अमेरिकाका प्रभावशाली सैन्य अधिकारी बिहीबार नेपाल आउने

काठमाडौं – अमेरिकी सेनाका प्यासिफिक कमाण्डर रोबर्ट बी. ब्राउन बिहीबार नेपाल भ्रमणमा आउने भएका छन् ।

नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीको निमन्त्रणामा ब्राउनले नेपालको तीनदिने भ्रमण गर्न लागेका हुन् । नेपाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल गोकुल भण्डारीले ब्राउन नेतृत्वको अमेरिकी सैन्य टोली भ्रमणमा आउन लागेको बताए ।

‘यहाँ रहँदा अमेरिकी सैन्य अधिकारीको उच्चस्तरीय भेटवार्ता हुनेछ’ उनले देशसंचारसँग भने । भ्रमणबारे विस्तृत जानकारी पछि दिइने प्रवक्ता भण्डारीले बताए ।

अमेरिकी सैनिक अधिकारीको उच्च प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, रक्षामन्त्री भीमसेनदास प्रधान र प्रधानसेनापति क्षेत्री लगायतसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाल आउन लागेका ब्राउन अमेरिकी सेनाका फोर स्टार जनरल हुन् । उनी अप्रिल ३०, २०१६ मा युएस प्यासिफिकका कमाण्डर नियुक्त भएका थिए । त्यसअघि सन् २०१४ देखि उनी अमेरिकी सेनाको कमबाइन्ड आम्र्स सेन्टरका कमान्डिङ् जनरल थिए ।

अमेरिकाले चीनसँगको बढ्दो रणनीतिक, सामरिक, सैनिक तथा आर्थिक प्रतिस्पर्धाबिच एसिया तथा प्रशान्त क्षेत्रमा आफ्नो प्रभाव बढाउँदै लैजाने रणनीति अख्तियार गरेको देखिन्छ ।

चीनको बढ्दो प्रभावलाई ‘काउन्टर’ गर्न अमेरिकाले एसियामा आफ्नो उपस्थिति सशक्तपार्दैै लैजाँदा अमेरिकी सैन्य र सामरिक सहयोग पनि यस क्षेत्रमा बढ्दो छ । भारतलाई अमेरिकाले यस क्षेत्रको आफ्नो मुख्य सहयात्रीमानेको स्थिति छ ।

चीनलाई काउन्टर गर्न चीनसँग सीमा जोडिएका नेपाल लगायतका साना मुलुकलाई पनि अमेरिकाले रणनीतिक उपयोग गर्ने रणनीति लिएको देखिन्छ । अमेरिकाले यही वर्ष मात्र मिलिनियम च्यालेन्ज कर्पोरेशन अन्र्तगत नेपाललाई ५० अर्ब नेपाली रुपैयाँ सहयोग घोषणा गरेको छ ।

जसमा अमेरिकाको आफ्नै रणनीति स्वार्थ छ । उक्त ५० अर्ब रुपैयाँको सहयोग परिचालनका लागि अमेरिकाले भारतसँग मिलेर नेपालमा काम गर्ने सहमति विगतमा भइसकेको छ ।

केही महिनाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ‘इन्डो प्यासिफिक’ क्षेत्रसँगको सम्बन्धलाई उच्च महत्वदिएको बताएका थिए ।

विगतमा यस क्षेत्रलाई ‘एसियाप्यासिफीक’ क्षेत्र भन्ने गरे पनि भारतसँगको बढदो रणनीतिक, सामरिक निकटताका बिच अमेरिकाले ‘इन्डो प्यासिफीक’ भन्न थालेको हो । चीनलाई हेर्ने सवालमा अमेरिका, भारत र युरोपेली युनियनबिच धेरै विषयमा समानता देखिने गरेको छ ।

अमेरिकाले नेपाली सेनालाई तालिम, विप व्वस्थापनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ । नेपाली सेना र अमेरिकी सेनाबिच केही वर्षयता सैन्य अभ्यास समेत भइरहेका छन् ।

उदाउँदा अर्थतन्त्रहरु चीन र भारतकाबिचमा रहेको नेपालको भूराजनीतिकमहत्वलाई ह्रदयंगम गरी अमेरिकी सेनाका उच्च अधिकारीको नेपालमा भ्रमण बाक्लिन थालेको देखिन्छ ।

अघिल्लिो वर्ष नेपाली सेनाकै निम्तोमा अमेरिकी प्यासिफिक कमान्डका एडमाइरल ह्यारी बि. ह्यारिस नेपाल भ्रमणमा आएका थिए ।

उनले अमेरिकी सेनाले आयोजना गरेको ‘मल्टि न्यासनलपिस किपिङ् एक्सरसाइज—शान्तिप्रयास—३’ को उदघाटन गरेका थिए । अमेरिकी सेना र नेपाली सेनाको संयुक्त आयोजनामा वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्र पाँच खालमा सम्पन्न उक्त बहुराष्ट्रिय सैन्य अभ्यासमा २८ देश सहभागी थिए ।

माघ २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्