अदुवा भारत निर्यात भएकै छैनः व्यवसायी

भारत निर्यातका लागि तयारी राखिएका अदुवा लोड गरिएका ट्रक। तस्बिर: देशसञ्चार

विर्तामोड- नेपालमा उत्पादित अदुवामा भारतीय अवरोध हटेको भनिए पनि नेपाली अदुवा शुक्रबार साँझसम्म भारत निर्यात हुन नसकेको अदुवा व्यवसायीहरुले बताएका छन्।

नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्र खड्काका अनुसार केही ट्रक अदुवा शनिवार भारत पठाउन लागिएको छ। तर त्यस्को पनि कुनै टुंगो नभएको उनले बताए।

खड्काले भने, ‘शनिबार केही गाडी पठाउने तयारी छ। तर अझैसम्म पनि भारतले लान दिन्छ दिँदैन कुनै टुंगो छैन।’

भारतले अदुवालाई ‘प्रतिवन्धित सूची’मा राखेका कारण अदुवा निर्यातमा बारम्बार अवरोध आएको नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका सचिव हेमन्तराज बोहराले बताए। उनले भने, ‘अहिलेसम्म हामीले गरेको व्यापार भनेको आशिर्वादकै भरमा रहेछ। हामीले कुरा बुझ्दा भारतले नेपाली अदुवालाई प्रतिबन्धित सामाग्रीको रुपमा राखेको रहेछ।’

भारतले भारतीय व्यापारीहरुकै लागि तोकेको मापदण्डका कारण पनि अहिले अदुवा भारत जान नसकेको सचिव बोहराले बताए। भारतीय व्यापारीहरुले पहिला नै आयात गरिने मात्रा निर्धारण गरेर त्यस्मा लाग्ने कर पहिला नै तिर्नुपर्ने भएकाले नेपाली अदुवा गोदाम तथा किसानका घरमा थन्क्याउनु परेको उनको भनाइ छ।

भारतीय व्यापारीहरुले भारतीय सरकारले तोकेको मापदण्ड पूरा गर्न केही दिन अझै लाग्ने बताइएको छ। तर अहिलेलाई भने कुहिन लागेको अदुवा भारत निर्यात गर्न दिने अस्थायी समझदारी बनेको नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्र खड्काले बताए।

अर्को गन्तव्य बंगलादेश

भारतले नेपाली अदुवामा रोक लगाएपछि व्यवसायीहरुले अर्को गन्तव्य बंगलादेश रोजेका छन्। नेपालको पूर्वी नाका काँकरभिट्टाबाट करीब ३५ किलोमिटरको दूरीमा रहेको फुलबारी बंगलाबन्द नाकाहुँदै व्यवसायीहरुले नेपाली अदुवा बंगलादेश पठाउन थालेका छन्।

भारतले अदुवामा रोक लगाएपछि अहिलेसम्म ३५ ट्रक नेपाली अदुवा बंगलादेश पठाइसकिएको नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका सचिव बोहराले बताए।

उनले भने, ‘बंगलादेशी व्यापारीहरुले तपाईंहरु पठाउनुहोस् हामी लिन्छौं भनेपछि हामीले पठाएका हौं।’ नेपालको अदुवाको ९८ प्रतिशत मात्रा भारत पठाइने गरिएको थियो।

माघ १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्