दुई बामबीच मन मिल्न बाँकी, चाल मिल्न बाँकी: ईश्वर पोखरेल

काठमाडौँ- गत असोज १७ गते नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गर्ने सहमतिका साथ वाम गठबन्धन बनाए र चुनावमा उत्रिए।

गठबन्धनले चुनावमा सुविधाजनक बहुमत पनि पायो। तर चुनाव यता पार्टी एकता प्रक्रियामा ठोस प्रगति भएको देखिँदैन।

नेतृत्व पंक्तिले एकता जसरी पनि हुन्छ भन्ने दाबी गरिरहे पनि त्यसले मूर्तरुप लिन सकेको छैन। भारतीय विदेशमन्त्री सुषमा स्वराजको पछिल्लो नेपाल भ्रमणपछि त एकता प्रक्रियालाई लिएर थप आशंका उब्जिएको छ, राजनीतिक वृतमा।

एकताको गृहकार्यका लागि गठन गरिएको एकता संयोजन समितिका सदस्य एवं एमाले महासचिव ईश्वर पोखरेलले देशसञ्चारकी दीपा दाहालसँग एकता प्रक्रियाको अवस्थादेखि भारतीय विदेशमन्त्री सुषमा स्वराजको नेपाल भ्रमणको यथार्थसम्मका विषयमा कुराकानी गरेका छन्।

वाम एकतामा प्राप्त उपलब्धि कम छैनन्

निर्वाचनभन्दा ठिकअघि हामीले चुनावी तालमेलको औपचारिक घोषणा गरेका थियौं। त्योसँगै पार्टी एकता पनि गर्छौ भन्ने घोषणा हाम्रो हो। त्यसलाई सार्थक तुल्याउन हामीले घोषणापत्र एउटै बनाएका थियौं र उम्मेदवार पनि समझदारीका साथ तय गरेका थियौं।

प्रतिनिधिसभाका एक सय ६५ र प्रदेशसभाको तीन सय ३० सिट तय भएको थियो। यी दुई वटै सिटका लागि क्षेत्र विभाजन पनि समझदारीमा भयो। एकता लागि पार्टी एकता संयोजन समिति पनि बन्यो। त्यो समितिले धेरै मेहनेत गरेर एमाले र माओवादीलाई ६०-४० सिट भाग लगायो। एउटा पार्टीभित्रै त को कहाँ बस्ने भन्ने टुंगो लगाउन समस्या हुन्छ भने दुई ठूला पार्टीकाबीचमा त्यो सिट तय गर्न धेरै मुस्किल थियो, त्यसमा हामी सफल भयौं।

त्यसले नै देखाउँछ कि वाम एकताको चाहना यो गठबन्धनमा छ। आफ्नो भाग खोसिएको भए पनि कुनै पनि नेतामा असन्तुष्टि पैदा भएन। त्यसले नै स्पष्ट पारिसकेको छ कि मुलुकमा वाम एकता हुनु जरुरी छ। निर्वाचनमा एकतावद्ध भएर संयुक्त कमिटी परिचालन गर्‍यौँ। दुई वटा पार्टीका कार्यकर्ता भए पनि एउटै पार्टीको जस्तो गरी हामी चुनावमा लागेका थियौं।

एकअर्कालाई सहयोग पर्याप्त मिल्यो। चुनावी परिणाम पनि त्यसै अनुसार आएको छ। त्यसपछि हामीले पार्टी एकतामा समय दिनु पर्ने हो तर राष्ट्रियसभा सदस्य चुनावका लागि हामीले त्यसैगरी गृहकार्य गर्नु थियो र प्रदेश सरकार पनि गठन गर्नु थियो। त्यसका लागि गठन गरिएको कार्यदलले सफलतापूर्वक काम गरेको छ। प्रदेश सरकार गठनमा पनि एमाले र माओवादी निकै व्यवस्थित तरिकाले अघि बढेका छन्।

एकतालाई निष्कर्षमा पुर्‍याउन मन र चाल मिल्न बाँकी

एकतालाई निष्कर्षमा पुर्‍याउन मन र चाल मिल्न बाँकी छ। त्यसका लागि समय लाग्छ र लगाउन पनि जरुरी छ। स्पष्ट भन्नु पर्दा विचारको व्यवस्थापन र संगठनको पुनर्संरचनाको काम बाँकी नै छन्।

