अष्टलक्ष्मीले तीनपटक भनेपछि मुख्यमन्त्री बन्न तयार भएको हुँ : राजेन्द्र पाण्डे

काठमाडौँ- प्रदेशसभाको अधिवेशन सुरु भएसँगै अब मुख्यमन्त्रीको चर्चा सुरु हुन थालेको छ। दुई नम्बर प्रदेशबाहेक अरु ६ वटा प्रदेशमा सरकार बनाउने अवस्थामा रहेका एमाले-माओवादीले कुन प्रदेशमा कसले मुख्यमन्त्री पाउने टुंगो लगाइसकेका छन्।

दुई दलबीच १, ३, ४ र ५ नम्बर प्रदेशको मुख्यमन्त्री एमालेले लिने र ६ र ७ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउने सहमति भइसकेको छ। दुई दलले भागबण्डा मिलाए पनि दलभित्र भने मुख्यमन्त्रीका लागि कडा प्रतिस्पर्धा सुरु भएको छ।

विशेषगरी एमालेभित्रको प्रतिस्पर्धा रोचक विन्दुमा पुगेको छ। ३ नम्बर प्रदेशको मुख्यमन्त्रीमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे मुख्यमन्त्रीको दौडमा छन्। लामो समय शाक्य र पाण्डे दुवै जना माधव नेपाल गुटमा रहे पनि पाण्डे पछिल्लो समय अध्यक्ष केपी ओलीसँग नजिकिएका छन्। यसका कारण पाण्डे आफू नै मुख्यमन्त्री हुनेमा विश्वस्त छन् भने शाक्य पनि पार्टी उपाध्यक्ष नै भएकाले मुख्यमन्त्री आफूले नै पाउने बताइरहेकी छिन्। मुख्यमन्त्रीका आकांक्षी पाण्डेसँग प्रकाश ढकालले यी विषयमा कुराकानी गरेका छन्।

मुख्यमन्त्रीमा तपाईँको दाबी किन?

म चारपटक सांसद हुँदै सचेतक प्रमुख सचेतक भइसकेको छु। स्थानीय विकासमन्त्री पनि भइसकेको छु। १० वर्षसम्म पार्टीको स्थानीय निकाय विभाग प्रमुख भएर द्वन्द्वको समयमा पनि देशभर अभियान चलाएको थिएँ। संसदीय अभ्यास र विकासका मामिलामा मेरो अनुभव छ। २०४८ सालदेखि संसदको कार्यव्यवस्था समितिमा रहेर सभामुखलाई निरन्तर सल्लाह दिने एक मात्र व्यक्ति मै हुँ। कानुन निर्माण प्रक्रियामा मेरो अनुभव छ। विकास सवालमा पनि मैले राम्रो गर्न सक्छु। यी सबै हिसाबले मेरो अनुभव र योग्यतालाई सदुपयोग गर्न मुख्यमन्त्रीमा दाबेदार प्रस्तुत गरेको हुँ।

यति धेरै अवसर पाइसकेको व्यक्तिले एकपटक अरुलाई मौका दिए हुँदैन?

पहिलो कुरा धेरै अवसर पाएको मान्छे नै अनुभवी हुन्छ नि। त्यही अनुभवीले देश चलायो भने पो चल्छ। कोरा मान्छेलाई एकैपटक जिम्मेवारी दिएर कसरी चल्न सक्छ। एकैपटक मैदानबाट आएर जिम्मेवारी पाउने व्यक्ति प्रचण्ड मात्र हुन्। उनी सिधै प्रधानमन्त्री बने। अरुमा त्यस्तो क्षमता नहुन सक्छ। त्यसकारण सुरुवाती अवस्थामा रहेको संघीयता चलाउन अनुभवी व्यक्ति नै चाहिन्छ। दोस्रो कुरा जोसँग निर्णय क्षमता छ उसले सञ्चालन गर्न सक्छ। तेस्रो कुरा जसले विकासका विषय बुझेको छ, उसले नै जिम्मेवारी पाउनुपर्छ। किनकि अब केन्द्रमा जम्मा १५ वटा मात्र मन्त्रालय हुन्छ। विकासका अधिकांश काम बीचको प्रदेश सरकारले नै गर्नुपर्छ। प्रदेश सरकारले केन्द्रलाई सहयोग गर्ने र केन्द्रले हस्तान्तरण गरेका कार्यक्रमहरु सञ्चालन गर्ने गर्छ।

अष्टलक्ष्मी शाक्य र तपाईंले एउटै पदमा आकांक्षा देखाउँदा निर्णय गर्न गाह्रो पर्ने भो होइन?

