प्रचण्डले भने, ‘देवघाटलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय स्थल बनाउनु पर्छ’

देवघाटमा सोमबार पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर: देशसञ्चार

चितवन: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देवघाटलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने प्रस्ताव गरेका छन्। कम्युनिष्ट नेता भएकाले धर्मप्रति आस्था नभए पनि दाहालले देवघाटलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक स्थल बनाउने प्रतिबद्धता जनाएका हुन्।

चितवनको गलेश्वर आश्रमद्धारा आयोजित विराट धनधान्याञ्चल ज्ञान महायज्ञ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देवघाटको ऐतिहासिक महत्वलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘देवघाटको सम्बन्ध ईतिहास, पौराणीककाल र परम्परासँग छ। देशको आर्थिक मरुदण्ड भनेको पर्यटन भएकोले देवघाटलाई अन्तराष्ट्रिय पर्यटकीय केन्द्र बनाउन बामपन्थी सरकारले आवश्यक काम गर्नेछ,’ प्रचण्डले भने।

अध्यक्ष प्रचण्डले देवघाटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउनुपर्ने र देवघाटसँग जोडिएका चितवन र नवलपुरलाई समेत यसले आर्थिक टेवा पुग्ने उल्लेख गरे।

चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका दाहालले देवघाट क्षेत्रको विकासका लागि भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

दाहालले भने, ‘म चितवनको जनप्रनिधि भएकाले देवघाट क्षेत्रको विकास र समृद्धिको निम्ति भूमिका निर्वाह गर्नेछु । यहाँको समस्या समधान गर्न सरकारसगँ समेत छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

माघ २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्