आक्रोशित अष्टलक्ष्मीद्वारा केपी ओलीमाथि प्रश्नैप्रश्नको प्रहार

म एमाले संसदीय दलको नेतामा हार्नुले नेतृत्वमा चरम गुटको पराकाष्ठा छताछुल्ल भएको छ, जसले मलाई नराम्ररी आक्रमण गर्‍यो।

मलाई महिला मात्रै भएर हराइएको होइन, म आफ्नो काम र कर्तव्यमा सक्षम छु, ममाथि चरम गुटको प्रहार भएको हो।

मलाई मुख्यमन्त्री बनाउँछु भन्ने अनि एकपछि अर्को गर्दै उम्मेदवार अघि सार्ने र मेरो सम्पूर्ण योगदानको मूल्याङ्कन नगर्ने? त्यो सबै शून्यमा झार्ने कोसिस गर्ने ?

तर योगदान कहिल्यै पनि शून्यमा भर्दैन, इतिहास जहिले जिउँदो रहन्छ। मैले सबै हिसाबमा कुनै पनि कुशलतापूर्वक जिम्मेवारी पूरा गरेको छु।

म प्रदेश संयोजक भइरहँदा स्थानीय तहको निर्वाचन सबैभन्दा धेरै मेयर, उपमेयरदेखि ५२ प्रतिशत जितायौं। प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा निर्वाचनमा पूरै बहुमत आयो।

यदि म नखटेको भए वा मेरो क्षमता नपुगेको भए वा मेरो कुशलता नपुगेको भए पार्टी यति माथि पुग्ने थिएन।

देशभर धेरै मत हासिल गरेपछि त्यसको श्रेय अध्यक्षलाई जान्न? म सक्षम छु भनेर जस पनि दिए जस्तो गर्ने अनि भित्रभित्र मलाई सिध्याउने धन्दामा लाग्ने?

यतिबेला ममाथि मात्र होइन, म जस्तै त्याग गरेका, दुःख झेलेका, इमान्दारीसाथ जिम्मेवारी निर्वाह गरेका महिला या पुरुष दुवैमाथिको प्रहार भएको छ।

मैले गुट गर्न जानिन । मैले सबैलाई आफ्नो ठानेँ। यो पार्टीलाई विचार र विधिबाट एकताबद्धरुपमा अघि बढाउनुपर्छ र संस्थागत प्रणालीबाट चलाउनुपर्छ भन्दै सबै साथीलाई एउटै आँखाबाट हेरेँ।

तर, मलाई महत्वपूर्ण समयमा गुटको आँखाबाट हेरियो। र, नजानिँदो किसिमले पछारियो । मलाई माधव नेपाल पक्ष कि हुन भन्दै पन्छ्याइयो। केपी ओली कमरेड सबैको आदरणीय हुनुहुन्छ।

महाधिवेशनमा प्यानल भयो होला, त्यसमा हामीले भोट हाल्यौं होला तर जितिसकेपछि केपी ओली पार्टीको अध्यक्ष हुनु भयो।

पार्टीको अध्यक्ष भइसकेपछि उहाँले सबैलाई समानरुपमा हेर्नु पर्छ। उहाँले कुनै पनि हालतमा गुट गर्न मिल्दैन।

म माधव नेपालको मान्छे भनेर ममाथि यस्तो प्रहार गर्न मिल्छ? मेरो योगदानको कदर गर्ने कि नगर्ने ? पार्टीको विकासमा मेरो भूमिकाको मूल्याङ्कन नगर्ने ?

म नेता हुँ, पार्टीको उपाध्यक्ष पनि हुँ। त्यसमा पनि यो पितृसत्ता भएको ठाउँमा महिलालाई सहज छैन।

महिलाले गरेको दुःख कष्ट र त्याग सानो हुन्छ? त्यसमाथि पनि राजनीतिमा लाग्दाको त्याग, आरोप र बलिदानको मूल्याङ्कन नगर्ने ? म यहाँसम्म आइपुग्दा मेरो मूल्याङ्कन गर्न नजान्नेले आगामी दिनमा अरुको मुल्याङ्कन गर्लान्?

ममात्रै छैन यो क्षेत्रमा, मेरो पछाडि अनगिन्ती महिला हुनुहुन्छ। उहाँहरु आशावादी हुनुहुन्थ्यो मेरो कामको मूल्याङ्कन होला भन्नेमा।

म त कम्तीमा सहरमा पढेँ वा हुर्किएँ। कति महिलाले दुर्गममा दुःखजिलो गरेर आफ्नो राजनीतिलाई अघि बढाउनु भएको छ, निष्ठापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको छ । उहाँहरुलाई के जवाफ दिने मैले ?

