बसको ठक्करबाट विद्यार्थी नेताको मृत्यु, विद्यार्थी आन्दोलित

घटनाको विरोधमा आन्दोलित विद्यार्थी । तस्बिर : जमुना वर्ष शर्मा/देश सञ्चार

पोखरा – पोखराको बगरमा नगरबसले ठक्कर दिँदा नेपाल विद्यार्थी संघ स्याङ्जा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापतिको मृत्यु भएको छ ।

सोमबार बेलुका भएको दुर्घटनामा स्याङ्जा आँधीखोला गाउँपालिका घर भई पोखरा बगर बस्दै आएका २४ वर्षका बोधराज ढकालको मृत्यु भएको हो ।

ग १ ख ३८३६ नम्बरको बसले बाटोमा हिँडिरहेका ढकाललाई पछाडिबाट ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । बस र चालकलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

गम्भीर घाइते ढकालको गण्डकी मेडिकल कलेजमा उपचार गर्न लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको थियो । मणिपाल अस्पतालमा पु¥याएपछि उनको मृत्यु भएको प्रहरीको भनाई छ ।

घटनामा बसका स्टाफ र चालकको गम्भीर गल्ती रहेको भन्दै नेविसघंका विद्यार्थीआन्दोलित भएका छन् । प्रत्यक्षदर्शी विद्यार्थी बी.बी. बिष्टका अनुसार पृथ्वीनारायण क्याम्पस परिसरमा दोहोरो ढुङ्गा हानाहान भएको छ ।

घटनाको बिरोधमा उत्रिएका ५ जना विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेपछि विद्यार्थी झन आन्दोलित बनेको बिष्टले बताए । एक विद्यार्थी घाइते भएका छन् ।

नेविसंघका केन्द्रीय सदस्य भानु ढकालले दोषीलाई कारवाहीको माग गर्दै शान्तिपूर्ण आन्दोलन गरेका विद्यार्थीलाई प्रहरीले धरपकड गरेपछि विद्यार्थी थप आन्दोलित बनेको बताए ।

माघ २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्