प्रदेश चारको सभामुख फागुन ३ मा छानिने

कास्की-प्रदेश ४ प्रदेशसभाको सभामुख चयनका लागि फागुन ३ गते निर्वाचन हुने भएको छ। सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकले सभामुख निर्वाचनको मिति तय गरेको हो।

प्रदेशसभामा वाम गठबन्धनको बहुमत छ। वाम गठबन्धनमा भएको भागवण्डामा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रको भागमा परेको छ।

प्रदेश नम्बर ४ को संसदमा ६० जना प्रदेश सभा सदस्य छन्। ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिकबाट चयन भएका सांसद हुन्।

प्रदेश सभामा एमालेको २७, कांग्रेसको १५, माओवादीको १२, राष्ट्रिय जनमोर्चाको ३, नयाँ शक्तिको २ र एक राजीव गुरुङ उर्फ दीपक मनाङे स्वतन्त्र सांसद छन्।

यस्तै सभामुखको भूमिकामा रहेका ज्येष्ठ सांसद जनकलाल श्रेष्ठले प्रदेश प्रमुखले पठाएको पत्र पढेर सुनाएलगत्तै प्रदेश सभा सञ्चालन अन्तरिक कार्यविधि पारित गरिएको थियो। त्यही कार्यविधिमा टेकेरै बैठक सञ्चालन गरिएको थियो। प्रदेशसभाको बैठकले सभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि अध्यक्ष मण्डल चयन गरेको छ।

बैठकमा प्रदेश नम्बर ४ मा प्रतिनिधित्व गर्ने ५ दलका ११ जनाले बोलेका थिए । एमालेका ३, कांग्रेसका ३, माओवादी केन्द्रका ३, जनमोर्चा १ र नयाँशक्तिका १ सांसदले भनाइ राखे। सोमबार बस्ने प्रदेश ४ को पहिलो सभामा ठूलो पार्टीबाट क्रमश सानो पार्टीलाई बोल्न दिइएको थियो । पार्टीको आकार अनुसार संसदमा बोल्ने वक्ताको समय तोकिएको हो। ठूलो दल एमालेले सबैभन्दा बढी ३० मिनेट पायो । एमालेबाट सांसद पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ र सिर्जना शर्माले संसदमा आफ्नो भनाइ राखे।

दोस्रो दल कांग्रेसका सांसदलाई बोल्ने समय १७ मिनेट पाए । कांग्रेसबाट कृष्णचन्द्र नेपाली, दोबाटे विक र ललितकला गुरुङ संसदमा भनाइ राखे । तेस्रो दल माओवादीलाई १४ मिनेट बोल्ने समय पायो । माओवादीबाट नेत्र अधिकारी, हरिबहादुर चुमान र गायत्री गुरुङले संसदमा मन्तव्य राखे । साना दल नयाँ शक्ति र जनमोर्चालाई ५/५ मिनेट पाए ।

नयाँ शक्तिका हरिशरण आचार्य र जनमोर्चाका कृष्ण थापाले संसदमा भनाइ राखेका थिए। बाहिरबाट हेर्दा निकै आकर्षक बैठक भवन केही साँगुरो भएका कारण आगन्तुक पाहुना र पत्रकारलाई समेत केही असहज भएको थियो।

माघ २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्