रिस्तों का इल्जाम ना दो…

स्थानः नारायणहिटी दरबार संग्रहालय, उत्तरढोका। अझ किटेरै भन्दा नेपाल इनभेस्टमेन्ट बैंकसँग जोडिएको फुटपाथ।

पात्रः तीनवटा कुकुर, (एउटा कालो, अर्को कालो र सेतो अनि तेस्रो चाहिँ खैरो), एउटा दुब्लो सानो कालो बिरालो, म तथा केही रमिते र बटुवा।

घटनाः बिरोलोमाथि कुकुरको आक्रमण।

बाटोको छेउ भएर हिँड्ने मैतिर फर्केर हाँसेजस्तो लाग्यो। ‘के गरेको होला वा साइको मान्छे रैछ’ भनेजस्तो लाग्यो उनीहरुले हेर्दा।

‘कुकुर–बिरालोको झगडा’ भन्ने सुनेको थिएँ, केही देखेको पनि। तर धेरैले अशुभ भन्ने त्यो सानो कालो बिरालोमाथि खाइलाग्दा देखिने तीन कुकुर जाइलागेको देख्दा, देखेको नदेखे गरेर हिँड्न सकिएन।

रोकिएँ, ढुंगा खोजेँ, पाइन। माटोको डल्लो भेटियो, कुकुरलाई ताकेरै हानेको लागेन तर भागे। अब त गए हुन्छ होला भनेर हिँडेँ। फर्केर हेर्दा कुकुर आइसके, बिरालोलाई घेरिसके।

फर्किएँ फेरि। बाटो पारि कुकुर, वारि म। छेउमा चोट लागेको बिरालो। कुरेर बसेँ। मलाई देखेर बाटोमा हिँड्ने हाँसे। केहीले वास्ता गरे, केहीले गरेनन्।

केहीबेर बसेर बिरालोलाई पर्खाल पारि राखिदिएपछि आफ्नो बाटो लागेँ।

भोलिपल्ट बिहान कुकुरले झम्टिए। टोक्न त भ्याएनन् तर झोला भने चिथोरे। लाग्यो, ‘हिजो बिरालोसँगको झगडामा उनीहरुलाई साथ नदिएको थाहा पाएछन्।’

यी र यस्तै घटना दिनहुँ धेरैसँग हुन्छ। तर मलाई बाँधेको, असजिलो बनाएको अनि अप्ठ्यारोमा पारेको नबुझिने ‘सम्बन्ध’ ले हो।

आफ्नो जराको खोजी। उभिएको जमिनको आधार। अनि एक स्वासमा अडेको जीवन डोरी। सबैको अस्तित्व यसैमा टिकेको छ र मेरो पनि।

टंक ढकाल

बिउ रोपिँदा, भित्री संसार र जन्मेपछि पनि हुर्किँदै जाँदा मैले मेरा लागि सपना देखिनँ।

हुन सक्छ मेरो कित्तामा आउने र आफ्ना लागि सुरुवाती क्षणमा सपना नदेख्ने धेरै छन्।

तर हुर्किँदै जाँदा आफ्नाले आफ्ना लागि देखेको सपना आफ्नै बन्छ। त्यसमा बाँच्न थालिने रैछ।

सपनाको भारी आफैले बोक्ने रहर नजानेरै आउने रैछ। यो सबै सपनाको खेलको जरो जोडिएको हुने ‘सम्बन्ध’ मा।

केही आशा केही निराशा। कतै गुनासो अनि कतै हाँसो। बहने बतास अनि बग्दै जाने पानी। उदाउने घाम अनि फेरिँदै जाने बिहानी।

खट्पट, माया, स्नेह, दया, आफ्नोपन र पराई पनि सबैसँग जोडिएको हुने, एउटै चिज–सम्बन्ध।

सम्बन्ध, जायज अनि नाजायज
योग, संयोग र संयुक्त हुने काम, सम्बन्धको परिभाषा। तर दाँतमा ढुंगो लागे जस्तै हुन्छ, यसको कित्ता छुट्याउँदा, जायज र नाजायज भनी।

जायजः चित्तबुझ्दो, न्यायसंगत, उचित र मनासिब।

नाजायज: अनुचित, अवैध अनि गैरकानूनी।

परिभाषाकै कुरा गर्ने हो भने योग, संयोग वा संयुक्त हुने काम चित्त नबुझी वा उचित नठानी वा मनासिब नमानी हुँदैन। यदि चित्त बुझेको हो भने सम्बन्ध कसरी नाजायज?

धेरै सुनिन्छ नाजायज सम्बन्ध, नाजायज सम्बन्धबाट नजन्मिएको अवैध शिशु। सम्बन्ध पनि भन्ने अनि नाजायज पनि। कि त सम्बन्ध नै हुँदैन। कि त नाजायज हुँदैन। यदि सम्बन्ध हुन्छ भने नाजायज हुँदैन, त्यो जायज नै हो।

सम्बन्धलाई हामी आफैले नाजायजको कित्ता भिराइदिँदा धेरै जीवनले बाँच्ने सपना देख्न पाएकै छैनन्।

हामी कति जायज?
सम्बन्ध नाजायज हुने हो भने म सहित हामी मध्ये अधिकांश नाजायज छौँ जस्तो लाग्छ (यो मेरो व्यक्तिगत पक्ष हो)।

किनकि मलाई लाग्दैन मेरो जीवनको बिउ रोपिँदा मेरा सर्जकले मलाई सोचेका थिए। उनीहरुले त आफ्नो योगलाई बुझे, संयोगलाई चिने र संयुक्त भए। त्यसको प्रतिफल, मेरो अस्तित्वले जरा गाड्यो। मेरो जस्तै होला अधिकांशको कथा पनि।

अवैध भनिने शिशुको अस्तित्वको जरा र मेरो त उस्तै छ। नाजायज भनिने सम्बन्ध र जायज भनिने मेरा सर्जकको संयोग त उस्तै छ।
अनि कसरी म वैध अर्को अवैध?

सुरुमा उल्लेख गरेको कुकुर–बिरालोको झगडा’ संयोग हो। तर त्यसमा असम्बन्ध (हामीले नाजायज भन्ने गरेका) को राम्रो उदाहरण छ।

सानो कालो बिरालो र उसलाई टोक्न आउने तीनवटा खाइलाग्दा कुकुर बिचमा न योग थियो, न संयोग, न त संयुक्त हुने काम नै। बरु थियो वियोगको प्रयास, छुट्टिने वा भाग्ने चाहना, यो पो हुनुपर्ने हो असम्बन्ध वा नाजायज।

हामी धेरै नाजायज कुरालाई पचाउँछौँ। तर सम्बन्ध जो कहिल्यै नाजायज हुँदैन, त्यसलाई असम्बन्ध बनाउने प्रयासमा छौँ।

यो खेलमा मलाई जहिले सम्बन्धकै दोष जस्तो लाग्छ। सम्बन्ध नभएर माया मात्रै भएको भए यो नाजायज नै हुने थिएन। गुल्जारले ‘खामोशी’ चलचित्रका लागि लेखेको गीत जस्तैः

‘प्यारको प्यार हि रहैने दो, रिस्तोंका इल्जाम ना दो… ।’

माघ २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्