उत्तर कोरियाका संवैधानिक प्रमुख दक्षिण कोरिया जाने

उत्तर कोरियाका उच्चस्तरका नेता दक्षिण कोरिया जाने भएका छन् ।

यहि फेब्रुअरी ९ देखि दक्षिण कोरियाको प्योङच्याङमा हुने विन्टर (शीतकालीन) ओलम्पिकमा सहभागी हुने निर्णय गरेको उत्तर कोरियाले त्यस क्रममा हुन सक्ने तनाव कम गर्नका लागि देशका संवैधानिक प्रमुख किम योङ–नामलाई दक्षिण कोरिया पठाउने भएको हो ।

ओलम्पिकमा उत्तर र दक्षिण कोरियाले साझा झण्डामा मार्च गर्ने छन् । यो सहमति गएको जनवरीमा भएको उच्चस्तरीय वार्तामा भएको हो । त्यसअनुसारका दुई देशका महिला आइस हक्की टिमले तयारी पनि सुरु गरेका छन् ।

संवैधानिक प्रमुख योङ–नामले २२ सदस्यीय टोलीको नेतृत्व गर्ने छन् । उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण उसले अन्तर्राष्ट्रिय प्रतिबन्ध खेप्दै आएको छ भने यहि कारण दुई कोरियासहित जापान र अमेरिकासँग पनि तनाव छ ।

तर विन्टर ओलम्पिक दुई कोरियाबिचको तनाव कम गर्ने माध्यम बन्ने देखिएको छ ।

माघ २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्