देशको समृद्धिका लागि बाम एकता– एमाले नेता पोखरेल

पोखरा- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले देशको लागि बाम एकताको खाँचो रहेको बताएका छन्।

उनले देशको समृद्धि अब बाम गठबन्धनको सरकारबाट मात्रे सम्भव हुने भन्दै एमाले र माओबादी केन्द्रबीच पार्टी एकता गाँठो बलियो हुँदै गएको बताए।

पोखरेलले शुक्रबार पोखरामा शुरु भएको नेपाल राष्ट्रिय वाणिज्य संघको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै यो बताएका हुन्। उनले पार्टी एक हुने बिषयका सन्दर्भमा फैलाइएका हल्लाहरु निराधार भएको भन्दै त्यस्ता हल्लाहरु एकता भाड्ने नियोजित षड्यन्त्रका रुपमा आफूले बुझेको बताए।

पोखरेलले एकीकरण प्रक्रिया जनता र कार्यकर्ताहरुको चाहना अनुरुप नै शुरु भएको र अब जस्तासुकै जालसाझीहरुलाई परास्त गरेर भए पनि बिचारको बलियो ब्यबस्थापन गर्दै सांगठानिक र बैचारिक हिसाबले एकीकरण हुने बताए।

पोखरेलले छिट्टै एकीकृत पार्टीको निर्देशक सिद्धान्त र सांगठनिक व्यवस्थापनका लागि दुई कार्यदल बन्ने जानकारी दिए। आफूले दुवै पार्टी भित्र र बाहिर केही व्यक्तिहरु एकता विपक्षमा छन् भन्ने सुनेको भन्दै एकता बिरोधी तत्वहरु आफैँ उछिट्टिएर बाहिरिने बताए।

उनले भने, ‘विगतमा दुई पार्टी हिँड्ने बाटो र सिद्धान्त फरक थियो अहिले दुवै मिल्दै आएका कारण एकीकरण सम्भव भएको हो।’

केही तहहरु पार गरेपछि एकता बलियो गाँठो बाँधिने बताए। उनले सरकार गठनको मोडालिटी तयार हुँदै गरेको भन्दै अब तीव्र गतिमा देशलाई विकास र सम्बृद्धितर्फ जाने गरी सरकार सञ्चालनको योजना र कार्यदिशा तयार हुँदै गरेको उनले जानकारी दिए।

कार्यक्रममा एमाले सचिब पृथ्बी सुब्बा गुरुङले भावनाका कुराले मात्रै एकीकरण नहुने भन्दै सैद्धान्तिक र सांगठनिक दुवै हिसाबले तयारी भएपछि मात्रै एकता घोषणा हुने बताए।

गुरुङले आलोपालो र पद बाँडेर नभई एकीकृत महाधिवेशनपछि पार्टी अध्यक्ष नै प्रधानमन्त्री हुनुपर्ने धारणा राखेका थिए।

त्यस्तै एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश चारका संयोजक किरण गुरुङले सम्बृद्ध अर्थतन्त्र नै देश विकासको मेरुदण्ड भएको हुँदा एक कुशल र प्रभावकारी नेतृत्वबाट मात्रै यो कुरा सम्भव रहेको बताए। उनले भत्ता मात्रै बाँडेर होइन, अब आम जनतालाई उत्पादनमुखी काममा अवसरको सिर्जनामा आफ्नो पार्टी लाग्ने बताए।

कार्यक्रममा उक्त संगठनका इन्चार्जसमेत रहेका नेता मुकुन्द न्यौपाने, पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जीसीलगायतले बोलेका थिए। संघका अध्यक्ष धनराज आचार्यको अध्यक्षतामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो। दुई दिनसम्म चल्ने अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गर्नेछ।

माघ १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्