श्रीमती कुट्ने पूर्व कर्मचारीको प्रशंसामा ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व श्रीमातीमाथि घरेलु हिंसा गरेको आरोप लागेका आफ्ना पूर्व सहयोगीको प्रशंसा गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउस स्टाफ रेक्रेटरी रोब पोर्टरमाथि उनकी पूर्व श्रीमतीलाई घरेलु हिंसा गरेको आरोप लागेको थियो ।

त्यसपछि उनले गएको हप्ता आफ्नो पदबाट राजीनामा दिएका थिए । पोर्टरका बारेमा पहिलो पटक शुक्रबार ओभल अफिसमा बोल्दै ट्रम्पले उनको प्रशंसा गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले पोर्टरलाई आरोपितको रुपमा प्रस्तुत नै गरेनन् । उनले भने ‘हामी सबै पोर्टरको राम्रोका लागि कामना गर्छौं । उनले निकै कडा मेहनत गरे ।’

ह्वाइट हाउसका चिफ अफ स्टाफ जान केलीले पोर्टरलाई आफूमाथि लागेको आरोपको राम्रोसम्म व्यवस्थापन गर्नका लागि राजीनामा दिन दबाब दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

४० वर्षका पोर्टरकी एक पूर्व श्रीमतीले उनमाथि घरेलु हिंसाको आरोप लगाएकी छन् भने अर्की पूर्व श्रीमतीले उनी विरुद्ध उजुरी नै दिएकी छन् । आरोपका बाबजुद पनि पोर्टरलाई गेटकिपरको रुपमा काम गर्नका लागि छुट दिइएको थियो ।

ट्रम्पले ओभल अफिसमा भने ‘हामीले यस बारेमा बल्ल थाहा पायौँ र म अचम्मित भएँ । हामी उनका लागि राम्रो होस् भन्ने कामना गर्छौं । यो समय निकै कठिन छ उनका लागि ।’

ह्वाइट हाउसमा रहँदा निकै राम्रो काम गरेको भन्दै ट्रम्पले पोर्टरको प्रशंसा गरे । आरोपका बारेमा थाहा पाएपछि आफू निकै दुःखी भएको र पोर्टर पनि दुःखी रहेको ट्रम्पको भनाई छ । पोर्टर निर्दोष रहेको ट्रम्पको दाबी छ ।

ट्रम्पले पोर्टरलाई आरोपितको रुपमा प्रस्तुत नगरे पनि उप राष्ट्रपति माइक पेन्सीले भने पोर्टरको आलोचना गरे । अमेरिकामा घरेलु हिंसाका लागि कुनै ठाउँ नरहेको र त्यसमाथि सहनशीलता पनि नअपनाइने उनको भनाई छ ।

माघ २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्