प्रदेशसभा बैठकमा तीन तहमा सुरक्षा व्‍यवस्था

मोरङ- प्रदेश नम्बर एकको पहिलो प्रदेशसभा बैठक सोमबार दिउँसो विराटनगरको जिल्ला समन्वय समितिको भवनमा बस्दैछ।

बैठकका लागि सबै तयारी पुरा भइसकेको मोरङ्ग‌ जिल्ला प्रमुख रामप्रसाद आचार्यले जानकारी दिए। प्रमुख आचार्यका अनुसार, बैठकका लागि तीन तहमा सुरक्षा अवस्थालाई तैनाथ गरिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको एक सर्च टोली गरि तीन तहले बैठक अवधिभर सुरक्षा प्रदान गर्ने भएका छन्।

देवकोटा चौकस्थित भवनको बाहिरी चरणमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले सुरक्षा दिनेछ। प्रमुख आचार्यले भने, भवन बाहिरसंगै भवन रहेको कम्पाउण्ड भित्र पनि प्रहरी र सशस्त्रकै निगरानी रहनेछ। यसमा बाहिर गेटसम्मका लागि सिसिटीभि क्यामराको समेत व्‍यवस्था गरिएको छ।

बैठक हलभित्र सिमित सिट भएकाका कारण केही विशिष्ट व्‍यक्ति मात्रको उपस्थिति रहने बताइएको छ। यद्यपी, सभाका लागि आमन्त्रण गरिएका हरुका लागि कम्पाउण्ड भित्रै टेलिभिजन सेटमा बैठक हेर्न मिल्ने ब्यवस्था गरिने उनले जानकारी दिए। हलभित्र सिट संख्या सिमीत भएकाले निमन्त्रणा गरिएका हरुलाई हामीले बाहिर टेलिभिजनमा बैठक हेर्न सक्ने अवस्था बनाएकाछौ।

बैठक पूर्व नेपाली सेनाको एक टुकडीले भवनलाई सर्च गर्ने बताएका प्रमुख जिल्ला अधिकारी आचार्य भने, सेनासंगै समितिको कम्पाउण्डभित्र सञ्‍चारकर्मी, तथा निमन्त्रणा गरिएका ले मात्र प्रवेश पाउनेछन्।

बैठक हल परिषरमा कुल २४ जना पुरुष तथा महिला मर्यदापालकको उपस्थिती रहने जिल्ला प्रमुख आचार्यको भनाइछ। पालै पालो तालिमप्राप्त मर्यदापालकहरुले आफनो जिम्मेवारी बैठक हलभित्र निभाउनेछन्।

त्यसैगरी, सुरक्षाका लागि भवन परिषरमा कुल ३ सय ३० जना सुरक्षाकर्मी खटिनेछन्। जसमा नेपाल प्रहरीबाट २ सय १५ जना र सशस्त्र प्रहरी बलबाट १ सय १५ जना रहनेछन्। जसलाई पिकेट, हाइप्वाइन्ट गरि खटाइने मोरंग जिल्ला प्रहरी प्रमुख अरुण बीसीले जानकारी दिए। उनका अनुसार यसबाहेक प्रहरीले मोबाइल तथा बजारमा समेत प्रहरीलाई परिचालन गरेको छ।

त्यसैगरि, १ बजे बस्ने बैठकका लागि सभासदस्यसहित अन्य हरुले ११ बजेर ५५ मिनेटभित्र भवनमा प्रवेश गरिसक्नु पर्ने बताइएकोछ। बैठकलाई मध्यनजर गर्दै स्वास्थ्य उपचार टोली, एम्बुलेन्स तथा वारुणयन्त्रपनि तयारी अवस्थामा रहने बताइएको छ।

९३ जना सभासदस्यको पहिलो प्रदेश सभाको बैठकको सभामुख जेष्ठताको आधारमा ७४ वर्षिय ओमप्रकाश सरावगीले गर्नेछन्। जसमा प्रमुख राजनीतिक दलका पदाधिकारीले शुभकामना मन्तब्य राख्नेछन्। त्यसैगरि, बैठकले सभामुख तथा उपसभामुखको निर्वाचन मिति क्रमश माघ २९ र फाल्गुन ३ गतेका लागि तोक्नेछन्।

माघ २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्