‘दरबारमार्ग होटल बलात्कार घटनामा प्रहरीको कमजोरी’

काठमाडौं – दरबारमार्गस्थित एक होटलमा माघ ७ गते भएको सामूहिक बलात्कारको घटनाका सम्बन्धमा प्रहरीद्वारा गठित छानबिन समितिले घटनामा प्रहरीको समेत कमजोरी देखिएको प्रतिवेदन तयार पारेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक रामदत्त जोशीको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले परिसरमा बिहीबार बुझाएको प्रतिवेदनमा महानगरीय प्रहरी वृत्तका अधिकारीहरु पीडित पक्षलाई आर्थिक प्रलोभन देखाई मिलापत्र गराएर अपराध लुकाउने र छिपाउने काममा संलग्नता देखिएको जनाएको छ ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक तिलक भारतीलाई कार्यालय प्रमुखबाट हटाइएको तथा प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र प्रहरी नायब निरीक्षक चन्द्रबहादुर भण्डारीलाई निलम्बन गरी तीनैजनालाई ‘उपर हदैया’ सम्मको कडाभन्दा कडा कारवाहीको सिफारिससमेत भएको र मुद्दा अनुसन्धानका क्रममा निजहरुले फौजदारी दायित्व बहन गर्नुपर्ने देखिएमा प्रचलित कानुनबमोजिम कारवाहीसमेत अगाडि बढाइने परिसरले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त घटनामा परिसरबाटै पीडितको जाहेरी दरखास्त लिई घटनामा संलग्न भनी किटान भएका अभियुक्त शैलेश कार्की, विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेलको खोजी जारी रहेको परिसरले जनाएको छ । रासस

सम्बन्धित समाचार 

दरबारमार्गको सामूहिक बलात्कार मिलापत्रमा डिएसपी, इन्स्पेक्टर र सईलाई हदैसम्मको कारबाही!

बालिका बलात्कारको यो कहालीलाग्दो श्रृंखला

माघ २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्