स्कूल र सुकुम्बासीबीच जग्गा लफडा

पत्रकार सम्मेलनमा आदर्श मावि, राँझाका पदाधिकारीहरु। तस्बिर: देशसञ्चार

नेपालगञ्ज – आदर्श मावि, राँझाले गायत्रीनगरस्थित विद्यालयको संरचना रहेको ठाउँ नजिकको खाली जग्गामा खेलकुद मैदान गराउन डोजर लिएर गयो। वरिपरि बसेका सुकुम्बासीले त्यहाँ खेलकुद मैदान बनाउन दिएनन्। टोली काम नगरी फर्कियो।

स्कूल र सुकुम्बासीका बीचको यो पछिल्लो लफडा हो। यसअघि कैयौपटक स्कूलका पदाधिकारीहरु आफ्नो जग्गा भन्दै जाँदा सुकुम्बासीहरुले लखेट्दै आएका थिए। स्कूलले आफ्नो बताइरहेको जग्गामा द्वन्द्वकालमा बिस्थापितहरु आएर बसेपछि लफडा हुँदै आएको छ।

गायत्रीनगरको कित्ता नम्बर १ को तीन विगाह ७ कठ्ठा १४ धुर, गयनपुरको कित्ता नं. ४५ को एक विवाह ११ कठ्ठा र ४९ नम्बर कित्ताको १२ कठ्ठा १५ धुरमा सुकुम्बासीले अतिक्रमण गरेका छन्। स्कूलको नाममा लालपूर्जा भएपनि द्वन्द्वकालमा बसेकाहरुले अतिक्रमण छोड्न नमानेको प्रधानाध्यापक प्रकाश आचार्य बताउँछन्।

‘खाली खाल्टो जग्गालाई पुरेर वडास्तरीय खेल मैदान गराउन जाँदा सुकुम्बासी भन्नेहरुले काम गर्न दिएनन्, अतिक्रमण छोड्न सार्वजनिक सूचना जारी गरेका वडाध्यक्ष कृष्ण कार्कीले भने, सुकुम्बासीका नाममा अधिकांश पहुँचवाला छन्।’

२००९ सालमा घरगोठबाट शुरु भएको स्कूलले २०१६ सालमा स्वीकृति पायो। स्कूल बनाउन अहम् भूमिका खेलेका राममिलन बर्मा नै गाउँ पञ्चायत अध्यक्ष हुँदा २०३६ सालमा उक्त ऐलानी जग्गा स्कूललाई दिएका थिए। त्योसहित स्कूलको नाममा नौ विगाह १८ कठ्ठा ५ धुर जग्गा दर्ता छ।

स्कूलको मुख्य भवन राँझाचोकमै छ। त्यहाँ साँघुरो भएपछि केही संरचना २०४४ सालमा गायत्रीनगरमा बनाइएको थियो। २०५० सालमा ती संरचना चोरी भए। त्यसपछि विद्यालय पुरै चोककै भवनमा सीमित रह्यो।

देशमा चलेको सशस्त्र द्वन्द्वका क्रममा विभिन्न ठाउँबाट आएका मानिसहरु खाली जग्गा देखेर त्यही बस्न थाले। प्रधानाध्यापक आचार्यका अनुसार, शुरुमा बसेकाहरु स्कूलको जग्गा थाहा पाएपछि अर्कोलाई बेचेर हिँडे। अहिले शुरुवाती चरणमा बसेका एक/दुई जनामात्रै छन्।

२०७१ सालमा सर्वेक्षण गर्दा ७१ घर रहेको त्यहाँ अहिले ८२ घरधुरी छन्। उनीहरुसँग जग्गाको कुनै प्रमाण छैन। त्यहाँ बाटो र विद्युत भने पुगेको छ। बाटो र विद्युत रोक्न स्कूल प्रशासनले धेरै कोसिस गरेपनि सकेको थिएन। ‘विद्यालयको जग्गामा बाटो र विद्युत नदिन पत्रचार पनि गरियो, सफल भएन, प्रअ आचार्यले भने।

सुकुम्बासीले आफूहरु बसेको जग्गा ऐलानी रहेको र स्कूलले पछि नक्कली लालपूर्जा निकालेको बताउँदै आएका छन्। पहिलो पूर्जा मुसाले खाएपछि २०६२ सालमा प्रतिलिपि निकालेको स्कूल प्रशासनको भनाइ छ।

स्कूल जग्गा खाली गर्न पटक–पटक सर्वदलीय बैठकहरु भए। सबैले स्कूलको जग्गा नै भन्छन्। अतिक्रमण हटाउन भने अगाडि सर्दैनन्।

‘राजनीतिक संरक्षण’ पाएका उनीहरु पनि बलियोसँग प्रतिवादमा उत्रिने गरेका छन्।

बाँकेकै पुरानो स्कूलमा पर्ने आदर्श माविले मल्टिपल क्याम्पसको अवधारणा अघि सारेको छ। जग्गाजतिमा सुकुम्बासी रहेपछि सफल हुन सकेको छैन। जिल्ला शिक्षा कार्यालयबाट भवन बनाउने पैसा आउँदा प्रहरी लगाएर आठ कोठे भवन बनाइएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको २० नम्बर वडामा पर्छ, राँझा। उपमहानगरपालिकाले पनि सरकारी ऐलानी जग्गाको संरक्षण गर्ने निर्णय गरेर अघि बढेको छ। लामो समयदेखि त्यहाँ रहेकालाई भने कसरी व्यवस्थापन गर्ने चुनौती छ। वडाध्यक्ष कार्कीले ८२ मध्ये मुश्किलले ३०/३२ घर सुकुम्बासी रहेको बताए।

माघ २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्