स्तन क्यान्सर भन्दा प्रोटेस्ट क्यान्सर घातक

बेलायतमा सार्वजनिक गरिएको नयाँ तथ्यांक अनुसार प्रोटेस्ट क्यान्सर कारण हुने मृत्यु स्तन क्यान्सरका कारण हुने मृत्यु भन्दा बढी देखिएको छ ।

सन् २०१५ को तथ्यांक सार्वजनिक गरिए अनुसार प्रोटेस्ट क्यान्सर क्यान्सरका कारण हुने मृत्युको तेस्रो स्थानमा रहेको छ । यसअघि क्यान्सरका कारण हुने मृत्युको तेस्रो नम्बरमा स्तन क्यान्सर थियो ।

प्रोटेस्ट र स्तन दुवै क्यान्सरका कारण हुने मृत्युमा पहिले भन्दा केही सुधार आए पनि प्रोटेस्ट क्यान्सर बढी जोखिम युक्त देखिएको छ ।

बेलायतमा क्यान्सरका कारण हुने मृत्युमा सबैभन्दा धेरै फोक्सो र त्यसपछि पेट वा आन्द्रामा हुने क्यान्सर रहेको छ । सन् २०१५ मा फोक्सोको क्यान्सरका कारण ३५ हजार ४८६ र कोलोरेक्टल क्यान्सरका कारण १६ हजार ६७ जनाको ज्यान गएको छ ।

यस्तै सन् २०१५ मा प्रोटेस्ट क्यान्सरका कारण बेलायतमा ११ हजार ८ सय १९ पुरुषको ज्यान गएको छ । यो स्तन क्यान्सरका कारण हुने महिलाको मृत्यु भन्दा धेरै हो । स्तन क्यान्सरका कारण सन् २०१५ मा बेलायतमा ११ हजार ४ सय ४२ महिनाको ज्यान गएको छ ।

यस्तै सन् २०१५ मा स्तन क्यान्सरका कारण झण्ड ८० पुरुषको ज्यान गएको छ । तर पछिल्लो १० वर्षमा प्रोटेस्ट क्यान्सरका कारण हुने मृत्युको दर बढेको छ ।

तर प्रोटेस्ट क्यान्सर भएका पुरुषको बाँच्ने दरमा भने सन् २०१० देखि २०१५ को बिचमा ६ प्रतिशतले बढेको छ । यस्तै स्तन क्यान्सरका कारण हुने महिलाको मृत्युमा १० प्रतिशतले कमि आएको छ ।

माघ २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्