प्रदेश ६ को पहिलो बैठकमा के हुँदैछ ?

सुर्खेत–प्रदेश ६ को संसद बैठकले विभिन्न विषयमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ। शुक्रबार भएको प्रदेश संसद् सचिवालय र सर्वदलिय बैठकलेबाट तीन वटा विषय माथि छलफल गर्ने कार्यसूची तयार पारिएको हो।

सिँचाई विकास डिभिजन कार्यालयको सभा हलमा आईतबार दिउँसो १ बजे बस्ने संसद वैठकका लागि आवश्यक कार्यसूची तयार पारिएको हो। प्रदेश ६ को संसद सचिवालयका अनुसार संसद बैठक सञ्चालन कार्यविधि, सभामुखको निर्वाचन, संसदमा बोल्ने वाक्ताहरुको विषयमा कार्यसूचि तयार पारेको छ।

प्रदेश संसद सचिवालयका सचिव कृष्णहरी खड्काले आइतबार बस्ने पहिलो बैठकले सभामुख चयन गर्ने मिति तोक्ने बताए। माघ २९ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव कार्यसूचिमा राखिएको छ। बैठकमा प्रदेशसभाका ज्येष्ठ सदस्य हिमबहादुर शाही, एमालेका यामलाल कंडेल, माओवादी केन्द्रका धर्मराज रेग्मी र सीता नेपाली, कांग्रेसका दिनबन्धु श्रेष्ठ सहभागी थिए।

४० प्रदेश सभा सदस्य रहेको यस प्रदेशमा एमालेबाट २० जना माओवादीबाट १३ जना, कांग्रेसबाट ६ जना र राप्रपाका एक जना सांसद रहेका छन्। पहिलो संसद् बैठकको तयारी लगभग पुरा भएको छ। ६ नम्बर प्रदेश संसद् सचिवालयले अधिवेशनका लागि आवश्यक भवन सजावट एवम् व्यवस्थापन काम पुरा गरेको हो। सभाकक्षको डेकोरम, अभिलेख व्यवस्थापन, सुरक्षा, परिचयपत्र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको सचिब खड्काले बताए।

यसैबीच, प्रदेश नम्बर ६ को संसद बैठकमा ४० जना मर्यादापालक खटाइने भएको छ। ६ नम्बर प्रदेश प्रहरी कार्यालयले संसदमा खटिने ४० जना मर्यादापालकहरूलाई आवश्यक प्रशिक्षण दिन शुरु गरिएको छ।

प्रदेश प्रहरी कार्यालयका एआइजी रणबहादुर चन्दले १० महिला र ३० पुरुष छनौट गरिएको बताए।

कार्यालयका अनुसार संसदमा खटिने मर्यादापालकहरु इनिस्पेक्टरदेखी प्रहरी जवान रहेका छन्। मर्यादापालकका लागि आवश्यक पोशाक भने टुंगो लागेको छैन।

सम्बन्धित समाचार…

प्रदेश नम्बर ६ : प्रदेशसभाको पहिलो बैठकको यस्तो छ कार्यसूचि

 

माघ १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्