विचारका विषयमा फरकफरक पृष्ठभूमिका पार्टी र त्यसका नेताहरुको विचार पनि अलगअलग छन्, त्यो स्वाभाविक पनि हो। तर पार्टी एकताका लागि विचार एउटै हुनुको विकल्प छैन। त्यसैले अबको एकीकृत पार्टीले कस्तो विचार अवलम्बन गर्छ भन्नेमा व्यापक छलफल हुन बाँकी नै छ।

एकीकृत पार्टीका नेता तथा कार्यकर्ता कसरी चल्ने, संगठन कसरी बन्ने, पार्टी परिचालन वा जन परिचालन कसरी गर्ने, राज्य सञ्चालन कसरी गर्ने भन्ने जस्ता विषयमा एमाले र माओवादीका नेता तथा कार्यकता एकै ठाउँमा उभिएर समान धारणा गराउनु जरुरी छ।

संगठन पुनर्संरचनाका विषयमा एकताका लागि दुई पार्टीको संगठनहरुको पुर्नसरचना हुन बाँकी छ। माओवादी केन्द्रका चार हजार र एमालेका दुई सय भन्दा बढी केन्द्रीय कमिटीको पुनर्संरचना गर्नु पर्ने छ। प्रदेश, जिल्ला, पार्टी सदस्यता टुंगो लगाउनु छ। एमाले र माओवादी दुवैको विधान नहुने भएपछि नयाँ विधान कस्तो बनाउने भन्नेबारे एउटै धारणा बनाउन बाँकी नै छ।

एकताका लागि भर्‍याङ चढ्नुपर्छ, उफ्रिनु हुन्न
सरकार गठन पूर्व नै पार्टी एकता गर्ने भन्ने हाम्रो घोषणा वास्तविक थियो। पार्टी एकता गर्नु पर्छ भन्नेमा विचार मिलेको थियो। तर त्यो बेलामा निर्वाचन नजिकिएको थियो।

हामीले त्यसमा ध्यान केन्द्रित गर्नु जरुरी थियो। हाम्रो ध्यान वामपन्थी मिलेर धेरै सिट ल्याउँ र ठूलो पार्टी बनाउँ भन्नेमा केन्द्रित भयो । त्यो एउटा जग पनि थियो एकताका लागि ।

अहिले घोषणा अनुसार काम भएन भन्ने कुरा एउटा कोणबाट आउन सक्छन्  घोषणा अनुसार काम हुनु पर्छ भन्ने अपेक्षा गर्नु स्वाभाविक पनि हो। एकताका लागि प्रक्रियालाई हामीले टेकेर अघि बढ्नै पर्छ ।

एउटा डालोको चामल अर्को डालोमा खनाएको जस्तो होइन पार्टी एकता। विचार र संगठनलाई औपचारिक रुपमा ठेगान लगाएपछि मात्रै एकता हुन्छ।

एकताका लागि मिति तोक्नु हुँदैन
एकताका लागि वुद्धिमत्ता तरिकाले एकपछि अर्को गर्दै प्रक्रिया पार गर्नैपर्छ। तिथिमिति तोकेर १५ दिनभित्र, २० दिनभित्र या एक महिनाभित्र या सरकार गठन पहिले हुन्छ भनेर बोल्दै हिँड्नु उचित हुन्न जस्तो लाग्छ।

सरकार गठनको प्रक्रिया संविधान र कानुन अनुसार हुनेछ । तर पार्टी एकताको प्रक्रिया भने साझा थलोमा उभिएर माओवादी र एमालेले एउटै विचार बनाउनैपर्छ। विशेषगरी दुई पार्टीका अध्यक्षको छलफल यसमा केन्द्रित हुन जरुरी छ।

उहाँहरुमा चाँजोपाँजो मिल्न बाँकी छ। अब माओवादी र एमाले नरहने गरी नयाँ पार्टी बनाउन लागेकाले पनि संगठनको व्यवस्थापन मजवुत बनाउनैपर्छ । त्यसका लागि अझै समय लाग्ने छ। तर छिटो गर्ने कोशिसमा हामी छौं । पार्टी मिल्नु भनेको मन मिल्नु हो। चाल मिल्नु हो। त्यो बाँकी नै छ।

केन्द्रीय सरकार गठनमा विवाद आउने छैन
केन्द्रीय सरकार गठनबारे पनि अनौपचारिक छलफल भइरहेको छ। प्रदेशको जस्तै पनि हुन सक्छ या त्यो भन्दा फरक पनि हुन सक्छ । त्यो केही दिनमा टुंगो लगाउने छौं । मलाई विश्वास छ प्रदेशमा जस्तै विनाविवाद केन्द्रीय सरकार गठन हुने छ।

