रिपोर्टर डायरी- नेपाल-भारत सम्बन्धमा सुध्रिएला भन्नेमा अझै आशंका

भारतीय विदेशमन्त्री सुषमा स्वराज प्रधानमन्त्रीलाई भेटेर फर्किँदै। तस्बिर: दीपा दाहाल

काठमाडौं – माघ सात गते वाम एकता संयोजन समितिकोे बैठकबीच नेकपा एमालेका अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको टेलिफोन संवादले नै नेपाल भारतको तिक्त गाँठोलाई केही हदसम्म फुकाउन सहजता थपेको थियो।

त्यसपछि लगातार दुईवटा अरु घटनाले सतहमा ओली र मोदीको सम्बन्धलाई अरु सहजतातर्फ लगेको देखिन्छ।

पहिलो, २६ जनवरीमा भारतको गणतन्त्र दिवसका अवसर पारेर ओलीले मोदीलाई लेखेको चिठी, जसमा उनले भारतको संवैधानिक विकासबाट नेपालले धेरै सिक्ने आशा राखेको अभिव्यक्ति दिएर घुमाउरो पारामा आफुले उत्कृष्ट भनेको नेपालको संविधानमा केही कमिकमजोरी हुन सक्ने स्वीकार गरे।

दोस्रो, त्यसको ६ दिनपछि भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल आएर ओलीलाई वर्तमान प्रधानमन्त्री भन्दा बढी नै महत्व र प्राथमिकता दिइन्, देखिने गरी जुन अस्वाभाविक कुटनीतिको प्रर्दशन थियो।

कुटनीतिको आवरणमा राजनीतिक जस्तो देखिएको स्वराजको यो यात्रा पक्कै पनि ओलीको भावी नेतृत्व कालमा चीनको नजिक नेपाल नपुगोस् र भारतकै प्रभाव क्षेत्रमा (स्फेयर अफ इन्फ्लुएन्स) रहिरहोस् भन्ने उद्देश्यमा केन्द्रित देखिन्छ।

त्यसका लागि वाम गठबन्धन र खासगरी ओलीलाई भारतले आश्वस्त गर्नु जरुरी थियो।

सोल्टी होटलमा ४५ मिनेटको एक्लाएक्लै भेट, दुई पक्षको समूहगत भेट र त्यसपछि रात्रीभोज त्यसका उदाहारण थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा आधा घण्टा बिताएकी स्वराजले भण्डारीलाई पनि तिक्तता भुलेर सम्बन्ध सुधारमा अघि बढ्न आग्रह गरेकी छन्।

र, स्वराजको राष्ट्रपति भण्डारीसँगको व्यक्तिगत सम्बन्ध अत्यन्तै निकट हुनुकासाथै भण्डारीको एमाले पृष्ठभूमिका कारण भावी सरकारलाई सहयोग गर्ने आश्वासन बढी अर्थपूर्ण थियो।

तर भ्रमणले केही आशंकालाई सम्बोधन गर्ने प्रयास गरेको छ भने केही नयाँ आशंका जन्माएको छ।

वाम गठबन्धनका प्रवाशाली नेता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले आधा घण्टाको भेटमा त्यो महत्व पाएनन् जुन ओलीले पाए ।

यसले एमाले र माओवादीबीच केही अविश्वास नबढाउला भन्न सकिन्न।

माओवादीको उच्च तहबाटै स्वराजको यो भ्रमण अघि नै समय उपयुक्त नभएको टिप्पणी आएको थियो।

एमाले जसरी नै स्वराजले मधेसकेन्द्रीत दलहरुलाई प्रोत्साहित गर्दै सहयोगको आश्वासन दिन भ्याइन, जसलाई पछि दुई शक्तिहरु आपसमा मिल्न सक्ने संकेतको रुपमा हेरिएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर होटल सोल्टीबाट बाहिर निस्कँदै भारतीय विदेशमन्त्री सुषमा स्वराज। तस्बिर: दीपा दाहाल

राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेतालाई बिहीबार राति नै भेटेकी स्वराजले संघीय समाजवादी फोरमका अध्यक्ष उप्रेन्द्र यादवालाई शुक्रबार माओवादी केन्द्रका अध्यक्ष दाहालसँगको भेटपछि समय दिइन् र लामै छलफल गरिन्।

स्वराजले यादवसँगको भेट मधेस विकासमा केन्द्रित भएको सार्वजनिक गरिएको छ।

तर, अधिकांश समय नयाँ सरकारमा मधेसी पार्टीको भूमिकाबारे चासोमा खर्चिएकी थिइन् स्वराजले।

उता उनले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एक्लाएक्लै भेट समेत गरिनन्।

औपचारिक रुपमा चुनाव सम्पन्न गराएकोमा बधाई मात्रै दिइएकी छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष उपप्रधानमन्त्री कमल थापाको स्वराजसँग एक्लाएक्लै भेट नजुरेपछि उनीले प्रधानमन्त्री देउवाद्वारा स्वराजका लागि आयोजित दिवा भोजमा सामेल भएनन्।

त्यसले भारतीय स्वार्थमा नेपाली कांग्रेसको सान्दर्भिकता कम हुन थालेको अड्कलबाजी पनि हुन थालेको छ।

बिहीबार त्रिभुवन विमानस्थलमा ओर्लिपछि आफ्नो भ्रमणलाई सद्भाव भ्रमणका रुपमा प्रस्तुत गरे पनि अधिकांश सञ्चारमाध्यम र राजनीतिक वृतले यसलाई राजनीतिक भ्रमणकै रुपमा प्रस्तुत गरेको छ।

विभिन्न भेटघाटमा स्वराजका प्रस्तुतिले त्यसलाई पुष्टि गरेका छन्।

तर, उनले त्यो अड्कलबाजीलाई सम्बोधन गर्न कुनै किसिमको अभिव्यक्ति दिइनन् नेपाल विदाइको हात हल्लाउँदा सम्म पनि।

प्रधानमन्त्रीसँग भेटेर फर्कँदै भारतीय विदेशमन्त्री सुषमा स्वराज। तस्बिर: दीपा दाहाल
माघ १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्