माधव नेपालको पक्ष भनेर मैले हेरेको भए यो प्रदेशमा एकलौटी उम्मेदवार छान्थेँ र दिन्थेँ, सबैलाई निषेध गरेर र फलाना फलानाका गुटका हुन् भनेर। त्यो गर्न मेरो नैतिकताले दिएन।

म प्रदेश संयोजक हुँ, र एउटा कुशल नेता पनि। तर आज गुटबन्दी नगरेकै कारण थोरै संख्या नपुगेर पराजित भएँ, माथिको निर्देशनमा।

ठूलो पार्टीको उपाध्यक्ष पद सम्मानीय पद होइन र? अध्यक्षलाई जसरी आदर गरिन्छ त्यो सम्मान मलाई चाहिन्न? त्यो परिपाटी यो पार्टीमा लागू किन भएन?

म महिला मात्र भएर आफूलाई हेरेको छैन। म महिला आफ्नो ठाउँमा हो नै।

महिला भएर पनि घर छोडेँ, परिवार छोडेँ, बालबच्चा छोडेँ, सुख सुविधा छोडेँ, जेल गएँ, यातनामा परेँ, व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएँ। कहिल्यै आराम गरिनँ, संगठन र पार्टीले दिएको तमाम जिम्मेवारी पूरा गरिरहेँ निष्ठापूर्वक, जो कमैले गर्न सक्लान्।

अष्टलक्ष्मीमाथिको मात्र अपमान होइन यो। यो पूरै महिला आन्दोनमाथि प्रहार हो। अब एमालेले समावेशी मुद्दा उठायो भने खिसी काट्दैनन् जनताले? बोल्ने एउटा गर्ने अर्को?

मलाई सिध्याउने खेल भए पनि म भने आत्तिएको छैन। यस्ता धेरै कुरामा ठक्कर खाँदै यहाँसम्म आइपुगेको छु। अनुभवले मलाई परिपक्व बनाएको छ। यस्तो धोका मलाई हिजो पनि भएको हो, आज पनि भयो र भोलि पनि हुने छ।

तर म थाक्दिनँ । जीवन रहेसम्म पछि पर्ने छैन। यस्तो नियतिमाथि मेरो पनि प्रहार रहिरहन्छ। मैले यो मुद्दालाई अब झनै सशक्तरुपमा उठाउँछु। आवाज बलियो पार्न सहकर्मीलाई उठाउँछु।

महिलाले राजनीतिमा अझै सक्रियतापूर्वक लाग्न सबैलाई आग्रह पनि गर्छु। त्यसका लागि मैले कहाँबाट के सहयोग गर्नु पर्छ तयार छु।

यो बेला पार्टीले गुट वा उपगुट हेर्ने हो? जनताले के लागि पहिलो पार्टी बनाए? दुई कम्युनिष्ट पार्टी एउटै हुन्, अघि बढून्, विकास गर्न, समृद्धि ल्याउन र सुशासन कायम गर्न भनेर एमालेलाई भोट दिने अनि मजस्ता संघर्षशील नेतालाई अपमान गर्ने? कति सानो मन हो यो? यत्रो देशको चिन्ता छ भन्ने अनि इमानमा बाँचेको महिला र नेतालाई पछि धकेल्ने?

अब महिलाले चिन्ता गर्ने बेला रहेन। आआफ्नो ठाउँबाट लड्ने हो। राष्ट्रपति, सभामुख, प्रधानन्याधीश महिला बनाएर अन्तर्राष्ट्रियरुपमा सम्मान लिने अनि प्रदेशमा एउटा मुख्यमन्त्री बनाउन विश्वास नगर्ने? प्रदेश तीनलाई महिलाले नेतृत्व गरेर नमुना प्रदेश बनाउने योजना तुहाउने?

यहाँ महिला नै प्रदेश प्रमुख हुनुहुन्थ्यो। हामी यो प्रदेशलाई नमूनजा बनाउन चाहन्थ्यौं।

मलाई पराजित गरेर यो पार्टी माथि होइन तल झरेको छ। तर मलाई व्यक्तिगतरुपमा अझ बलियो बनाएको छ र शिक्षा पनि पर्याप्त मिलेको छ। म हार्ने छैन र कमजोर हुने मेरो आदत छैन।

(दीपा दाहालसँग शाक्यले गरेको कुराकानीमा अाधारित।)

माघ २७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू

सहकारीमैत्री कानुन बनाउन मुख्यमन्त्रीको जोड

म एमाले संसदीय दलको नेतामा हार्नुले नेतृत्वमा चरम गुटको पराकाष्ठा छताछुल्ल भएको छ, जसले मलाई नराम्ररी आक्रमण गर्‍यो। मलाई महिला…

पाँच वर्ष काँग्रेस सत्ता बाहिर-प्रवक्ता शर्मा

म एमाले संसदीय दलको नेतामा हार्नुले नेतृत्वमा चरम गुटको पराकाष्ठा छताछुल्ल भएको छ, जसले मलाई नराम्ररी आक्रमण गर्‍यो। मलाई महिला…

कांग्रेस संसदीय दलको नेतामा देउवा र सिंह भिड्दै, सशांक रिङ आउट

म एमाले संसदीय दलको नेतामा हार्नुले नेतृत्वमा चरम गुटको पराकाष्ठा छताछुल्ल भएको छ, जसले मलाई नराम्ररी आक्रमण गर्‍यो। मलाई महिला…