एकतामा मिल्नु पर्छ भन्ने पहिलो सर्त
एकताका लागि कुनै सर्त अघि सारिएको छैन । मिल्नु पर्छ भन्ने पहिलो सर्त हो । त्यो भएपछि मात्रै अन्य सर्त राख्नु उचित हुन सक्छ। त्यो पनि दुई पार्टी एक भइसकेपछि गर्ने निर्णय हो । अहिले नै त्यसलाई तनावको रुपमा लिनु हुँदैन ।

पार्टी एकता भनेको अव एमाले र माओवादी दुवै नरहने र नयाँ पार्टी गठन हुने भनिएको हो । नयाँ पार्टी हो भनिरहँदा एमालेकै मनस्थितीमा सोच्न पनि मिल्दैन र माओवादी केन्द्रको मनस्थितीबाट मात्रै पनि सोच्नु हुन्न ।

आलोपालो भन्ने शव्दले पार्टी एक भइसकेपछिको अवस्थालाई प्रतिनिधित्व गर्दैन । पहिले पार्टी एक हुनु पूर्व या एकता गर्न नचाहेमा आलोपालो भन्ने शब्द प्रयोग गरिन्छ । त्यसैले दुई पार्टीबीच त्यस्तो सहमति भएको जस्तै मलाई लाग्दैन। पार्टीमा कार्यविभाजन हुने छ र त्यसैगरीे जिम्मेवारीबारे निर्णय हुने छ ।

एकीकृत पार्टीको नेतृत्वमा अनुभव र औचित्य चाहिन्छ
एकीकृत पार्टीको नेतृत्व अभ्यास, अनुभव र औचित्य चाहिन्छ। आवश्यक चिजलाई बोकेर हिड्नु पर्छ अर्थात त्यसैको आधारमा नेतृत्व चयन हुनु पर्छ ।

त्यो पृथकपृथक रहँदाको पूर्व अवस्थाबाट निर्देशित हुनु हुँदैन। नयाँ ठाउँमा उभिएको अवस्थामा नेतृत्वको जिम्मा लिनु पर्छ । माओवादीको ठाउँबाट पनि होइन एमालेको ठाउँबाट पनि होइन ।

खुल्ला दिमागका साथ छलफल गरेको खण्डमा त्यो समाधान हुन्छ र अर्थपूर्ण पनि । त्यसले एकतामा लाभ पनि दिन्छ। त्यसको मतलभ एमाले अध्यक्ष केपी ओलीले एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री दुवै बनेमा एकतामा लाभ हुन सक्छ भन्न खोजेको होइन ।

दुवै पार्टीका अध्यक्षले भन्दै आउनु भएको छ की हामी दुवै प्रधानमन्त्री भइसकेका छौं । हामीलाई कुनै पदको मोह छैन । त्यो धेरै उदारभाव हो। त्यसले एकतामा पनि सहयोग पुग्छ । त्यसैले हाम्रो मिसन एकता गर्ने हो ।

अनुभव, बलियो पक्षलाई पनि टेकेर नेतृत्वको छिनोफानो गर्नु पर्छ। । यहाँ कसैको जित कसैको हार खोजिएको छैन । यहाँ समान जितको आवश्यकता छ र त्यो गर्नु पर्छ । त्यसका लागि दुवै पार्टी नेतृत्व र नेताहरु सौहार्दपूर्ण छलफलमा जुटेमा टुंगो लाग्ने छ।

मैले अध्यक्षको चाहनु राख्नु स्वाभाविक
म पार्टीमा दुई पटक महासचिव भइसकेको छु । तेस्रो पटक महासचिव हुनलाई विधानले पनि दिन्न, मलाई रुची पनि छैन। अव मसँग दुई वटा विकल्प छन् । एउटा यो भन्दा पनि थप जिम्मेवारी लिएर अघि बढ्ने अर्को सामान्य जिम्मेवारी लिएर अघि बढ्ने ।

मेरो पृष्ठभूमि, निष्ठा, निरन्तरता र क्षमताले थप जिम्मेवारी लिनु पर्छ भन्ने ठान्छु तर मुलुकभरका नेता तथा कार्यकर्तासँगको परामर्श पछि मात्रै म टुंगोमा पुग्नु पर्छ । त्यसका लागि समूहगत निर्णयको आवश्यकता पर्छ ।

