राष्ट्रियसभा चुनावका लागि राति १२ बजेदेखि मौन अवधि सुरु हुने

काठमाडौँ- बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेपछि मौन अवधि सुरु हुँदैछ।

मौन अवधि शुरू भएपछि चुनावी प्रक्रिया सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेदवार, राजनीतिक दलका पदाधिकारीहरू, नागरिक समाज, आम मतदाताले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसार गर्न पाउने छैनन्।

राष्ट्रियसभा चुनावका लागि स्थानीय तहमा निर्वाचित मेयर, उपमेर, अध्यक्ष, उपाध्यक्ष र प्रदेशसभाका सदस्य मतदाता छन्। निर्वाचन आयोगका अनुसार दुई हजार ५६ जना मतदता रहेका छन्।

निर्वाचन आयोगले आमसञ्चार माध्यमलाई पनि चुनावालाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन/प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण नगर्न आग्रह गरेको छ ।

मौन अवधिमा के के गर्न हुन्न ?

-निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने।

-मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।

-एस.एम.एस., फेसबुक, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।

-मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

माघ २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्