अमेरिकी शेयर बजारमा भारी गिरावट, आर्थिक मन्दीमा भन्दा पनि बढी घट्यो

अमेरिकी शेयर बजार डाउ जोन्समा भारी गिरावट आएको छ । सोमबार डाउ जोन्स शेयर बजार बन्द हुँदा ११ सय ७५ अंकको गिरावट आएको हो । यो सन् २००८ को आर्थिक संकटपछि एकै दिन शेयर बजारमा आएको सबैभन्दा ठूलो गिरावट हो ।

डाउ जोन्स शेयर बजारमा ४.६ प्रतिशत गिरावट आएको दिन सोमबार बन्द हुने बेला शेयर अंक २४, ३४५.७५ रह्यो । सन् २००८ को आर्थिक मन्दीका बेला डाउ जोन्समा ७७७.६८ अंकको गिरावट आएको थियो ।

सोमबार एस एण्ड पी ५०० शेयर बजार परिसूचकमा ३.८ तथा नेस्डेकमा ३.७ प्रतिशतको गिरावट आयो । अमेरिकी शेयर बजार पछिल्लो केही महिनादेखि लगातार बढ्दै गएको थियो । त्यसले पनि चिन्ता थपेको थियो ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले देशको दीर्घकालीन अर्थतन्त्रको सुधारमा राष्ट्रपति डोनाल्ड ट्रम्पको ध्यान रहेको र त्यसका लागि काम भइरहेको बताएको छ ।

इनभेस्टमेन्ट बैंक लेह्म्यान ब्रदर्शलाई फेरि उकास्नका लागि कांग्रेसले ७०० बिलियन सहयोग गर्ने प्रस्ताव ल्याउने तयारी गरेपछि शेयर बजारमा भारी गिरावट आएको हो ।

माघ २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्