पार्टी चलाउने त टिमले हो । मेरो खुवीलाई मेरो पार्टीपंक्तिले चिन्न पर्छ । पार्टीको जिम्मेवार नेताले कार्यकर्ताको मनसाय बुझ्नु पर्छ । सबैसँग नसकेपनि मुलुकभर अग्रपंत्तिमा रहेका वा नेतृत्व तहमा रहेका नेताहरुसँग परामर्श गर्ने पर्छ।

त्यो बेला आएपछि म देशभरीका अगुवा नेतासँग परामर्श गरेर मैले नेतृत्व गर्ने की नगर्ने भन्नेमा उहाँहरुबाट राय लिने छु । र उनीहरुको निश्कर्ष अनुसार अघि बढ्छु ।

मैले अध्यक्षको चाहनु राख्नु स्वाभाविक हो । मेलै थप जिम्मेवारी लिनु पर्छ भन्नेमा कुनै दुई मत छैन। तर मैले तलको जिम्मेवारी सम्हालेमा मिसन पुरा हुन्छ भन्ने लाग्यो भने म त्यही जिम्मेवारी सम्हाल्दा खुसी हुने छु । मेरो लागि मिसन मिसन र फेरी पनि मिसन नै हो ।

पार्टी एकता र सरकार गठन फरक
पार्टी एकता हुँदैन भन्ने प्रश्न आउँदैन । यो जसरी पनि हुन्छ । समय लाग्ला त्यो बेग्लै कुरा भयो । कहिलेकाँही ‘कन्टेन्ट’ भन्दा पनि प्रक्रिया ठूलो हुन पुग्छ ।

हतारमा गर्ने कुनै पनि काम सफल हुन्न । भयो भने पनि धेरै समयलाई टिक्दैन । माथि पुग्ने उद्देश्य पुरा गर्न प्रक्रियामै जानु पर्छ । सरकार गठन आफ्नै प्रक्रियामा अघि बढेको छ । त्यसमा एकताले प्रभाव पार्ने भन्ने हुँदैन ।

भावनात्मक रुपमा सरकार गठन र पार्टी एकता एकअर्कासँग गासिएका होलान तर प्रक्रिया र आदर्श परिस्थितीमा कहिलेकाँही मेल नखान सक्छ ।

मधेस केन्द्रीत पार्टी आउन सक्छन सरकारमा
राजनीतिमा सबै संभावना सँधै खुल्ला रहन्छन् । सम्बन्धहरु निरन्तर पुर्नगठित हुन्छन् । सरकारमा सहभागि हुने ढोका सबै पार्टीका लागि खुल्ला छ। खुल्ला छलफलबाट अघि बढेमा त्यहाँ सम्भावना अवश्य छ ।

संविधान धर्मशास्त्र जस्तो जड हुँदैन

संविधान संसोधनका बारेमा पनि जसरी कुरा उठ्नु पर्ने हो त्यो उठेको छैन। संविधान जड दस्तावेज होइन भन्ने मान्यता एमालेले राख्छ। यो गतिशिल र परिर्वतनीय दस्तावेज हो । एक चोटी बनेपछि धर्मशास्त्र जस्तो ठिंग उभिदैन।

संविधान शक्ति सन्तुलनमा आधारित भएर गतिशिल भइरहन्छ । अभ्यास र अनुभवले संविधान संसोधन गर्नु पर्छ । संसोधनका लागि औचित्यले त्यसको पुष्टी गर्छ की गर्दैन भन्ने महत्वर्पूण छ । मधेसकेन्द्रीत दलको मागमा व्यापक छलफल हुनु पर्छ ।

उनीहरुको जायज माग पुरा हुनु पर्छ । त्यसका लागि हामी सँधै खुल्ला छौं । जतिबेला जहाँ पनि वहस गर्न तयार छौं ।

स्वराज भ्रमणको सन्दर्भ
नेपाली समाजमा विश्लेषण गर्ने जुन क्षमता छ त्यो धेरै नै कमजोर छ भन्ने सुषमा स्वराजको भ्रमणका बेला देखियो । सुषमा स्वराज आफैले भन्नु भएको थियो की म नेपालमा कुनै एजेण्डा लिएर आएको होइन ।

म अनौपचारिक रुपमा आएको भन्ने कुरा उहाँले सुरुमै भन्नु भएको थियो । वास्तवमा मोदीले शेरबहादुरजी, प्रचण्ड जी, केपी ओलीजीसँग पनि फोनमा कुरा गर्नु भएको थियो। सफलतापूर्वक चुनाव सम्पन्न गरेकोमा उहाँले सबै शीर्ष नेतालाई बधाई दिनु भएकै थियोे, खुसी व्यक्त गरेकै हुनुहुन्थ्यो।
नेपालका नेताहरुले पनि भन्नुभयो,’मोदीजी तपाई पनि नेपाल आउनुहोस। मोदीजीले केपीओली जीलाई सबैभन्दा ठूलो पार्टीको हैसियतले बधाई दिनु र तपाई प्रधानमन्त्री हुनु भयो भने भारत भ्रमणमा आउनुहोस भन्नु स्वाभाविक नै थियो।

