सिरियामा इजरायलको ३५ वर्ष यताकै ठूलो आक्रमण

इजरायलले पछिल्लो ३५ वर्षमा सिरियामाथि सबैभन्दा ठूलो हवाई आक्रमण गरेको जनाएको छ । इजरायली सेनाका प्रवक्ता जोनथन कोनरिकसले सिरियाको राजधानी दमासकस नजिक रहेका १२ वटा सैन्य अखडामा आक्रमण गरेको बताएको बिबिसीले उल्लेख गरेको छ ।

इजरायली सेनाले गरेको यो आक्रमणप्रति अमेरिका र रुसले भने चिन्ता व्यक्त गरेका छन् । सन् १९८२ मा लेबनान युद्धपछि सिरियामाथि भएको यो ठूलो आक्रमण रहेको इजरायली वायु सेनाका वरिष्ठ जनरल तोमर बारले बताएका छन् ।

सिरियामा रहेका इरानी सेनाका अखडालाई लक्षित गरी आक्रमण गरिएको इजरायली सेनाले दाबी गरेको छ । यसअघि शनिबार सिरियाली सेनाले एउटा इजरायली लडाकु विमानलाई उडिरहेका बेला आक्रमण गरी खसालेको थियो ।

इरानले ड्रोन प्रक्षेपण गर्ने तयारी गरेको थाहा पाएर त्यसलाई रोक्ने प्रयासमा रहेको आफ्नो लडाकु विमानमाथि मिसाइल आक्रमण भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका थिए ।

त्यसको जवाफमा इजरायली सेनाले सिरियामाथि हवाई आक्रमण सुरु गरेको हो । अहिले सिरिया तथा इजरायलको सीमा क्षेत्रमा हिंसा भड्किएको छ ।

इजरायली सेनाका प्रवक्ता कोनरिकसले अहिलेसम्म १२ सैन्य अखडामा आक्रमण गरिएको र त्यसमध्ये ८ वटा सिरियाको हवाई रक्षा प्रणालीसँग जोडिएको दाबी गरेका छन् ।

इजरायली लडाकु विमानलाई लक्षित गरी मिसाइल प्रहार भएको क्षेत्रमै आक्रमण गरिएको उनले बताएका छन् । यस्तै सिरिया भित्र रहेका इरानी सेनाका अरु चार अखडामा पनि आक्रमण गरिएको इजरायलको भनाई छ ।

तस्बिर : रोयटर्स, इपिए र गेट्टी इमेज

माघ २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्