म ढुक्क छु, मुख्यमन्त्री म नै बन्छु: भीम आचार्य

भीम आचार्य। फाइल तस्बिर

प्रदेश नम्बर एकको मुख्यमन्त्रीको विषय शुक्रबार टुङ्गो लाग्ने छ। त्यसयता मुख्य प्रतिस्पर्धी भीम आचार्य र शेरधन राई यसका लागि आआफ्नो स्थान सुनिश्चित गर्न लागि परेका छन्।

चौतर्फी हल्ला गर्दै, सार्वजनिक रुपमा कराउँदै मुख्यमन्त्री नहुने बुझेका आचार्यले आलोकाँचो कामभन्दा पक्का र ठोस काम गर्न आफू ढृढ रहेको बताएका छन्। देशसञ्चारका अभयकुमार राईले मङ्गलबार आचार्यसँग गरेको संवाद:

संसदीय दलको नेताका लागि अब निर्वाचन हुने नै भयो?

हामीले संसदीय दलको नेताका लागि शुक्रबार निर्वाचनको मिति तोकेका छौँ। तर, मलाई आशा छ त्यसअघि नै हामीबीच सहमति बन्नेछ। मेरा प्रतिस्पर्धीले मलाई सहयोग गर्नुहुनेछ।

सहमति नभए के हुनेछ?

सहमति नभए निर्वाचनको विकल्प हुन्न। लोकतन्त्रको एउटा सुन्दर अभ्यासलाई एडप्ट गर्नेछौँ जसमा मेरो नै जित हुनेछ। फेरि अर्को कुरा निर्वाचन नै हुँदा आकाश नै खस्छ भन्ने पनि त होइन। लोकतान्त्रिक पार्टी हो। यसलाई भारी भरकम रुपमा लिनु आवश्यक पनि देख्दिनँ।

निर्वाचनपूर्व नै तपाई निश्चिन्त हुनुहुन्छ ?

म ढुक्क छु। किनभने संसदीय दलको निर्वाचनका क्रममा सहमति बन्ने छ। मुख्यमन्त्रीमा आकांक्षा राख्नुलाई अस्वाभाविक म ठान्दिन। तर, अन्तिममा सबै कुरामा समझदारी राखेर उहाँहरुले सुझबुझ पुर्‍याएर दाबी छाड्नु हुनेछ भन्ने विश्वास लिएको छु।

निर्वाचनका क्रममा मुख्यमन्त्रीमा तपाईँको दाबेदारी आएन, भोजपुरबाट शेरधन राई एक्लैले दाबेदारी प्रस्तुत गरेका थिए नि?

यसलाई कसरी बुझौँ भने हरेक काम बुद्धिमतापूर्वक गर्नु उचित हुन्छ। यो भनेको पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा हो। पार्टी एउटा पद्धति अनुसार चल्छ। निर्वाचनपूर्व उत्ताउलो हुँदै वा अत्तालिएर सबैचिज गर्दै हिँड्नु उचित होइन। एउटा परिपक्व नेताले त्यसो गर्नुहुन्न भन्ने मलाई लाग्छ। त्यसैकारणपनि मैले अगाडिदेखि यस्तो दाबी गरिनँ। परिपक्व नेता जसले सरकार हाँक्छु भनिराछ, त्यसले कहिल्यै अपरिपक्व काम गर्दैन।

मुख्यमन्त्रीको दाबेदारी अगाडिबाट आउनु आलोकाँचो वा अपरिपक्व प्रतिस्पर्धीको भनाइ हो भन्ने बुझाइ होे तपाईँको?
म त्यसो भन्न चाहान्न। तर, परिपक्व नेताले परिपक्वताका साथ अघि बढ्नुपर्छ।

करिब पाँच महिना पुगिसेको छ, एकीकरणको नारा दिएको दुइ बामघटकबीच। किन विलम्ब भइरहेको छ? एमालेले दुवै पद छाड्न नसकेको हो?

हैन हैन। दुई पार्टी एक हुने नै हो। तथापि दुवै पार्टीको आआफ्नो फरक विचार सिद्धान्त छ। यसलाई विचार गर्नुपर्छ। एकता वा एकीकरण एकैदिनमा हुने कुरा पनि होइन। एकैदिनमा यो कार्य हुँदा आलोकाँचो काम हुनेछ। आज अपरिपक्व रुपमा एक हुँदा भोलि नतिजा विवादास्पद हुनसक्छ। त्यसलै विवाद नआओस् भन्न समय लागेको हो। यहाँ अब टाउको जोड्न मात्र बाँकी अवस्था हो। एकतालाई लिएर कार्यकर्तामा उत्साह छ। कुराकानी बढिरहको छ। यहाँबाट पछि हट्ने अवस्था दुवै पार्टीलाई छैन।

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण कतिको फलदायी रह्यो नेपालका लागि?

यस भ्रमणलाई हामीले सकारात्मक रुपमा लिएका छौँ। नाकाबन्दी लगाउँदादेखिको तिक्तता यसले मेटाउने अपेक्षा छ।

हिजो नाकाबन्दी लगायो भारतले भन्दै अभिब्यक्ति दिने, आज स्वागत त्यो पनि कुनै कार्यक्रम विशेषबिना?
हिजोको परिस्थितीमा नाकाबन्दी लगाएकै हो, त्यसमा दुईमत छैन। तर, आज हामी बलियो भएका छौँ। भारत कमजोरलाई न्याक्न खोज्छ र बलियोसँग हात मिलाउन खोज्छ। भएको यत्ति हो। वर्तमान परिस्थितिमा हामी बलियो भएका छौँ। हामीसँग भारत सहकार्य गर्न इच्छुक छ। अर्को कुरा हामीसँग सम्बन्ध भारतले बिगारेको हो। हामीले भारतसँग सम्बन्ध बिगारेको होइन्। सम्बन्ध बिग्रनुमा हाम्रो कारण केही छैन।

माघ २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्