पार्टी शीर्ष नेतृत्वले संकेत गरे दाबेदारी छाड्छु: शेरधन राई

विराटनगर- पार्टी केन्द्रको शीर्षतहबाट मुख्यमन्त्रीको होडबाट बाहिरिन निर्देशन दिए आफूले उक्त दौडबाट विश्राम लिने प्रदेश नम्बर एक एमालेका मुख्यमन्त्रीका दाबेदार शेरधन राईले बताएका छन्।

विराटनगरस्थित एक कार्यक्रममा मुख्यमन्त्रीका दाबेदार एवं प्रदेश नम्बर एक उपसंयोजक राईले शुक्रबार हुने संसदीय दलको निर्वाचन नहुन्जेल आफ्नो अडान कायम रहेको दोहोर्‍याएका छन्। यद्धपि पार्टी पंक्तिको शीर्षतहबाट विकल्पमा जाऊ भन्ने निर्देशन आए त्यसबारे सोच्न सकिने उनको भनाइ छ।

मुख्यमन्त्री पदबाट बाहिर निस्कनुपर्दा पूर्वसञ्चारमन्त्री शेरधन राई केमा अटाउने भन्ने प्रश्नमा उनले भने, ‘केन्द्रीय नेताहरुबीचमा सहमति बनेर मुख्यमन्त्रीको दौडबाट पछाडि फर्कनु भन्ने आधिकारी सिग्नल आए पछि हट्न तयार रहेको छु। निर्वाचन नहुन्जेलसम्म यसको संभावना टरिसकेको छैन।’

मुख्यमन्त्री पदको विषयमा बढ्दो टिकाटिप्पणीलाई उनले स्पष्ट पार्दै भने, ‘हामीले चाहिरहेका छौँ नेताहरुबीच गम्भीरतापूर्वक छलफल होस्। सबैपक्षको विश्लेषण होस् र सही रुपमा छनोट होस्। त्यसप्रकार विषय टुंगिए आफू जुनसुकै निर्णय तयार रहेको र जुनसुकै सहमति मान्न तयार रहेको छु।’

निर्वाचन नजिकिँदै जाँदा राईको भनाइले निर्वाचनको प्रतिस्पर्धा हुने सम्भावनालाई कम बनाएको छ। यद्धपि पार्टी पंक्तिबाट कुनै सन्देश नआए आफू आफ्नो दौडबाट एक इन्चपनि तलमाथि नहुने उल्लेख गरेका छन्।

उनले सहमति कसरी बन्नेछ भन्ने सन्दर्भमा अर्का प्रतिस्पर्धी एवं प्रदेश संयोजक भीम आचार्यलाई सभामुख पदमा स्थान दिन सकिने बताएका छन्। ‘उहाँ यसका लागि राजी भए, सहमति बन्न सक्छ,’ राईले भने।

जनताको चाहना मागको पूर्ति आफूबाट हुने दाबेदारी गरेका राईले यहाँको संवदेनशीलता, विविधता जनताको मनोविज्ञानको प्रतिनिधित्व आफुले मात्र गर्ने बताएका छन्।

प्रदेश नम्बर एकमा एमालेको कुल ५१ जना प्रदेशसभा सदस्य छन्। यसमा प्रत्यक्षतर्फ ३६ जना र समानुपातिकतर्फबाट १५ जना छन्।

यस क्षेत्रमा एमालेमा देखिँदै आएको गुट हावी हुने देखिएको छ। यसमा माधवकुमार नेपाल पक्ष भारी देखिएको छ।

शुक्रबार हुने संसदीय दलको निर्वाचनमा पार्टी सचिव एवं प्रदेश नम्बर एकका संयोजक भीम आचार्य, मोरङका प्रदेश सभासदस्य जीवन घिमिरे, झापाका हिक्मत कार्की तथा भोजपुरकै राजेन्द्र राई दौडमा छन्। यद्धपि यस दौडमा नेपाल पक्षधर मानिएका घिमिरेले भने दौडबाट बाहिरिने मनस्थिति बनाएका छन्।

माघ २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्