तपाईँ प्रदेशसभामा जानुहोस्। मुख्यमन्त्री बन्नुपर्छ भनेर एकपटक होइन, तीनपटक भन्ने व्यक्ति उहाँ नै हो। म उहाँले नै भनेर प्रदेशसभाको उम्मेदवार भएको हुँ। उहाँ स्थायी कमिटीमा हुनुहुन्छ, मलाई प्रदेशमा किन पठाउनुभयो? मेरोबारे निर्णय नै नगरेको हुन्थ्यो नि। टिकट नपाएको व्यक्ति धेरै हुनुहन्छ पार्टीमा। म पनि त्यसका लागि तयार थिएँ। तर, उहाँ आफैँले म त्यो अप्ठेरो झमेला बोक्न तयार छैन। तपाईं जानुहोस्, तयार हुनुहोस्, त्यसका लागि योग्य व्यक्ति तपाईँ नै हो भनेर भन्ने उहाँ(अष्टलक्ष्मी) नै हो। अहिले त उहाँले मैले त्यसो भनेको छैन भनेर पनि भन्नु होला।

मुख्यमन्त्रीका लागि तपाईंले पार्टीमा गुट परिवर्तन गरेर नेपाल खेमाबाट संस्थापन खेमा जानुभयो?

यति बेला एमालेमा गुट नै छैन। हामी दुईवटा पार्टी मिल्ने भन्दैछौं। अब गुट नै छैन। दुईवटा पार्टी त एक हुने भन्ने बेलामा आफ्नै पार्टीभित्र को कता हो भनेर बत्ती बालेर खोज्ने बेला हो र? गुट सुट छैन, त्यही लेखिदिनुहोस्। एमालेको अध्यक्ष केपी ओली हुनुहुन्छ। भावी प्रधानमन्त्री उहाँ नै हो। उहाँलाई सहयोग गर्न म मुख्यमन्त्री बन्न खोजेको हो। माधव नेपाल पार्टीको नेतृत्वमा हुँदा उहाँलाई नै सहयोग गर्थेँ। झलनाथ खनाल अध्यक्ष हुँदा उहाँलाई नै सहयोग गरेँ। अहिले केपी ओली अध्यक्षलाई सहयोग नगरेर पदमै नभएको व्यक्तिलाई सहयोग गर्छु भन्दै कहाँ खोजेर हिडौँ? त्यसकारण पार्टी अध्यक्षको निर्देशनअनुसार हिँड्नु कुनै अपराध होइन। त्यो सही काम हो।

हेटौंडामा तोकिएको अस्थायी राजधानी के गर्नुहुन्छ? त्यही रहन्छ कि सार्ने सोचमा हुनुहुन्छ?

३ नम्बर प्रदेशको अस्थायी राजधानी अव्यवाहारिक छ। कोल्टो ठाउँमा परेको छ। स्वयम् हेटौंडाका साथीहरु नै राजधानी रहन्छ कि रहँदैन भन्नेमा दुविधामा हुनुहुन्छ। चितवनका साथीहरु पनि हेटौँडाको पक्षमा छैनन्। अप्ठेरो भएको छ। दुईपटक बैठक बस्दा गुरुरु कुदेर काठमाडौंदेखि गइयो। बैठक बस्यो। चिया खायो अनि फेरि लाइन लागेर फर्कियो।

तपाईंको भनाइअनुसार त फेरि काठमाडौंमै राजधानीमाथि राजधानी बन्ला जस्तो पो देखियो?

यहीँ त होइन। तर, आसपासका क्षेत्र हेरेर बस्नुपर्छ। धादिङ पनि अव्यवाहारिक हुन्छ। पूर्वाधार निर्माणको हिसाबले सानो ठिमी उपयुक्त हुन सक्छ। त्यस ठाउँमा गरियो भने अहिले राष्ट्रको सम्पत्ति खेर जाँदैन। किनकि त्यहाँ केही पूर्वाधार छन्। नयाँ ठाउँमा जानेबित्तिकै धेरै खर्च हुन्छ। पाँच वर्ष आफ्ना लागि पूर्वाधार निर्माणभन्दा जनताका लागि खर्च गर्नुपर्छ।

एमाले र माओवादीको एकता कहाँ रोकिएको छ ? अपेक्षाअनुसार किन अघि बढेन ?

एकताका लागि प्राविधिक समस्या छन्। माओवादीका सबै संरचना भद्दा खालका छन्। धेरै कुरा मिलाउनु पर्छ। मापदण्ड तय हुनुपर्छ। चुनावले मापदण्ड तय हुँदै गएको छ। प्रदेश र प्रतिनिधिसभाको चुनावमा ६०/४० प्रतिशत भयो। राष्ट्रियसभामा ७०/३० भयो। अब बिस्तारै मापदण्ड विधि तय हुँदै गएका छन्। पार्टी एकता हुन्छ। माले र मार्क्सवादीको एकता हुँदा पनि विभिन्न समस्या देखिएका थिए। तर, त्यसबेला मनमोहन अधिकारी र मदन भण्डारीले साहसिक निर्णय लिनुभयो। अहिले पनि नेतृत्वले उपयुक्त निर्णय लिन्छ।

माघ २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्