नेइमारको गोल, पिएसजीको जित

फ्रेन्च लिग वान फुटबलको लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले १२ अंकको अग्रता लिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा टूलुजलाई १–० ले हराउँदै पिएसजीले दोस्रो स्थानको मोनाकोसँगको अग्रता १२ अंक बनाएको हो ।

अवे मैदानमा भएको खेलमा पिएसजीको जितमा स्टार स्ट्राइकर नेइमारले निर्णायक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ६८ औँ मिनेटमा नेइमारले गरेको गोल नै पिएसजीको जितमा निर्णायक बन्यो ।

नेइमारले पिएसजीबाट लिग वानमा अहिलेसम्म १९ गोल गरेका छन् भने सबै प्रतियोगितामा पिएसजीबाट २७ गोल गरेका छन् । उनी लिग वानमा एडिसन काभानी भन्दा एक गोलले पछि परेका छन् । काभानी टूलुजसँगको खेलमा चोटका कारण खेलेका थिएनन् ।

नेइमारले गोल गरेको दुई मिनेटपछि पनि गोल गर्ने राम्रो प्रयास गरेका थिए । तर बल क्रसबारमा लागेर फर्किएको थियो । जितपछि शीर्षस्थानको पिएसजीको २५ खेलबाट ६५ अंक भएको छ ।

लिग अन्तर्गत राति नै भएको खेलमा एन्जर्सलाई ४–० ले हराएको मोनाको दोस्रो स्थानमा उक्लिएको छ । उसको ५३ अंक भएको छ । ५२ अंक रहेको मार्सेइली तेस्रो स्थानमा झरेको छ । पिएसजीले आउँदो बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ ।

माघ २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्