केपी ओली जीले पनि तपाईको जनकपुर, मुक्तिनाथको भ्रमण बाँकी नै छ , त्यहाँ भ्रमणका लागि आउनुहोस भन्नु स्वाभाविक थियो । मोदीले पनि सुषमा जिलाई पठाउछु , तपाईहरु बसेर छलफल गर्नुहोस भन्नु भयो।

सुषमा जी आउदा नेपाल सरकारको अर्थराज्यमन्त्री, परराष्ट सचिवले स्वागत गर्नु भएकै थियो। आइसकेपछि सबैभन्दा ठूलो पार्टीको हैसियतले उहाँसँग भेटघाट गर्‍यौँ। उहाँ आउने बित्तिकै भेटघाट भयो र सँगै खाना खायौं हामीले ।

त्यसमा यति धेरै आपत्ती किन ? भोलीपल्ट प्रचण्डजीले एक्लै ‘ब्रेकफास्ट’सहित सुषमाजीसँग कुरा गर्नु भएकै थियो। पछि शेरबहादुरजीसँग पनि लामै भेटघाट गर्नु भयो । त्यसमा यति धेरै हल्लाखल्ला गर्नु पर्ने जरुरत नै छैन।

भेटघाट हुँदैमा यति धेरै डराउनु पर्छ किन? आफू बलियो नहुने र छैनौं भन्ने अनुभव गर्ने अनि कोही आएर कुरा गर्दैमा या भेटघाट गर्दैमा विगार्छ भन्ने डर व्याप्त छ हाम्रो समाजमा।

हामी स्वतन्त्रपूर्वक राष्ट्रकाबारेमा निर्णय लिन सक्छौं भने अरु आउँदैमा के बिग्रन्छ ? छिमेकी नेतासँग कुरा हुने वित्तिकै सबै खतम हुने भो भनेर शंका गर्ने ? स्वाधिनता र स्वतन्त्रता खतम भयो भन्ने ? विगतमा भारतले नेपालका आन्तरिक विषयमा अनुचित चासो धेरै राखेको बुझेका छन् नेपालीले । त्यसकारण पनि डर धेरै उत्पन्न भएको होला ।

संविधान निर्माणका बेला, नाकाबन्दीका बेला नेपाल र भारतको सम्बन्ध धेरै चिसिएको थियो र त्यस्ता अरु धेरै कारण पनि छन् सम्बन्ध चिसिनुमा। त्यो सबैलाई थाहा पनि छ । एमालेसँग पनि कतिपय विषयमा सम्बन्ध चिसिएको छ।

त्यो त भारतीय नेताले पनि फर्किएर समिक्षा गरेका होलान नी ? अनि हामीले हिजो यस्तो गरेका थियौं भनेर भ्रमण गर्न आउने छिमेकी नेतालाई स्वागत नै नगर्ने ? गिज्जाइरहने ? फेरी नयाँ दिसाबाट सम्बन्धलाई पुर्नगठन गर्न सक्छौं नी ? सकारात्मक सोच त राख्नु पर्छ ।

नेपालमा नयाँ परिस्थिती देखा परेको छ। नयाँ राजनीतिक माहोललाई बुझ्न र आफुलाई ‘अपडेट’ राख्न पनि भारतीय नेता नेपाल आउनु स्वभाविक हो।

माघ २४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेस संसदीय दलको नेतामा देउवा र सिंह भिड्दै, सशांक रिङ आउट

काठमाडौँ- गत असोज १७ गते नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गर्ने सहमतिका साथ वाम गठबन्धन बनाए र चुनावमा…

ओलीलाई मन्त्री छान्न मुस्किल, के समावेशी बन्ला मन्त्रिमण्डल?

काठमाडौँ- गत असोज १७ गते नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गर्ने सहमतिका साथ वाम गठबन्धन बनाए र चुनावमा…

सहकारीमैत्री कानुन बनाउन मुख्यमन्त्रीको जोड

काठमाडौँ- गत असोज १७ गते नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गर्ने सहमतिका साथ वाम गठबन्धन बनाए र चुनावमा…