एमालेले नेताहरुलाई भोट हाल्न सिकायो

नेपालगञ्जमा भएको एमालेको प्रशिक्षण। तस्बिर: देशसञ्चार

नेपालगञ्ज – नेकपा एमाले पाँच नम्बर प्रदेश संगठन कमिटिले बाँके र बर्दियाका जनप्रतिनिधिलाई राष्ट्रिय सभा निर्वाचनलक्षित मतदाता शिक्षाबारे प्रशिक्षण दिएको छ।

केन्द्रीय सदस्य एवं राष्ट्रिय सभाका उम्मेदवार खिमलाल भट्टराई, प्रदेश सभा सदस्यद्वय बैजनाथ चौधरी र भुनेश्वर ढकालले बाँके र बर्दियाका प्रदेश सभा सदस्य तथा गाउँपालिका र नगरपालिकाका प्रमुख/उपप्रमुखलाई राष्ट्रिय सभाको मतदाता शिक्षाबारे सहजीकरण गरेका हुन्।

नेपालगञ्ज आइपुगेका भट्टराईले सञ्चारकर्मीसँग बोल्दै एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया संयुक्त नेतृत्वमा हुने बताए।

बामएकतालाई कसैले रोक्न नसक्ने बताएका भट्टराईले सरकार गठन र पार्टी एकता सँगसँगै अघि बढ्ने बताए।

उम्मेदवारको देश दौडाहा तथा प्रशिक्षणमा राष्ट्रिय सभामा निर्विरोध निर्वाचित कोमल वली पनि नेपालगञ्ज आइपुगेकी छन्। माथिल्लो सदनमा पुगेकी वलीले गायन क्षेत्रलाई भने छोड्नै नसक्ने प्रतिक्रिया दिइन्।

वलीले राष्ट्रिय सभामा निर्वाचित भइसकेपछि पशुपति शर्मासँग मिलेर ‘शून्य भयो, गाउँघर’ बोलको गीत सार्वजनिक गरेको बताइन् । उनले बिमल क्षेत्रीको शब्द र संगीतमा नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिइन् ।

एमालेले राष्ट्रिय सभाको जिम्मेवारी दिएकोमा उत्साहित भएकी वलीले आफ्ना बारेमा सामाजिक सञ्जालमा आएको टिका टिप्पणीलाई स्वभाविक रुपमा लिएको बताइन् । उनले छिट्टै एमालेको पार्टी संगठनमा पनि जिम्मेवारी लिने खुलाइन् ।

माघ १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्