विद्यार्थी,व्‍यावसायी र प्रहरीबीच सात बुँदे सहमति, सन्ध्‍याकालिन बसमा पनि छुट

कास्की-पोखराको बगरमा २२ गते सोमबार साँझ नगरबसले ठक्कर दिएर मृत्यु भएका नेविसंघ स्याङजा पोखरा सम्पर्क समितिका सभापति बोधराज ढकालको बिषयलाई लिएर भएको आन्दोलन सात बुँदे सहमतिपछि निष्कर्षमा पुगेको छ। बुधबार जिल्ला प्रहरी कार्यालयमा भएको त्रिपक्षीय छलफलमा सात बुँदे सहमति पछि निष्कर्षमा पुगेको हो।

सहमतिमा चालककै लापरबाहीले दुर्घटना भएको भन्दै कानुन अनुसार चालकलाई हदैसम्मको कारबाही गर्ने, मृतकको परिवारलाई उचित राहत उपलब्ध गराउने बिषय उल्लेख छ। मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउने, विद्यार्थीलाई सन्ध्याकालिन समयमा पनि छुटको व्‍यवस्था गर्ने सहमति भएको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले जानकारी दिए।

साँझमा विद्यार्थी सहुलियत नपाए उजुरी गर्ने निकायको सम्पर्क नम्बर सहितको बोर्ड हरेक नगरबसले झुण्ड्याउनुपर्ने नियम समेत बनाईएको छ । पिएन क्याम्पसको गेटअगाडी हुने पार्किङ तत्काल हटाउने, आन्दोलनका सबै घाईतेलाई उपचार गराउने विषयमा समेत सहमति भएको छ।

घटनाको विषयलाई लिएर मंगलबार विद्यार्थीहरुको प्रदर्शनले बगर क्षेत्र तनावग्रस्त भएको थियो। त्यसपछि संयुक्त विद्यार्थी संगठनले विज्ञप्ती जारी गरी घटनाबारे थप छानवीनको मागकालागि दवाव सृजना गर्न अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका थिए । अहिले पोखराको नगर बस चल्न थालेका छन्।

त्रीपक्षीय छलफलमा जिल्ला प्रहरी कार्यालय, संयुक्त विद्यार्थी आन्दोलन समिति र बस ब्यवसायी समितिले सहमतिपत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन्। सहमति पछि आजै मृतकका परिवारले शव बुझ्ने र आजै दाहसंस्कार हुने पारिवारीक श्रोतले बताएको छ।

सम्बन्धित समाचार 

बसको ठक्करबाट विद्यार्थी नेताको मृत्यु, विद्यार्थी आन्दोलित

माघ २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्