका छन्।

‘कैलालीमै घर भएकालाई त सहज होला तर हामीलाई भने धनगढीमा डेरा नभई हुँदैन, त्यसैले डेरा खोज्न साथीभाईहरुलाई भनेको छु,’ पहाडी जिल्ला बाजुराका प्रदेश सभा सदस्य प्रकाशबहादुर शाहले भने।

माघ २१ गते प्रदेश नम्बर ७ को पहिलो प्रदेश सभाको बैठक बस्ने भएपछि प्रदेश सभा सदस्यहरु धनगढीमा पुग्ने क्रम सुरु भएको छ।

माघ १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्