महिला हेडमास्टरले ल्याइन् स्कुलमा चमत्कारी परिवर्तन

धम्बोझी स्कुल। तस्बिरहरु: देशसञ्चार

नेपालगञ्ज – राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिताको ग्यारेन्टी गरिएको छ।

पछिल्ला दिनमा ५० प्रतिशतकै वकालत हुन थालेका छन्। सबै नीतिको माउ नीति राजनीतिमा अहिलेसम्म महिलालाई हेर्ने दृष्टिकोण ‘हेपाहा’ नै रहेको छ। महिलाहरु ‘कमजोर’ हुने चश्माले हेरिएका छन्। महिलालाई आरक्षणको प्रतिशत पुर्‍याउन ‘मनोनित’मा राख्ने गरिएका छन्। भर्खरैका चुनावहरुमा पनि त्यस्तो देखियो।

अवसर र साथ सहयोग पाएमा महिलाले पुरुष भन्दा ‘राम्रो’ गर्न सक्छन् भन्ने जुनसुकै क्षेत्रका माथिल्लो तहले बिर्सिरहेका छन्।नेपालगञ्जको धम्बोझी स्कूलको प्रगतिलाई नियाल्ने हो भने नेतृत्वमा बसेर पुरुषजति महिलाले गर्न सक्दैनन् भन्नेहरुको मुखमा बुझो लाग्न सक्छ। महिलाले नेतृत्व गरेको यो स्कूलको आमूल परिवर्तन भएको छ।

स्कूलको प्रगति हुनुमा प्रधानाध्यापक किरण आचार्यको ठूलो हात छ। बोर्डिङ स्कूललाई टक्कर दिइरहेको यो स्कूलमा शुरुमा आचार्य पुग्दा २ सय ५० जना विद्यार्थी थिए। चौध वर्षदेखि प्रधानाध्यापक रहेकी आचार्यले यो अवधिमा विद्यार्थीको खडेरीलाई तोडेर एक हजार सात सय ७७ जना पुर्‍याएकी छन्। सबैजसो कक्षामा ‘सेक्सन’ चलिरहेका छन्। नयाँ शैक्षिक सत्रमा अरु विद्यालयहरु विद्यार्थी तान्न तामझाम गरिरहदा यो स्कूललाई कुनै गतिविधि गर्नु पर्दैन। बरु उल्टै कक्षा कोठाको अभाव देखाउदै भर्ना हुन आउनेलाई फिर्ता पठाउने स्थिति आउँछ।

नेपालगञ्ज–१, धम्बोझीमा रहेको छ, धम्बोझी उच्च मावि। भारतीय दुताबासकोसमेत सहयोगमा सुविधायुक्त भवन बनेका छन्।

विद्यार्थीको चापले गर्दा बालविकासदेखि १२ कक्षासम्ममै सेक्सनहरुमा पढाइ भइरहेको छ। प्रधानाध्यापक आचार्यका अनुसार, बालविकास, कक्षा १, र्२, ३, ६, ७ र ८ कक्षामा दुई/दुई वटा सेक्सन छन्।

९ कक्षमा तीन, १० कक्षामा दुई, ११ र १२ कक्षामा तीन/तीन सेक्सन चलेका छन्। ४ र ५ कक्षामा सेक्सन छैनन्।

नेपालगञ्ज बजारभित्रका अधिकांश सरकारी स्कूलमा विद्यार्थीको खडेरी परिरहेका बेलामा धम्बोझी स्कूलमा कसरी विद्यार्थीको चाप बढ्यो?

प्रधानाध्यापक आचार्यले मुस्काउँदै भनिन्, ‘यो हामी सबैको लगन, मेहनत र इमान्दारीताको फल हो।’

प्रधानाध्यापक आचार्य साढे ६ बजे स्कूलमा पुग्छिन्। ६.४५ बजे ९, १०, ११ र १२ कक्षाको पढाइ हुन्छ। कुनै शिक्षक एक छिन ढिला गरे भने आचार्य कक्षा कोठामा पुगिहाल्छिन्। केही ढिला गरेर आएका शिक्षक प्रधानाध्यापक कक्षा कोठामा देख्दा अप्ठेरो मान्छन् र भोलिपल्टदेखि समयको ख्याल गर्छन्।

प्रधानाध्यापक आचार्यको लगनशील, इमान्दारिता र मेहनत तथा व्यवस्थापन समितिको राम्रो साथ र शिक्षकहरुको अनुशासनले गर्दा धम्बोझी स्कूल यो स्थितिमा आएको हो। ‘मैले शिक्षकलाई एक पिरियड पनि ठग्न दिन्न,’ आचार्यले भनिन्।

