महत्वपूर्ण खेलमा आर्सनल हार्‍यो, टोटनह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको महत्वपूर्ण खेलमा आर्सनल पराजित भएको छ भने टोटनह्यामले जितेको छ ।

घरेलु मैदानमा भएको खेलमा माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले आर्सेन वेङ्गरको टिम आर्सनलमाथि १–० को महत्वपूर्ण जित दर्ता गरेको हो ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा टोटनह्यामलाई जिताउन ह्यारी केनले निर्णायक गोल गरे । केनले ४९ औँ मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त बन्यो ।

केन घरेलु मैदानमा भएको प्रिमियर लिग खेलमा आर्सनल विरुद्ध लगातार चार खेलमा गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि सन् सन् १९९७ र २००१ मा जिम्मी फ्लोयडले आर्सनल विरुद्ध घरेलु मैदानमा भएका लगातार चार खेलमा गोल गरेका थिए ।

क्लबलाई महत्वपूर्ण जित दिलाउन गोल गरेका केन टोटनह्यामको वर्तमान र भविष्य रहेको प्रशिक्षक पोकेटिनोले बताएका छन् । जितपछि टोटनह्याम तेस्रो स्थानमा उक्लिएको छ । उसको २७ खेलबाट ५२ अंक भएको छ । चौथो स्थानमा झरेको लिभरपुलको ५१ अंक छ ।

लिग अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा एभर्टनले क्रिष्टल प्यालेसलाई ३–१, स्वान्सीले बर्नलीलाई १–० तथा वेष्ट ह्यामले वाट्फोर्डलाई २–० ले हरायो । स्टोक सिटी र ब्राइटनले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

माघ २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्