सरकारी विद्यालयका शिक्षकहरु तलव सरकारको खाने र यो वा त्यो राजनीतिक दलको झोला बोकेर दिनभरी शिक्षा कार्यालयको प्रांगणमा गफ या नाराबाजीमा जाने हुनाले पढाइ बिग्रेका छन्। यो स्कूलमा आचार्यले इमान्दारिता देखाउदा अरु शिक्षकले पनि अनुशासन कायम गरेका छन्। ‘सरकारी तलव खाएर अर्काको सन्तानको भविष्य बर्बाद गर्न पाइँदैन, शिक्षकहरुले पढाउनैपर्छ। ठग्न पाइदैन,’ प्रधानाध्यापक आचार्यले भनिन्। आचार्यको खाना स्कूलमै आउँछ।

तीन कक्षासम्म ‘फोकस’
स्कूलले प्रारम्भिक बाल विकासदेखि कक्षा तीनसम्म विशेष फोकस गर्ने गरेको छ। यो चार वर्ष बच्चाका लागि अत्यन्त ‘किमती’ समय हुने आचार्यको बुझाइ छ।

यो अवधिमा धम्बोझी स्कूलले नेपाली र सामान्य अंग्रेजी पढ्न र गणितका जोड–घटाउ, गुणन–भागा जान्न सक्ने बनाउँछ। कक्षा कोठामा गएर बुझ्दा पनि त्यस्तो देखियो।

‘हामीले छलफल विधिबाट पढाउँछौं, विद्यार्थीले सजिलै बुझ्छन्,’ आचार्यले स्कूलको अर्को विशेषता भनिन्, ‘कक्षामै अभ्यास गराउँछौं। आफैँ पढ्ने वातावरण सिर्जना गर्छौ।’

यो स्कूलको अर्को आकर्षण कम्प्युटर पढाइ हुन्छ भने तेज र कमजोर विद्यार्थीलाई छुट्टाछुट्टै ठाउँमा राखेर विशेषरुपमा पठनपाठन गराइन्छ। स्कूलमा ६५ वटा कम्प्यूटर छन्।

धम्बोझी स्कुलकी प्रधानाध्यापिका।

कतिपय सरकारी स्कूलका ५/६ पढ्ने विद्यार्थीले नामसम्म लेख्न नजान्ने फेला परिरहेका बेलामा धम्बोझी स्कूलका दुई कक्षाका विद्यार्थीले सररर नेपाली र अंग्रेजी पढ्ने तथा गणितका जोड–घटाउ गरेको पाइयो। ‘बेसलाइन’ बलियो भयो भने माथिल्लो तहमा राम्रो हुन्छ भन्ने भावनाका साथ धम्बोझी स्कूलले विद्यार्थीलाई पढाएको छ।

स्कूलमा निमावि र माविमा चार/चार र प्राविमा ७ जना दरबन्दीका शिक्षक छन्। उच्च माविमा जना, प्राविधिक ओभरसियर ९ जना र निजी स्रोत र पार्टटाइमका १९ जना शिक्षक छन्। बेस राम्रो हुन्छ भन्दै सकीनसकी अभिभावकले आफ्ना सन्तानलाई तल्लो तह बोर्डिङ र माथिल्लो तह पुगेपछि सरकारी स्कूलमा पढाएको पाइन्छ। धम्बोझी स्कूलमा भने घरआँगनकै स्कूल छोडेर १, २, ३ कक्षा पढ्न नै टाढा टाढाबाट आइरहेका छन्।

कतिपय बाहिर जिल्लाका बच्चाहरु डेरा गरी नेपालगञ्जमा बसेर धम्बोझी स्कूलमा पढेका छन्। ‘साना तहका विद्यार्थीहरु घरआँगन छेउकै स्कूलमा पढ्दा राम्रो हुन्थ्यो, टाढा टाढाबाट हामीकहाँ आउँछन्,’ आचार्यले भनिन्, ‘हाम्रो स्कूलमा बोर्डिङ भन्दा राम्रो छ भन्ने अभिभावकहरुले बुझेका छन्।’

१९ वर्ष सरस्वती स्कूल, नेपालगञ्जमा पढाएर धम्बोझी स्कूलमा पुगेकी आचार्यले व्यवस्थापन समिति राम्रो हुँदा काम गर्न सजिलो भएको छ। त्यसो त, केहीले आचार्यविरुद्ध आफैँले नपढाउने र आर्थिक हिनामिना गरेको आरोप लगाएर अख्तियारसम्म नपुगेका होइनन्। त्यसले कुनै असर पारेको छैन।

स्कूलको आयस्रोत बढ्दै जादा यस्ता आरोपहरु बाहिर आएका छन्। गरिवका छोराछोरीले ओभरसियर पढ्न पाउन् भनेर छात्रबृत्तिको व्यवस्था गरिएको छ। यी सब गतिविधिले गर्दा धम्बोझी स्कूल विद्यार्थीको खडेरीबाट हराभरामा परिणत भएको छ।

माघ २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्